कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै


कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै

File Photo

कञ्चनपुर ८ वैशाख : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको संक्रमण बढ्न थालेको छ ।

निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको संक्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको संख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको संख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नम्बर– १, लालझाडी गाउँपालिकाको वडा नम्बर– ३, कृष्णपुर नरपालिकाको वडा नम्बर– १, शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर– १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।

यसैगरी कैलालीको गौरीगंगा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उहाँले बताए । ‘रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमबाट यो रोग सर्ने गर्दछ’, उनले भने, ‘रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ ।’

अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ । ‘यो रोग शतप्रतिशत प्राणघातक रोग हो’, उनले भने, ‘यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।’

रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उनको सुझाव छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको संक्रमण देखापरेको बताए ।

स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उहाँको भनाइ छ । स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हुँदै आएको उनले बताए । -रासस