द्वन्द्वकालमा बन्द बाँकेका छोटी भन्सार, सञ्चालन नहुँदा चोरी, पैठारी बढ्यो


द्वन्द्वकालमा बन्द बाँकेका छोटी भन्सार, सञ्चालन नहुँदा चोरी, पैठारी बढ्यो

नेपालगन्ज ४ फागुन : द्वन्द्वकालमा बन्द भएका बाँकेका छोटी भन्सार सञ्चालनमा नआउँदा चोरी पैठारी बढ्दै गएकोछ । नेपाल–भारत जमुनाह नाकामा भन्सारले सामाग्री आयातमा कडाई गरेपछि बाँकेका छोटी भन्सार हुँदै चोरी पैठारी हुने गरेको हो ।

द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार राज्यको उदासिनताले अहिलेसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सारको भग्नावेषले अहिले पनि द्वन्द्वकालको झल्को दिइरहेकोछ । जिल्लामा रहेका यी छोटी भन्सारबाट करीब दुई दशकदेखि कुनै कारोबार भएका छैनन् । छोटी भन्सार विस्थापित भएसंगै उक्त क्षेत्रमा तस्कर र संगठित गिरोहरुको ‘रजगज’ चलिरहेकोछ ।

बाँकेमा रहेका ७ वटा ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठ्ने भन्सार राजस्व समेत ठप्प भएको नेपालगन्ज भन्सार कार्यालय, बाँकेले जनाएको छ । बाँकेको राप्तीपारी सुइया, बघौडा, नरैनापुर, भगवानपुर, डुडुवा गाउँपालिकाको खडैचा, भंघोटना, जानकी गाउँपालिकाको साईगाउँ र खजुरा गाउँपालिकाको उढरापुरमा रहेका छोटी भन्सार बन्द रहेका छन् ।

द्वन्द्वकालमा बम पड्काइएका यी सबै छोटी भन्सारका भवन भत्किएर काम नलाग्ने अवस्थामा छन् । केहीको त भवन नै नभएको बताइएको छ । यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएको समेत पाइँदैन ।

Kids Festival 2022
kanti aarogya hospital

भन्सार महसुल बढी भएका विभिन्न सामाग्रीको चोरीपैठारी हुने गरेको हो । नेपालगन्ज भन्सारबाट विशेषगरि चिनीको आयात कोटा प्रणालीमा हुने भएपछि चिनीको चोरी, पैठारी हुने गरेको पाइएकोछ । चिनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उक्त नाकाबाछ चिनीको चोरी, पैठारी हुने गरेको हो ।

‘जुन वस्तुमा भन्सार महसुल बढी हुन्छ त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुन्छ’, नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भने ।

पछिल्लो तथ्यांक अनुसार भारतले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगन्ज भन्सार हुँदै करिब ५०० मेट्रिक टन चिनी नेपाल भित्र्याउने गरेको छ तर, पनि नेपाली बजारमा भारतीय चिनी छयाप्छयाप्ती देखिएको छ ।

गत असारमा मात्रै नेपालगन्जस्थित बजारबाट चार सय २० बोरा अवैधरूपमा ल्याइएको चिनी प्रहरीले बरामद गरेको थियो । करिब २१ टन सो चिनी रु २२ लाखमा लिलामीसमेत भइसकेको भन्सार कार्यालय, नेपालगन्जले जनाएको छ । चिनीबाट गत आर्थिक वर्षमा मात्रै रु एक अर्ब १४ करोड राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको पुष मसान्तसम्म रु ५० करोड राजश्व उठेको छ ।

यसबाहेक गहुँ र मैदामा पनि भारतले प्रतिबन्ध लगाए पनि यसको चोरी पैठारी हुने गरेको पाइएको छ । तर, गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको भन्सार कार्यालयले जनाएकोछ । गहुँको कृषि शुल्क नौ प्रतिशत छ । मैदाको भन्सार शुल्क १० प्रतिशत छ । यसअघि प्रहरीले चोरी गरेर ल्याएको करिब २४ टन गहुँ गत कार्तिकमा डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो ।

‘भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि सञ्चालनमा ल्याउनुपर्छ त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ’, भन्सार अधिकृत शर्माले बताए । उनले भारतमा पनि ‘काउन्टर पार्ट’ स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिँदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने जानकारी दिए । यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको उनले सुनाए ।