बालविवाह रोक्न ग्यास सिलिण्डर उपहार


बालविवाह रोक्न ग्यास सिलिण्डर उपहार

नेपालगन्ज ६ माघ : बालविवाह न्यूनिकरणका लागि बाँकेको खजुरा गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ‘ग्यास सिलिण्डर उपहार’ जुक्ति निकालेकोछ ।

मधेशी र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको खजुरा गाउँपालिका वडा नम्बर ५ को कार्यालयले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्यास सिलिण्डर उपहार दिने जुक्ति निकालेको हो । यसका लागि वडा कार्यालयले सार्वजनिक सूचना समेत जारी गरेकोछ ।

बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेष बताउँछन् ।

खजुरा गाउँपालिका वडा नम्बर– ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्यास सिलिण्डर उपहार दिनेछ । बालविवाह न्यूनिकरणका लागि ग्यास सिलिण्डर उपाहार दिने जुक्ति प्रभावकारि हुने अध्यक्ष गरिबेको भनाईछ ।
वडाध्यक्ष शेषले बालविवाह रोक्ने सबै उपाय लगाउँदा पनि रोक्न नसकेकोले यस्तो योजना अघि सारिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने, ‘यो वडामा मधेशी र मुस्लिम समुदायको संख्या धेरै छ, बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौं ।’ वडाध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, ¥याली जस्ता कार्यक्रम गर्दा पनि नसकेको बताए ।

वडाले जारी गरेको सूचनामा भनिएको छ, ‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहामा उपहार स्वरुप सिलण्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा ईच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’

यही ३ माघदेखि सिलिण्डर दिने निर्णय गरेपनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको उनले बताए । वडाले सार्वजनिक गरेको सूचनामा उक्त उपहार प्राप्त गर्न एउटा निवेदनसहित विवाह हुने प्रमाण, दुल्हा–दुल्ही दुवैको उमेर खुल्ने प्रमाण र खजुरा गाउँपालिका वडा नम्बर ५ को स्थायी बासिन्दा हुनुपने नियम बनाइएकोछ ।

बाँकेको खजुरा गाउँपालिका जिल्लामै धेरै बालविवाह हुनेमध्ये एक पालिका हो । धर्म, परम्परा र रितीरिवाजका नाममा हुँदै आएको बालविवाह लगभग अन्त्य जस्तै भएपनि बाँकेमा किशोरअवस्थामै आफूखुशी विवाह गर्ने चलन बढ्दोछ । जसका कारण बालविवाह न्यूनिकरणमा समस्या हुँदै आएकोछ ।

विद्यालय तथा कलेज अध्ययन गर्ने विशेषगरि १८ वर्षमुनीका किशोरकिशोरीहरु आफूखुशी विवाह गर्नेगर्छन् । यसरी आफूखुशी विवाह गर्ने किशोरकिशोरीहरु सानै उमेरमा विवाह गर्नुहुन्न भन्ने कुरा थाहा पाएपनि विवाह गर्ने गरेको नेपालगन्ज उपमहानगरपालिका स्तरीय बालक्लब सञ्जालकी सचिव कृतिका न्यौपाने बताउँछिन् ।

उनी भन्छिन्–‘बालविवाह न्यूनिकरणका लागि बालक्लब, किशोरी समुह लगायतका विभिन्न समुहले सक्रियता देखाएर काम गर्दै आएपनि बढ्दो प्रविधिको प्रयोग र आफूखुशी निर्णय गरि भागेर भएपनि विवाह गर्छन् ।’