फुल फुलेर ढकमक्क ‘ढकेरी’, आन्तरिक पर्यटक बढे


फुल फुलेर ढकमक्क ‘ढकेरी’, आन्तरिक पर्यटक बढे

बाँकेको ढकेरी पार्कमा घुम्दै आन्तरिक पर्यटक । तस्बिर सौजन्यः गोविन्द अचार्य

नेपालगन्ज ३ वैशाखः विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेर रङ्गीचङ्गी बनेपछि बाँकेको ‘ढकेरी’ पार्क आन्तरिक र बाह्य पर्यटकको घुईचो बढेकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९ ढकेरीमा अवस्थित उक्त वनस्पति उद्यान ‘ढकेरी पार्क’मा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो ।

विभिन्न प्रजातिका फुलहरू ढकमक्क फुलेका कारण पछिल्लो समय पार्कमा आउने र टिकटक बनाउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ । ढकेरी वनस्पति उद्यानका सहायक वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते करिब एक हजार जनाले पार्कको अवलोकन गरेका छन् ।

‘सामाजिक सञ्जाल टिकटक बनाउनकै लागि दाङ, बर्दियालगायतका जिल्लाबाट समेत पर्यटकहरू आउनेगरेका छन्’ सहायक वैज्ञानिक अधिकृत भण्डारीले भने,‘अहिले ढकेरी पार्क आकर्षक र रोमाञ्चक पनि भएको छ ।’ अन्य समयमा सार्वजनिक बिदाको दिनमा २०० जनासम्म आउने, पार्कमा सामान्य दिनमा दैनिक २० देखि ५० जनासम्म आउनेगरेका छन् ।

नयाँ वर्षको दिनमा नेपालगन्जबाट पार्क घुम्न गएका विनोद चन्दले सुन्दर पार्कभित्र प्रवेश गर्दा मनै आनन्दित भएको अनुभूति भएको बताए । उनले भने–‘यसअघि बाँकेको गाभर भ्याली सम्म गएको भएपनि चारैतिर विभिन्न प्रजातीको फूलहरु ढकमक्क फुलेको देख्दा मन हर्षित र उल्लासमय बन्यो ।’

Kids Festival 2022
kanti aarogya hospital

चन्दले अगाडी थपे–‘परिवारसँग पहिलो पटक घुम्न जाँदा श्रीमती र बच्चाहरु यहाँ आएर घुम्न आनन्दित भए । समय वितेको पत्तो नै भएन ।’

यस्तै अर्का नेपालगन्ज राँझाबाट नयाँ वर्ष मनाउन उक्त उद्यान गएकी कृष्णा बुढामगरले भनिन्–‘नेपालगन्जको उकुसमुकुस गर्मीबाट राहत पाउन यो जत्तिको ठाउँ अरु कहाँ होला र ।’ बुढामगरले अगाडी थपिन्–‘राजमार्गसंगै रहेको व्यवस्थित पार्कमा साथीहरुसँग खुबै रमाइलो गरियो । यहाँ फुलेका फुलहरुमा हामीहरुले टिकट पनि बनाऔं ।’

उनले अगाडी थपिन्–‘धेरै वर्ष पहिले तिहारमा देउसीभैलो खेलेपछि साथीहरुसँग पिकनिक खान यहाँ आएको थिएँ । उहिले र अहिले पार्कले मुहार नै फेरेको पाएँ ।’

पार्कभित्र विभिन्न थरिका फुलहरूले यतिबेला चारैतिर रङ्गिएको छ । पार्कभित्र विभिन्न प्रजातिका फूलसहित करिब चारसय प्रजातिका अन्य वनस्पति रहेका छन् । पार्कभित्र चेरी, डालिया, पिटुनियालगायतका बहुबर्षीय र मौसमी फूलहरू छन् । जसले गर्दा यहाँ आउने आन्तरिक तथा बाह्र पर्यटकको रोजाई समेत बन्दै गएकोछ ।

पार्कमा अध्ययनका लागि बाँके बाहिर बर्दिया, कैलाली, सुर्खेत, पाल्पा, प्यूठान, काठमाडौं, पोखरा र कपिलवस्तु लगायतबाट विद्यार्थी आउने गरेका छन् ।

ढकेरी पार्कले वनस्पतिहरूको सङ्कलन, पहिचान र संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । ढकेरी पार्क अवलोकनका लागि भारतीय पर्यटक समेत आउनेगरेका छन् । विशेषगरी नेपाली सीमानाका रुपैडिहा, वावागञ्ज, बहराईच र लखनउबाट समेत यहाँ आउने गरेकाछन् । यसरी यहाँ आउने भारतीयहरुमा केही नेपालमा आफन्तकोमा आएका बेला मौका जुराएर आउने गरेका हुन् ।

बाँकेमा घुमघाम र रमाइलो गर्न सीमित ठाउँहरु छन् । जसका कारण यहाँबाट घुमघाम र रमाइलो गर्नका लागि अन्यत्र जिल्ला र भारतीय विभिन्न ठाउँ जाने गर्दछन् ।