म्याग्दी २५ वैशाख : म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर(माइला) सार्की एकापसमा परिचित छैनन् तर, उनीहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरेका छन् । १९ वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन ।
उनको जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उनीहरूले जीवन गुजारी रहेका छन् ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उनीहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानको जस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उनलाई बुढ्यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विकले बताए ।
वनमा निगालो खोजेर चोयाँ निकाल्दै जवानीका रमाइला दिन बिताइसकेका विकले डोका बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको बताए । ‘छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन’ उनले भने ।
अहिले दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको रु तीन सय ५० देखि रु छ सयसम्ममा बिक्री हुन्छ । आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक रु १५ हजारदेखि रु २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो ।
उनीजस्तै ज्यामरुककोटका माइलाले पनि डोको बुनेरै मासिक रु २० हजार भन्दा बढी आम्दानी गर्दै आएको र यसैबाट आफ्ना ६÷६ जना परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आएका छन् । बुढ्यौलीले छोए पनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाको जस्तै देखिन्छ ।
बिहानदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तै हुँदैन । ‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु’ माइलाले भने ।
माइलाको वास्तविक नाम गजबहादुर हो तर उहाँलाई सबैले माइला नै भन्ने गर्दछन् । उनको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।
अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले उनकै घरमै ग्राहक दिनहुँ आउने गरेका छन् ।
माइलाले आफ्नै कमाईबाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराइसक्नु भएको छ । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उनले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ ।
दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताए । एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गरेको स्थानीय समाजसेवी झकबहादुर थापाले बताए ।
‘डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?’ माइलाले भने । ‘आफूले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढाटाढाबाट ग्राहक आउने गरेका छन् ।’
विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको,भकारी,नाम्लोजस्ता सामग्रीहरु बनाउने गर्दछन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उनीहरुको गुनासो थियो । -रासस
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ