समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै : बाल्मिकी


समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै : बाल्मिकी

नेपालगन्ज १० जेठ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै रहेको बताएका छन् ।

‘राष्ट्रिय समता दिवस’ का अवसरमा नेपाली काँग्रेस बाँकेले बुधबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले संविधान र कानूनले बन्देज गरेपनि समाजमा विभेद कायमै रहेको भन्दै जातीय छुवाछुत र विभेदबाट नेपाली समाजले मुक्ति पाउन नसकेको बताए ।

उनले काँग्रेसले संविधानको मर्म अनुसार पार्टी विधानमा व्यवस्था भए बमोजिम आरक्षणको अभ्यास गरिरहेको उल्लेख गरे । बाल्मिकीले दलितको उत्थान र समताका लागि दलित आयोग बनेपनि सोचे अनुरुप काम हुन नसकेको टिप्पणी गरे ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसका नेता कार्यकर्तालाई गाउँगाउँमा छुवाछुत र विभेद विरुद्ध सचेतना र जागरण फैलाउन आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले काँग्रेसले छुवाछुत र विभेद विरुद्ध सशक्त आवाज मुखरित गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए । गौडेलले छुवाछुत सामाजिक रोगको रुपमा रहेको बताए । छुवाछुत अन्त्यको घोषणा भइसके पनि व्यवहारिक कार्यान्वयन नभएको भन्दै उनले सचेतना र जागरणमा जोड दिए ।

उनले काँग्रेस बाँके छुवाछुत अन्त्यको अभियान अन्तरगत सहभोज गर्ने तयारीमा रहेको जानकारी समेत दिए ।

कार्यक्रममा काँग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगन्ज–१२ का वडा सभापति रामु चिडिमार र दलित संघका सल्लाहकार एवम् कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य इश्वरी विकले बोलेका थिए ।

पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

विस २००९ जेठ १० गते जनकपुरमा सम्पन्न नेपाली काँग्रेसको पाँचौं महाधिवेशनबाट जातीय छुवाछूत र विभेद जस्ता सामाजिक अत्याचार तथा विसंगतिको अन्त्य गर्ने संकल्प गरेको दिनको स्मरणमा २०६७ असोज १–५ गते काठमाडौमा सम्पन्न बाह्रौं महाधिवेशनले उक्त दिनलाई ‘राष्ट्रिय समता दिवस’ को रूपमा मनाउने निर्णय गरेको थियो ।