राष्ट्रपतिमा पूर्वसभामुखद्वय पौडेल र नेम्वाङबीच प्रतिस्प्रर्धा


राष्ट्रपतिमा पूर्वसभामुखद्वय पौडेल र नेम्वाङबीच प्रतिस्प्रर्धा

नेपालगन्ज १३ फागुन : आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेकोछ ।

आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल र एमालेका उपाध्यक्ष नेम्वाङले शनिबार फरक–फरक समयमा संसद भवन पुगी उम्मेदवारी दर्ता गराएका हुन् । संवैधानिक व्यवस्थाअनुसार दुवै जनाले पाँच–पाँच जनता प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेलको प्रस्तावकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान छन् ।

यसैगरि, समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यता नेम्वाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुन् । पौडेल २०५१ साल पुष ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए ।

नेम्वाङ २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हालेका थिए ।

काँग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अरु कुनै पनि दल खुलेका छैनन् । यद्यपि, काँग्रेसको समर्थनमा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उनलाई मत दिन सक्ने अनुमान गरिएको छ ।

मनोनयन दर्तासँगै दलहरुले आफ्नो पक्षमा माहोल बनाउन दौडधुप थालेका छन् । उम्मेदवार पौडेल उम्मेदवारी दर्ताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका थिए । पौडेलले लामिछानेको हात्तिगौडा स्थित निवासमै पुगेर राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

यद्यपि लामिछानेले सहयोग गर्नेबारे स्पष्ट जवाफ दिएनन् । उनले पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने जवाफ पौडेललाई फर्काएका थिए ।