‘खाद्यान्न बेच्न लैजाँदा प्रहरीले नियन्त्रणमा लिएर भन्सारलाई बुझाउँछ’


‘खाद्यान्न बेच्न लैजाँदा प्रहरीले नियन्त्रणमा लिएर भन्सारलाई बुझाउँछ’

नेपालगन्ज ९ फागुन : बाँके सुदूरपूर्व नरैनापुर क्षेत्रका स्थानीबासीले आफूले उत्पादन गरेको खाद्यन्न विक्रीमा प्रहरीले रोक लगाएउने गरेको बताएकाछन् ।

आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतका सामान सदरमुकाम नेपालगन्ज ल्याएर बिक्री गर्न खोज्दा बाँके प्रहरीले कम्दी पुलबाटै नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको नरैनापुरका स्थानीयको गुनासो छ ।

स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा पुगेपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहसंगै ति किसानहरु नेपालगन्ज पुगेर प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीसँग छलफलमा यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा प्रहरी प्रशासनले रोक नलगाउन आग्रह गर्दै सीमानाकामा तस्करी नियन्त्रण कडाई गर्न आग्रह गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

स्थानीय कृषक मुबारकअलि शेखले आफूहरुले उत्पादन गरेको धान, गहुँ बिक्रीका लागि नेपालगन्ज पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिने गरेको दुखेसो पोखे । उनले आफूहरुले उत्पादन गरेको गहुँ, धान र तोरी लगायत खाद्यवस्तु आफ्नो देशमा बिक्री नगरेर कहाँ गर्ने ? प्रश्न गरे ।

सीमामा बसेका कारण हामीहरु कहिलेसम्म सुरक्षाकर्मीहरुबाट पीडित हुनुपर्ने हो ? आफूहरु बिक्रीका लागि नेपालगन्ज ल्याएको गहुँ लगायतका खाद्यबस्तु भारतीय हो भन्ने प्रमाणित गर्ने आधार के हो ? भन्दै प्रजिअ र सुरक्षा अधिकारीसँग उनले प्रश्न गरेका थिए ।

त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सहकारी दर्ता गरेर स्थानीय स्तरमा उत्पादन भएको सामान बिक्री गर्न सुझाव दिएका थिए । प्रजिअ आचार्यले स्थानीय उत्पादनलाई बजारसम्म ल्याउन समस्या नरहेपनि सहरकारीमार्फत कारोबार गरे अझ राम्रो हुने भन्दै कानूनको अधिनमा रही कारोबार गर्न सुझाव दिए । उनले प्रहरीले स्थानीय उत्पादनमा कुनै अवरोध नगर्ने अश्वासन सेमत दिएका थिए ।

गाउँपालिका अध्यक्ष शाहले किसानलाई बिभिन्न बहानामा दुःख दिन नहुने बताउँदै उनले नेपाल–भारत सीमानाकामा भइरहेको तस्करी नियन्त्रणका लागि सीमानाकामा कडाई गर्न प्रजिअ आचार्यलाई सुझाव दिए । अध्यक्ष शाहले स्थानीय उत्पादनलाई आफ्नै नेपालमा बिक्री गर्न रोक लगाउनु चिन्ताको विषय भएको बताउँदै बाँके प्रशासनलाई जनताप्रति गम्भीर बन्न आग्रह गरे ।

उनले स्थानीय स्तरमा कृषि प्रबद्र्धनका लागि ऐन, नीति, निर्देशिका तयार पार्ने, कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने र संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोध हटाउन र प्रमुख उत्पादन क्षेत्र जोड्न पहल गर्ने प्रतिबद्धता जनाए ।

बाँकेका प्रहरी प्रमुख(एसपी) सन्तोषसिंह राठौरले किसानका नाममा तस्करी भइरहेको बताउँदै कानूनको अधिनमा रही बिक्री गर्न कसैलाई रोकटोक नहुने बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जमुनाहा नाकाबाट करोडौँ मूल्यको सामान दैनिक रुपमा नेपाल भित्रिँदा प्रहरीले नियन्त्रण गर्न नसक्ने तर, स्थानीय उत्पादन बजारसम्म पुग्न लाग्दा भारतबाट तस्करी गरेर ल्याएको भनि मुद्दा चलाउने प्रहरी र भन्सार कार्यालयको नियत ठिक नभएको बताए ।

स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउनका लागि सहयोग गर्न उनको आग्रह छ । तस्करी नियन्त्रण गर्न र छोटी भन्सार पुनः सञ्चालनमा गर्नतर्फ भूमिका खेल्न सुझाव दिए ।

छलफलका क्रममा नरैनापुरका स्थानीय कृषक समेत रहेका अधिवक्ता विश्वजीत तिवारी, अर्का अधिवक्ता बलबहादुर चन्द, सशस्त्र प्रहरी प्रमुख रमेश बिक्रम शाही, राजश्व अनुसन्धानका प्रमुख सुरेशराज जोशी, आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख सुदीश कुमार आर्याल, अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहन कुमार लगायतको सहभागिता रहेकोे थियो ।