‘वाताअनुकूल’ राप्तीमा गोही संरक्षण


‘वाताअनुकूल’ राप्तीमा गोही संरक्षण

नेपालगन्ज २५ माघः बाँके राष्ट्रिय निकुञ्जले जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन संरक्षण अभियानको सुरुवात गरेको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका छन् । संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण अभियान अन्तरगत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा ती घडियाल गोही छाडिएको हो ।

जलचर विज्ञहरूले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षणको प्रयास थालेका हुन् ।

अभियान अन्तरगत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुईवटा भाले र आठवटा पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ । घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको संख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जका अधिकारीले बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

राप्ती नदीको पानीमा प्रदूषण न्यून छ । स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको मुख्य आहारा माछा हो । राप्ती नदीमा यी दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह बताउँछन् । गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने उलने बताए ।

नदीमा माछा मारेर जीविका चलाउँदै आएकाहरू खुनार र कुमाल जातिको व्यवसाय संकटमा पर्ने देखिएकाले उनीहरूको आयआर्जनको विकल्प खोजिने उनले बताए । ‘विकल्पस्वरूप खोला वा नदीबाहिर माछा पालन गर्न सिकाउने पक्षमा छौं,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार भने, ‘संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गरेका छौं ।’

गोही दुई प्रजातीको हुने जानकारी दिदै घडियाल गोही शान्त स्वभावको हुने उनले बताए । ‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र यो बस्न रुचाउँछ,’ उनले भने ।

संरक्षित सूचीमा रहेको जन्तुका रुपमा रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखी ५ लाखसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको उनले जानकारी दिए ।

नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको निकुञ्जले जनाएकोछ ।

यता राप्तीसोनारी गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारीको समृद्धि र विकासका निम्ति पर्यटनलाई जोड्न जरुरी रहेको बताए । उनले भने, ‘हामी सबैको सहकार्यबाट संरक्षणका सवालमा अगाडी बढ्न जरुरी छ, नदीमा आश्रित समुदायको जिविकोपार्जन र संरक्षणको अभियान हासिल गर्न सकिन्छ ।’

बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २ सय ५० वटा घडियाल गोही संरक्षण गरिएको निकुञ्जले जनाएको छ । विश्व सीमसार दिवसका अवसर पारेर राप्तीमा गोही संरक्षण गर्न थालिएको हो । बाँकेमा बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिव ८ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको हो ।