पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित


पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित

नेपालगन्ज २४ पुष : पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप पाइएकोछ । २०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा बाँकेका बालबालिकामा दादुरा प्रकोप पाइएको हो ।

नेपालगन्जमा पुष १२ गतेदेखि दादुराको संक्रमण देखिएको हो । त्यसलगत्तै परीक्षणका लागि काठमाण्डौं पठाइएको स्याम्पलको पुष १९ गते आएको रिर्पोटमा थप दादुराका विरामी भेटिएका थिए । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर– ११ मा दादुराका विरामी बढी संक्रमित भेटिएका हुन् ।

नेपालगन्जमा ठूलो संख्यामा दादुराका विरामी भेटिएको ६ दिनपछि काठमाण्डौंबाट स्वास्थ्य सेवा विभागको टोली नेपालगन्ज आएकै दिन बाँकेको खजुरा गाउँपालिकामा थप दुई जनामा दादुरा संक्रमण पाइएको छ ।

बाँके जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्षमा डुडुवा गाउँपालिका सबैभन्दा पहिला माघ १३ गते र राप्तीसोनारी गाउँपालिका माघ २७ गते पूर्ण खोप घोषणा भएका थिए । फागुन ८ गते नरैनापुर, फागुन १४ गते बैजनाथ, फागुन २८ गते नेपालगन्ज उपमहानगर र फागुन २९ गते खजुरा गाउँपालिका र चैत्र ६ गते कोहलपुर नगरपालिकालाई घोषणा गरिएको थियो । सबै पालिकामा १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई सम्पूर्ण खोप दिइएपछि सबै स्थानीय तह पूर्ण खोप युक्त पालिका घोषणा भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको बाँकेमा दादुराले प्रकोपको रुप लिएपछि यतिबेला बाँकेका सम्बद्ध सरोकारवालामाथि प्रश्न उब्जिएकोछ । यतिमात्र होइन दादुराका कारण नेपालगन्जमा एक बच्चाको समेत निधन भएकोछ ।
बाँकेको नेपालगन्ज ७६ र खजुरा गाउँपालिकाका २ जना गरि कुल ७८ जना बालबालिकामा दादुरा देखिएपछि दादुरा नियन्त्रण तथा व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडी बढ्न सम्बद्ध सरोकारवालाले रणनीति बनाएकाछन् ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरण समेत गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डाक्टर सर्बेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका डाक्टर पासाङ्ग राईसहितको टिम, युनिसेफका प्रतिनिधिहरुसंगै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत सरोकारवाला निकायका संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।

त्यसक्रममा भेरी अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रोमा बोराले दादुरा–रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन ‘ए’ खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायतका विषयमा उपस्थित स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा सरोकारवाला सबैले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्तिका साथ प्रकोपसंग जुध्न विशेष रणनीतिसहित अघि बढ्नपर्नेमा जोड दिएका छन् । दादुरा प्रभावित अधिकांशले खोप नै नलगाएको अवस्था देखिएकाले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुको विकल्प नरहेको सरोकारवालाको बुझाई छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले दादुरा प्रभावित स्थान र हालसम्म पहिचान भएको केशका बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठका अनुसार हालसम्म नेपालगन्जका ११ वटा वडामा ७६ विरामी फेला परेका छन् । खजुरामा पनि थप दुई केश भेटिएका छन् । दादुराबाट नेपालगन्जमा एक जनाले ज्यान गुमाएका छन् । दुई दिनमा नेपालगन्जका ३ वटा वडामा १२५८ जनाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि भइरहेका गतिविधि र अख्तियार गरिएका रणनीतिबारे जानकारी गराएका थिए । चन्दले रोग पहिचान, उपचार, जनचेतनामूलक कार्यक्रमसंगै खोप अभियानबारे उपमहानगरपालिकाले गरिरहेका कार्यहरुबारे जानकारी गराए ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डाक्टर शर्माले अन्य ठाउँमा दादुरा फैलिन नदिन सबै एकिकृत ढंगले लाग्नुपर्ने बताए । पूर्ण खोप सुनिश्चितता घोषणा भएको अवस्थामा पनि यसप्रकारको प्रकोप फैलिनु चिन्ताको विषय रहेको बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकार सबै गम्भीर ढंगले यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता औंल्याए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख विष्टले दादुराको रोकथाम र नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेर स्रोत साधनले भ्याएसम्म काम गर्ने बताए । उनले सबै सरोकारवाला संघसंस्था र निकायसंग समन्वय गरेर अघि बढ्ने बताए ।

संघीय सरकारका प्रतिनिधि जनस्वास्थ्य निरीक्षक श्रेष्ठले स्थानीय अवस्था र आवश्यकता हेरेर ठोस कार्ययोजनाका साथ खोप अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले खोप अभियानबाट छुटेका बालबालिकाका कारण दादुरा प्रकोपको रुपमा फैलिएको तथ्यलाई हृदयंगम गर्दै प्रभावकारी व्यवस्थापनका लागि गम्भीर बन्नुपर्ने बताए । उनले दादुरा महामारीकै रुपमा फैलिएकाले सचेत बन्नुपर्ने बताए ।

छलफल तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।