मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश
नेपालगन्ज ३ चैत्र : उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान शुरु भएको हो । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् ।
यद्यपि उनीहरु पनि मतदान स्थलमा पुगेका छन् । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।
थप समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै तीन जना
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति