File Photo
नेपालगन्ज १ वैशाख : आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।
नयाँ वर्ष कसरी निर्क्योल गरिन्छ?
चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाको दिनदेखि नयाँ वर्ष मान्ने र सौरमानअनुसार सूर्य मेषराशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ ।
शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको अवधिलाई सौरमान भनिन्छ ।
साधारणतया चैत्र शुक्लप्रतिपदा भएको तथा मेषराशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रावधान छ । तर, कालगणना गर्दा अढाई–अढाई वर्षमा पर्ने अधिकमास (मलमास) का कारण र कहिलेकाहीँ तिथि क्षय हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन् । त्यसैले चान्द्रमान र सौरमानअनुसार गणना गरेर नयाँ वर्ष निर्धारण गर्न थालियो ।
पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रमा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन् । त्यसै कारणले हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा पर्दैनन् ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ