मानव अधिकार उल्लंघनका घटना बढ्दो


मानव अधिकार उल्लंघनका घटना बढ्दो

नेपालगन्ज ७ फागुन : नेपालमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको मानव अधिकार वर्ष पुस्तकका अनुसार सन् २०२२ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट सात हजार तीन सय ७६ जना पीडित भएका छन् ।

राज्यपक्ष र अन्य पक्षबाट पीडित हुनेको संख्या गत वर्षभन्दा बढेको तथ्यांकले देखाउँछ । सन् २०२२ मा राज्यपक्षबाट ५० महिला र पाँच सय ७३ पुरुष गरी ६ सय २२ जना पीडित भएका छन् । अन्य पक्षबाट भएका घटनामा पीडित हुनेको संख्या बढ्दो देखिएको छ । जसमा महिलाको संख्या बढी छ । पाँच हजार नौ सय ४४ महिला र पुरुष आठ सय सात र अन्य तीनजना गरी ६ हजार सात सय ५४ जना पीडित भएका छन् । यस वर्ष राज्यपक्षबाट हत्या हुने महिलाको संख्या एक र पुरुष चार गरी पाँचजना छन् । अन्य पक्षबाट एक सय ६८ महिला र एक सय ५९ पुरुषको हत्या भएको छ ।

यो वर्ष एक हजार चार सय ५३ वटा बाल अधिकार हनन्का घटना भएको इन्सेकले जनाएको छ । २२ वटा जातीय विभेद, चार सय ४८ वटा कुटपिट, चार हजार दुई सय ४८ वटा महिला अधिकार हनन भएको छ भने ५३ जनाको कारागार र चारजनाको हिरासतमै ज्यान गएको छ ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनकि हुँदै आएको छ । इन्सेकले जिल्लागत र प्रदेशगत आधारमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक संकलन गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त पुस्तकको विवरण अनुसार अपरहण ३५, गिरफ्तारका ८१, कुटपिटका ४४८, बाल अधिकार उल्लघंनका १ हजार ४५३, हिरासतमा मृत्यमा ४, अमानवीय व्यवहारमा २५, घाइतेमा २५६, हत्या ३३२, जातीय विभेद २२, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार उल्लंघनका घटना ४०५, धम्की २७, यातना ५, महिला अधिकार हनन् ४ हजार २३८, कारागारमा मृत्यु ५३, वेपत्ता २ गरी ७ हजार ३७६ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको तथ्यांकमा समेटिएको छ ।

राज्य र अन्य पक्षबाट भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकमा सुधार देखिएको छैन । इन्सेकले संकलन गरेको तथ्यांकअनुसार सन् २०१७ मा २५५, २०१८ मा ३२८, २०१९ मा ३५८, २०२० मा ३५०, २०२१ मा ३४२ र २०२२ मा ३३२ जनाको हत्या भएको छ । सन् २०२२ मा ४४८ वटा कुटपिटका घटना भएका छन् ।

इन्सेकले निर्वाचनका बेलामा भएका अधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक पनि संकलन गरेको थियो । जसअनुसार वैशाख र मंसिरमा भएको स्थानीय र संघीय निर्वाचनका बेला पनि मानव अधिकार उल्लंघनका घटना धेरै देखिएका छन् । निर्वाचनका क्रममा २७ जना गिरफ्तारमा परेको, एक सय ९९ जनामाथि कुटपिट भएको थियो ।

यसैबीच लुम्बिनी प्रदेशमा मानवअधिकार र ज्यादतीका घटनामा कमी नआएको तथ्यांकले देखाएकोछ ।

इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा आईतबार सार्वजनकि गरेको स्थिती सूचांकका अनुसार सन् २०२१ भन्दा सन् २०२२ मा घटना धेरै भएकाछन् । यो प्रदेशमा सन् २०२१ मा एक हजार ७८६ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना भएका थिए । सन् २०२२ मा दुई हजार ८४ वटा घटना भएकाछन् ।

इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले सन् २०२१ मा भन्दा सन् २०२२ मा मानवअधिकार उल्लंघनका घट्ना बढ्नु दुःखदायी भएको बताए ।

यस वर्ष निर्वाचन भएको र निर्वाचनका क्रममा १२ वटा घटनामा ३६ जना पीडित भएको इन्सेकले जनाएकोछ । यो प्रदेशमा विभिन्न घटनामा परी २ सय ४३ बालबालिका पीडित भएको र एक हजार ६ सय २३ महिला हिंसामा परेको उक्त तथ्यांकले देखएको छ ।

यस्तै लुम्बिनीमा कैदी बन्दीको जीवनमाथि असुरक्षा बढ्दो देखिएकोछ । लुम्बिनीमा एक हजार ६८७ जना क्षमताको १२ वटा कारागारमा ४ हजार ४०३ जना बन्दी रहेकाछन् । समयमा न्याय नपाउने र न्यायलयले रुची अनुसार मुद्दालाई अघि बढाउँदा कारागारमा बन्दीको संख्या बढिरहेको इन्सेक संयोजक महतको भनाईछ ।

मानव अधिकार उल्लंघनका घटना सरकारी निकायमा रहेकाबाट हुने र राज्यले संरक्षण गर्न नसक्दा राज्यका निकायबाहेकबाट ज्यादती हुने गरेको उनको भनाइ छ ।

संविधानमा मौलिक हकको व्यवस्था भए पनि कार्यान्वयन नहुनु, कानूनको कार्यान्वयन नहुनु, राज्यका निकाय कमजोर हुनु, संवैधानिक निकाय कमजोर हुँदै जाँदा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको उनको विश्लेषण छ ।