उपराष्ट्रपति पदका लागि मतदान जारी, परिणाम साँझ ६ बजेभित्र

मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश


उपराष्ट्रपति पदका लागि मतदान जारी, परिणाम साँझ ६ बजेभित्र

नेपालगन्ज ३ चैत्र : उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा मतदान शुरु भएको हो । बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् । अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् ।

यद्यपि उनीहरु पनि मतदान स्थलमा पुगेका छन् । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ । आजै साँझ ६ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् । तर, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

थप समाचार

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै तीन जना