नेपालगन्ज १२ माघ : नेपालगन्ज उपमहानगरपालिका बालश्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ ।
नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगन्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको छ । बिहीबार सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगन्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा बालश्रम घटे पनि चुनौती कायमै रहेकाले सहकार्य, समन्वय र हातेमालो गर्न जरुरी रहेको बताएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बालश्रम, बाल विवाह र खोप कार्यक्रम नगरका मुख्य समस्या भएपनि अन्य सूचकमा उल्लेख्य सुधार देखिँदा बालश्रम न्यूनीकरण भने चुनौतीपूर्ण देखिएको औंल्याइएको छ ।
रिजालले नेपालगन्ज उमहानगरपालिका बालश्रम मुक्त हुनुपर्दछ भन्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताए । व्यवसायिक प्रतिष्ठानहरुले बालश्रम नराख्ने दृढता लिँदा न्यूनीकरण सहज हुने उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बाल श्रमिकको तथ्यांक अद्यावधिक, सचेतनामूलक कार्यक्रम सञ्चालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्रीको प्रकाशन÷प्रशारण, होडिंग बोर्ड राख्ने, नियमित अनुगमन, छलफल र अन्तरक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएर बालश्रममा लागेका बालबालिकाहरुको पठनपाठन र अन्य क्रियाकलापमा स्थानीय सरकारले दायित्व बहन गर्नुपर्ने सुझाब सरोकारावालाहरुले दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख शोभा शाहले कमजोर स्थितिका बालबालिकाहरुको अवस्था हेरेर उपमहानगरपालिकाले सहयोग गर्ने बताइन् । उनले बालश्रम न्यूनीकरणको विषय अत्यन्तै संवेदनशील भएको भन्दै सबैको हातेमालो र जागरुकताले मात्र सम्भब हुने बताईन् । शाहले बाल श्रमको परिभाषा, कानूनी व्यवस्था र विद्यमान नीति नियमबारे प्रस्तुतिकरण गरेका थिए । शाहले अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले सबै कुरो थाहा पाएर पनि अटेरी गर्ने संस्कारले अप्ठ्यारो पारेको उल्लेख गरे ।
छलफलका क्रममा कुनै व्यवसायिक प्रतिष्ठानले बालबालिकालाई बाल श्रममा राखेको पाइएमा बाल श्रम न्यूनीकरणको लागि आफैं ४÷५ वटा होडिंग बोर्ड टाँस्नुपर्ने नीति लागू गर्ने विषयमा पनि छलफल भएको महिला विकास अधिकृत पवित्रा पुरीले बताए । उनले नगरमा बालबालिकाहरुको अवस्थाका विषयमा प्रस्तुतिकरण समेत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा होटेल व्यवसायी, यातायात व्यवसायी, प्रहरी, बालबालिकाका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी लगायत उपस्थित थिए ।
नेपालगन्ज क्षेत्रमा ग्यारेज, होटल, फर्निचर, मोबाइल पसल, इलेक्ट्रोनिक पसल, अटो रिक्सा, सुन पसल लगायतका क्षेत्रमा बढी बाल श्रम रहेको बताइएको छ । नेपालको कानूनले १४ वर्ष मुनीका बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन बन्देज गरेको छ ।