लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदै


लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदै

नेपालगन्ज ११ पुष : नेपालगञ्जमा लु र शीतलहरबाट जोगिने उपायहरु खोजिँदैछ । प्रत्येक वडा वडामा पुगेर सरोकारवालाहरुसंग छलफल गर्दै प्रतिकार्य योजनाहरु बनाइँदैछ ।

यसैक्रममा आज वडा नम्बर ७ को कार्यालयमा गर्मी र चिसो छल्न अपनाउन सकिने उपायहरुका विषयमा चर्चा गरिएको छ । तत्कालका लागि आफूसंग भएका स्रोत साधनको उपयोग गरेर गर्मी र चिसोबाट बच्न सकिने उपायहरुका विषयमा छलफल गरिएको हो ।

दीर्घकालीनरुपमा ठोस योजनाका साथ काम गरे मौसमी प्रतिकूलताबाट बच्न सकिने विषयमा पनि छलफल गरिएको छ ।

गर्मीमा लु बाट जोगिन जनचेतना अभिबृद्धि, बृक्षारोपण, हरियाली प्रबद्र्धन, विद्यालय र ठाउँठाउँमा प्रशस्त चिसो पानीको व्यवस्थापन, ठाउँ ठाउँमा प्रतिक्षालय निर्माण गरेर लुसंग जुध्न सकिने सुझाब सहभागीहरुले दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै शीतलहरबाट जोगिन जनचेतना अभिबृद्ध, चोक चोकमा आगो ताप्ने व्यवस्था, न्यानो कपडा वितरण, सार्वजनिक स्थलमा तातोपानीको व्यवस्था लगायतका कामहरु गर्न सकिने विषयमा छलफल गरिएको छ ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठले आगामी योजनाहरुमा यी बिषयहरुलाई समेटेर लु र शीतलहर विरुद्ध लड्ने रणनीति अबलम्बन गरेर अघि बढ्न बताए । उनले मौसमी प्रतिकूलता विरुद्धका प्रतिकार्यमा बचनबद्ध र प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा वडा सदस्यहरु, सरोकारवाला व्यक्तिहरु, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकी, सदरलाइन शाखाका सभापति ओमप्रकाश आजाद, रेडक्रसकी संगठन विकास अधिकृत निरञ्जना मल्ल, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, रेडक्रसकर्मीहरु प्रल्हाद विश्वकर्मा, सुवास निरौला लगायत उपस्थित थिए ।

फिनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगञ्जका २३ वटै वडामा लु परियोजना सञ्चालन गरेको छ । मुलुकमै पहिलोपटक सबैभन्दा बढी गर्मी प्रभावित सहर नेपालगञ्जमा २०२१ देखि यो कार्यक्रम शुरु गरिएको हो । ६ वा त्यो भन्दा बढी दिनसम्म लगातर ३८ डिग्री सेल्सियस भन्दा माथि तापक्रम रहिरहेमा लु चलेको मानिन्छ ।