‘जल, जमिन र जंगलको सवालमा समुदायको सहभागिता महत्वपूर्ण’


‘जल, जमिन र जंगलको सवालमा समुदायको सहभागिता महत्वपूर्ण’

भिम बहादुर सार्की

डुडुवा २३ चैत्र : समुदाय र सामुदायीक वन सम्बन्धि विवाद मिलाउन समुदायकै भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

माकुरा समुह डुडुवाको आयोजना, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र बाँकेको सहयोग र डुडुवा गाउँपालिका वडा नम्बर–४ र ५ को समन्वयमा डुडुवाको मिलनचोकमा आज बिहीबार प्रक्रिया प्रस्ताव पारितका लागि संयुक्त बैठकमा उपस्थित सहभागीहरुले सो कुरा बताएका हुन् । बैठकमा ७० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

डुडुवा गाउँपालिका स्थित वभनपुर्वा सामुदायिक वन उपभोक्ता समिती तथा सो वनसँगै जोडिएका मिलनचोक बस्ती वरपरका केही घरधुरीहरुसँग सीमानाको विषयलाई लिएर केही समयदेखि विवाद हँुदै आइरहेको छ । उक्त विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र बाँकेले डुडुवा गाउँपालिका वडा नम्बर– ४ र ५ स्थित वभनपूर्वा सामुदायिक वन अन्तर्गतका स्थानीय उपभोक्ताहरुको पहलमा ११ सदस्यीय माकुरा समुहको गठन गरि सहजीकरण गर्दै आएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

माकुरा समुहको अगुवाइमा स्थानीय उपभोक्ता, वन उपभोक्ता समिती तथा सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्ने क्रममा बिहीबार आठौँ चरणको बैठक आयोजना गरिएको हो । बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहजकर्ता रसीद खाँले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले सामुदायिक मेलमिलाप तथा रुपान्तरणीय प्रक्रियामार्फत जल, जमिन र जंगल सम्बन्धि बहुसरोकारवाला सवालमा काम गर्दै आएको र डुडुवामा पनि सोही सवालहरुलाई मध्यनजर गरि समदाय र सामुदायिक वन बिचको विवादलाई साम्य पार्न संस्थाले समुह गठन गरि काम गरिरहेको बताए ।

कार्यक्रम बोल्दै उपभोक्ता बिष्णुमाया न्यौपानेले मिलनचोकमा २०५२ सालदेखि नै बस्ती रहेको र त्यस्को केही समयपछि मात्रै सामुदायिक वनको अवधारणा आएको हुँदा वन र बस्तीको सीमानालाई लिएर वभनपुर्वा वन समितीले बस्तीका घरधुरीहरुसँग विवाद गर्नुको कुनै तुक नरहेको बताइन् ।

त्यस्तै, नेपाल हेल्पलाइन फाउण्डेसन बाँके र स्थानीय अगुवा मुस्लिम खाँले आफु २०५० सालदेखि नै मिलनचोकमा बस्दै आएको र बस्ती विस्तार हुने क्रममा कुनैपनि घरधुरीले वनको भूभाग नओगटेको कुरा बताए ।

त्यसैगरि, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहराले वनजंगल छेउछाउमा रहेका तथा अव्यवस्थित बस्तीलाई व्यवस्थापनका लागि सरकारका सबै तहमा एजेण्डाहरु प्रस्तुत हुने भएतापनि त्यस्को प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो पोखे ।

कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा नेपाल शिक्षक संघ बाँकेका सचिव तथा स्थानीय शिक्षक चन्द्र बहादुर एरीले सबै पीडीत पक्षहरुले आ–आफ्नो सवालहरु छलफलमा राख्नुपर्ने र ती सवालहरुलाई सम्बोधन गर्न एउटा कार्यदल गठन गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । मन्तब्यकै क्रममा नेपालगन्ज सब–डिभिजन वन कार्यालय राँझाका प्रमुख नारायण पार्धेले माकुरा समुह तथा सहयोगी संस्थाले मेलमिलापको नीतीबाट काम गरिरहेको कुरालाई मुक्त कण्ठले प्रशंसा गरे ।

‘वनजंगल छेउछाउ रहेका बस्ती र सामुदायिक वनसँग सम्बन्धित विवादहरु थुप्रै छन्, यदि समुदायकै प्रयासले यहाँहरुको विवाद समाधान भएको खण्डमा यो एउटा नमूनायोग्य कार्य हुनेछ र हामीलाई पनि अरु समुदायमा यसै प्रक्रिया मार्फत जान हौसला मिल्नेछ,’ उनले अगाडी थपे ।

डुडुवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक साहिदा बानोले समुदाय र सामुदायिक वन मिलेर सबैखाले विवाद समाधान गर्नुपर्ने आग्रह गरिन् ।

बैठकमा माकुरा समुहका संयोजक मोती बुढाथोकी, डुडुवा गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष झंक बहादुर थापा र वभनपुर्वा सामुदायिक वनका उपाध्यक्ष इरफान खाँले समेत आफ्नो भनाइहरु राखेका थिए ।