नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै


नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

File Photo

नेपालगन्ज १ वैशाख : आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।

नयाँ वर्ष कसरी निर्क्योल गरिन्छ?

चान्द्रमानबाट हेर्दा चैत्र शुक्लप्रतिपदाको दिनदेखि नयाँ वर्ष मान्ने र सौरमानअनुसार सूर्य मेषराशिमा प्रवेश गर्ने प्रथम सूर्योदयलाई वर्षको पहिलो दिन मान्ने चलन छ ।

शुक्लपक्षको प्रतिपदा (परेवा) देखि कृष्णपक्षको अमावास्या (औँसी) सम्मको अवधिलाई चान्द्रमान भनिन्छ । एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरुन्जेल (अर्को सङ्क्रान्ति) सम्मको अवधिलाई सौरमान भनिन्छ ।

साधारणतया चैत्र शुक्लप्रतिपदा भएको तथा मेषराशिमा सूर्य प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्ने प्रावधान छ । तर, कालगणना गर्दा अढाई–अढाई वर्षमा पर्ने अधिकमास (मलमास) का कारण र कहिलेकाहीँ तिथि क्षय हुने हुँदा समय मिलाउँदा एकैदिन दुवै कुरा सधैँ एकैचोटि पर्दैनन् । त्यसैले चान्द्रमान र सौरमानअनुसार गणना गरेर नयाँ वर्ष निर्धारण गर्न थालियो ।

पञ्चाङ्गमा हुने तिथि चान्द्रमानअनुसार र भित्तेपात्रमा लेखिने मिति सौरमानअनुसार गणना गरिएका हुन् । त्यसै कारणले हामीले मनाउने तिथिअनुसारका चाडपर्व र जन्मतिथिहरू प्रत्येक वर्ष एकै मितिमा पर्दैनन् ।