साढे ११ करोड बढि लागतमा नेपालगन्ज रङ्गशालामा ट्रयाक बन्दै


साढे ११ करोड बढि लागतमा नेपालगन्ज रङ्गशालामा ट्रयाक बन्दै

नेपालगन्ज १० वैशाख : बाँकेको नेपालगन्जमा साढे ११ करोड बढि लागतमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बनाउन थालिएकोछ । नेपालगन्ज रङ्गशालामा उक्त रकमको अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको निर्माण गरिन थालिएको हो । उक्त ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले शिलान्यास गरेका छन् ।

आगामी १० महिनाभित्र निर्माण सम्पन्न हुने गरि पञ्चकन्या/सिन्कोट्स, कुपण्डोल, ललितपुरलाई एथ्लेटिक्स ट्रयाक निर्माणको जिम्मेवारी दिदैँ सम्झौता समेत गरिएकोछ ।

एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगन्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताए ।

‘कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्रयाकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले अगाडी भने–‘सबै हिसाबले नेपालगन्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ । मैलै म्याद थप्नु पर्ने स्थिति आउने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

एथ्लेटिक्समा बाँके र लुम्बिनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्रयाक निर्माण गर्न लागेको उनको भनाइ छ ।

‘एथलेटिक्समा लुम्बिनी प्रदेश इतिहास बोकेको प्रदेश हो । १२ औं राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी समग्रमा टिम च्याम्पियन बन्दा त्यसको मुख्य आधार भनेको लुम्बिनीले एथलेटिक्समा प्राप्त गरेको पदक नै थियो’ सदस्य–सचिव घिसिङले भने– ‘लुम्बिनी एथलेटिक्सका लागि सम्भावना भएको प्रदेश मात्र होइन । विगतका नतिजाले पनि लुम्बिनी एथलेटिक्सका लागि उर्वर प्रदेश हो भन्नेमा दुई मत रहेन ।’

एथ्लेटिक्स ट्रयाक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्रयाकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्यसचिव घिसिङको भनाइ छ ।

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्रयाकको निर्माण सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले एथ्लेटिक्सको उर्वराभूमिको रूपमा रहेको नेपालगन्जमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बनेपछि यहाँका खेलाडीले नियमित अभ्यास गर्न पाउने भएकाले थप सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच घिसिङले नेपालगन्ज रंगशाला हातामा रहेको बमुर्डा घाँसको फुटवल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ हल, भारोत्तोलन, भलिवल, ब्याड्मिन्टन कोर्ट, बास्केटवल र पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।