होरीमा गाइने तराई–मधेसको जोगिरा हराउँदै


होरीमा गाइने तराई–मधेसको जोगिरा हराउँदै

File Photo

महोत्तरी २१ फागुन : ‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर, विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ ।

मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय र मृदङ्गको तालमा जम्ने जोगिराको रमझम देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहित तराई/मधेसका जिल्लामा सुन्न छाडिएका छन् ।

श्रीपञ्चमी पर्व (माघ शुक्ल पञ्चमी) मा वसन्त उत्सव सुरु गरिएसँगै मृदङ्ग, हारमोनियम र डम्फू (जोगिराका वाद्यवादन)का तालमा प्रत्येक रात तराई÷मधेसका बस्ती–बस्तीमा गाइने जोगिरा (फागुन उत्सवमा गाइने गीत) पछिल्ला दुई दशकयता कम सुनिन थालेको हो ।

तराई/मधेसका बस्ती÷बस्तीमा टोलैपिच्छे घरदलानमा गबैया (गायक)का समूहले गाउने जोगिराले दिने फागु पर्व नजिकिएको सन्देस अब सुन्न छाडिएकोमा यहाँका बुढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिक रुपमा गाइने जोगिराले होरी (फागु) को सन्देश दिन र उमङ्गित बनाउने विषय अब कथामा मात्रै भएको महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना जोगिरा गवैया ६० वर्षीय छठु महतोको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘कुनै समय थियो जतिबेला हामी जोगिरा गाउन थालेपछि डेढ महिनासम्म पूरै बस्ती उमङ्गमा हुन्थ्यो’, महतोले विगत सम्झदै भने, ‘अहिले जोगिरा सुन्न मन व्यग्र हुन्छ ।’ खासगरी २०५२ सालमा माओवादीको जनयुद्ध सुरु भएपछि सुरक्षाको चिन्ताका कारण एक ठाउँ जम्मा हुने र रमाइलो गर्ने चलन हटेको महतोको भनाइ छ ।

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका शब्दावलीको संयोजनका जोगिरा (फागु गीत) सुन्न छाडिएपछि फागुपर्वको रौनक हराउँदै गएको यहाँका बुढापाकाको गुनासो छ ।

‘हेर्नोस् बाबु, अब फागु पर्व आउन केही दिनमात्र बाँकी छ, तर, फागु आउँदैछ भन्ने भान नै पर्दैन’, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीया नथुनी महतोले दुःखेसो पोखे। जोगिरा गवैया समूहभित्रका पुरानो पुस्ता मर्ने र बुढ्याइँले घरको कुनामा थन्किने क्रमसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय धनीराम महतो बताउँछन् ।

आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुन छाडेको भङ्गाहा–३ का बासिन्दा नेपाली कांग्रेसका नगर सभापति ७५ वर्षीय रुपनारायण सिंह थारु बताउँछन् ।

उनी भन्छन्, ‘आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होरी)मा हासो–ठट्टा, गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा अब सुन्न छाडियो । यसले त होरी आएको÷ गउको थाहै हुन छाड्यो ।’

‘हे डम्फाके चोट महलबीच पहुँचय, सुतली गोरिया चहक् उठय.. अही फागुन में ! जोगिरा..सरररर !! (जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन्..फागुमा) ख्यालठट्टा गर्न तराई÷मधेसका सामाजिक स्वीकृति पाएको नाताबीच (साली–भिनाजु, देवर–भाउजु, सोल्टा–सोल्टी) जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा विजयकुमार कर्ण बताउँछन् ।

सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिभन्दा माथि उठेर एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभइ गवैया समूहबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन ।

‘कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा, कई धार के पानी पिए, कई बाप के बेटा..! जोगिरा..सररर !!’ एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव जोगिराबाहेक अरु बेला कल्पना पनि गर्न नसकिने मिथिला लोकसंस्कृतिका ज्ञाता जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक (सेवानिवृत उपसचिब) ८० वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।
जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया प्रेम, उर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमङ्गको भाव एकसाथ भेट्टाइने झा बताउँछन् ।

राजनीतिक अधिकारका लागि तराई/मधेसका क्षेत्रमा नयाँ पुस्ताको आन्दोलनमा सहभागिता देखिए पनि संस्कृतिको जगेर्ना र संरक्षणमा भने खासै उत्साह नदेखिएको बुढापाकाको टिप्पणी हुने गरेको छ । आउने दिनमा तराई/मधेसका युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिनसके यहाँको संस्कृति र सभ्यताको पहिचान झन चहकिलो हुँदै जाने शिक्षण पेशाबाट अवकाश लिएका महोत्तरीको भङ्गाहा–७ मेघनाथगोरहन्नाका ६५ वर्षीय चन्द्रनारायण चौधरी (थारु)को नयाँ पुस्तालाई सुझाव छ ।

मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा सुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौं दिन महोत्तरीकै भङ्गाहा–९ कञ्चनवनमा राम सीताले अबीर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरुप एकअर्कालाई लगाइ दिएपछि रङ्गअबीरको पर्व विधिवत् सुरु भएको मानिने परम्परा रहँदै आएको छ ।

फागुन विशेषको जोगिरा मात्र नभएर दसैं पर्वको ‘ढोल’ बज्न र ‘झिझिया’ गीतको तान्त्रिक नृत्य पनि देखिन, सुन्न छाडिएको बुढापाकाको चिन्ता छ । पछिल्ला केही दशकयता त मिथिलाका मौलिक संस्कृति भनिने जोगिरा र झिझियाजस्ता परम्परा कहिलेकाँही एनजिओ/आइएनजिओ (गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) का कार्यक्रममा प्रायोजित रुपमा देखिँदा झनै उदेक लाग्ने गरेको भङ्गाहा–३ का बासिन्दा पूर्वप्रशासक ८४ वर्षीय तेजनारायण सिंह थारु बताउँछन् ।

‘हेर्नुहोस् बाबु, व्यक्ति÷व्यक्ति नाच्ने, रोमञ्चित हुने र उत्सवमा रमाउने हाम्रा परम्परा अब नौला भएका छन्’, थारुले भने, ‘अचेल औपचारिक कार्यक्रममा देखाइने प्रायोजित झिझिया, जोगिरा र डम्फूको प्रदर्शनले त हामी मैथिललाई जिस्क्याएजस्तो लाग्छ ।’

यद्यपि यस्ता औपचारिक कार्यक्रममा देखाइने यी पारम्परिक सांस्कृतिक प्रदर्शनले नयाँ पुस्तालाई यी विषयमा सोच्न र तत्परता देखाउन भने सघाउने उनको भनाइ छ । -रासस