ठेलामा सातु राखेर बेच्न लग्दै गरेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–२१ पुरैनाका सातु ब्यापारी श्रीपाल भुजुवा । तस्विर: विजय मल्ल /सेतोखरी
नेपालगन्ज १० वैशाख : आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौंको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइएकोछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्वत र जौंको सातु खाने पर्वको रुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।
देशकै उच्च गर्मी हुने स्थान नेपालगन्जमा पछिल्लो एक हप्तादेखि गर्मी ह्वात्तै बढेको छ । प्रचण्ड गर्मीमा यहाँका स्थानीयबासी गर्मी छल्न यसअघि नै सातु खाने गरेका थिए । तर, आज अक्षया तृतीयाकै दिन सातु खाइने हुनाले सातुको ब्यापार पनि ह्वात्तै बढेर आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–२१ पुरैनाका सातु ब्यापारी श्रीपाल भुजुवाले दिनहुँ ५० देखि ६० केजीसम्म सातु विक्री गर्ने गरेको बताए ।
गर्मी बढेसँगै सातुको माग पनि बढेकोछ । जौं तथा चनाबाट निर्माण गरिने सातुको माग बजारमा रहेको छ । चनाबाट बनेको सातु प्रतिकिलो २ सय २० रुपैयाँ र जौंबाट बनेको सातु प्रतिकिलो एक सय २० रुपैयाँमा विक्री भइरहेकोछ ।
धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको सातुको उपलब्धता भने सहज हुन सकेको छैन् । पहिले सवैले आफ्नो घरमा जौँको सातु बनाउने र त्यसलाई प्रयोग गर्ने गर्दथे । तर, समयसंगै सबैले आ–आफ्नो घरमा सातु बनाउन नसक्ने भएपछि यसको माग पनि विस्तारै घटेर गयो । तर, पछिल्लो समय यसको ब्यापार हुनथालेपछि माग बढेको हो । अझ सातुलाई जिविको पार्जनको लागि अर्को विकल्पका रुपमा लिएपछि यतिवेला बाँकेको नेपालगन्जमा सातुको माग ह्वात्तै बढेकोछ ।
स्वास्थ्यका दृष्टिकोणमा सातु
विशेषगरी बैशाख महिनामा पर्ने अक्षय तृतीयाका अवसरमा बिक्री गरिने सातु स्वास्थ्यका दृष्टिकोणले गुणी मानिन्छ । यसका साथसाथै धार्मिक मान्यता तथा परम्पराले पनि महत्वपूर्ण मानिन्छ । जौंको सातु खाँदा शितलता प्राप्त हुन्छ । यसले रगतको तापमानलाई नियन्त्रण गर्छ, गर्मी तथा ज्वोरोलाई रोक्छ, पुरानो ज्वोरो, टिबी तथा खोकीका लागि पनि जौंको प्रयोग गर्नु लाभदायक भएको चिकित्स बताउँछन् ।
जौंको प्रयोग गर्नाले शरीर सुन्निएको कम गर्ने, मोटोपन घटाउने, मुलायम त्वचाका लागि तथा गर्भपतन लगायतमा उपयोगी हुने गरेको चिकित्सक बताउछन् । ‘सातु’ जौंलाई भुटी पिसेर बनाइएको पीठो हो । जसलाई विभिन्न तरिकाबाट उपभोग गर्ने गरिन्छ । सातुलाई चिनी, मिश्री, गुड तथा कोही कोहीले खुर्सानी र नुन पिसेर पानी मिसाएर खाने चलन छ ।
धर्मका दृष्टिले सातु
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन् । ती मध्ये एउटा महायोगको नाम हो ‘अक्षय तृतीया’ । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवान विष्णु र लक्ष्मीको संयुक्त पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सु–स्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु काल गणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् । ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । जो यसवर्ष आज बैशाख १० गते मनाइदैछ ।
अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । बैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिजलाई सर्बतसँगै र जौंको सातु दान गर्ने चलन छ ।
यसदिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि दान दिइने चलन छ । भनिन्छ, यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार अक्षय तृतियाका दिन दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
कुनैपनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ ।
यसदिन जलले भरिएका कलश, गाई, भूमि, स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण पनि गरिन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरञ्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यही तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।
किन रोजियो जौं र सर्वत ?
जौं र सर्वत रोज्नुको पनि विशेष महत्व रहेको बताइन्छ । इतिहासकारहरूका अनुसार यो पर्व वैदिक काल(१५ सय इसापूर्वदेखि १००० इसापूर्वसम्म) र महाकाव्य(नौ सय इसापूर्व) कालदेखि नै चलेको पाइन्छ । सो समयमा जौं नेपाल लगायत भारत वर्षमा सबभन्दा बढी मुख्य उब्जाउ हुने खेती थियो । त्यतिबेला नै विभिन्न यज्ञ यज्ञादि कर्महरूमा समेत धेरै उपलब्ध हुने हिसाबले जौंको प्रयोग हुन थाल्यो । समयक्रमसँगै बिस्तारै जांैको उत्पादन कम हुन थाल्यो । त्यसपछि पुरानो परम्परा जोगाउनको लागि मात्रै भएपनि यसलाई एउटा पवित्र अन्नको रुपमा मान्न थालियो । जुन परम्परा अहिलेसम्म चल्दै आएको इतिहासकारहरूको मत छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ