नेपालगन्ज २७ फागुन : बर्खा अगावै काम सक्ने गरी नेपालगन्जका नाला सफाई गर्न थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगन्जलाई जोगाउन यहाँका साना ठूला सबै नाला सफाई गर्न थालिएको हो । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि वर्षौंदेखि सबै नाला आमरुपमा सफा गरिएको छैन ।
दुई वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम थालिएको छ ।
‘अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अबरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले भने,‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौं ।’
जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिने शर्माले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्माले शनिबार भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाईको अवलोकन गरे ।
नाला सफाई कार्यको अवलोकनमा पुगेका नगरप्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।
‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं’, नगरप्रमुख विष्टले भने, ‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।’ विष्टले नेपालगन्ज उपमहानगरपालिकाभित्र ‘डे«नेज’को पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए ।
‘विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, यसले नेपालगञ्जलाई डुबान हुनबाट जोगाउनेछ’, उनले भने । एक महिनामा सफाई सक्ने गरी काम अघि बढाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारी समेत उम्रिएको पाइएकाले यी क्षेत्रहरुमा सफाई गर्दा पानीको निकास सहज होस् भन्ने उद्देश्यका साथ सफाई थालिएको बताए । उनले तल्लो क्षेत्रको नाला सफाई गर्दाको सिकाईको आधारमा अन्य नालाको सफाई गरिने बताए ।