युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा


युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

ढोरपाटन २३ वैशाख : गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिन्छन् ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिने हिरामान फलामबाट बन्ने सामान बनाउँछन् । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउँछन् ।

आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उनको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उनले लामो समय बालीघरेरूपमा कामसमेत गरे । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि हिरामानसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायी बताउँछन् पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने थियो । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउँछन् ।

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उनको भनाइ छ । उनले आफूले दुई दशक बढी बालीघरेका रूपमा कामसमेत गरेको सुनाए। बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नुपरेको हिरामानले बताए । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उनको भनाइ छ ।

Care City Hospital Npj
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

हिरामान भन्छन्, ‘यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ ।’

बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको छ । अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उनको भनाइ छ । उनले भने, ‘बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न छाडेँ ।’

उनका छोरा देवीरामले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसायतिर ध्यान नगएको बताए । आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा आफूले यो पेसा नअँगालेको उनको भनाइ छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने देवीराम बताउछन् । आफ्ना पुस्ताका युवाले यो काम गर्नतर्फ ध्यान नदिएको उनले बताए ।

‘बाउबाजेले यो पेसालाई निकै इमान्दार भएर सम्हाल्नुभयो, हामीहरू लागेनौँ, आरन व्यवसायमा धेरै पैसा छैन, विदेश गयो भने यहाँ कमाउने भन्दा धेरै कमाउन सकिन्छ’, उनले भने, ‘आरन व्यवसाय अलिकति झन्झटिलो पनि छ, एउटै सामान बनाउन धेरै समय लाग्छ, पैसा कम हुन्छ, सम्मान पनि छैन यो पेसामा, हामी त सानैदेखि विदेश लाग्यौँ, यो पेसातिर ध्यान गएन ।’

स्थानीय टीकाराम विकले एक दशक अगाडिसम्म एउटै गाउँमा तीन–चारवटा आरन व्यवसाय हुने गरेकामा अहिले एउटा पनि भेट्टाउन नसकिने बताए । उनले गाउँमा चाहिने कोदालो, फाली, हँसिया, दराँती, बञ्चरोलगायत फलामका भाँडा बनाउन बजारमै झर्नुपर्ने अवस्था आएको सुनाए । अहिले पहिलेको जस्तो झन्झटिलो नभएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पहिले–पहिले गाउँघरमै आरन हुन्थे, केही सामान बनाउन परे नजिकै बनाउन सकिन्थ्यो, अहिले त खेतबारी जोत्नुप¥यो फाली ल्याउन बजारै पुग्नुपर्छ, बजारमा आएका सामान पनि यहाँ बनेका होइनन्, कहाँबाट बनेर आएका हुन्, ती सामान सबै नक्कली हुँदा रै’छन्, धेरै टिकाउनै हुँदैनन्, पहिले गाउँमा बनाएका भाँडा वर्षौँसम्म टिकाउ हुन्थे ।’ -रासस