पुलविहीन ललही गाउँ, सर्वसाधरणलाई सास्ती

१७ वटा पक्की पुल निर्माण गरिँदै


पुलविहीन ललही गाउँ, सर्वसाधरणलाई सास्ती

नेपालगन्ज १५ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिका–५ को ललही गाउँको खोलामा वर्षौंदेखि माग गरे पनि पुल नबन्दा सो क्षेत्रका बासिन्दाले आवागमनमा समस्या भागिरहेका छन् ।

ललही गाउँबाट बिनौना र राप्ती नदीतर्फ जाने बाटोमा रहेको खोलामा पुल नहुँदा सबैभन्दा बढी समस्या दाहसंस्कारका लागि शव लिएर राप्ती नदीमा जान समस्या हुने गरेको स्थानीयले जनाएका छन् । वडा नम्बर–५ का वडाध्यक्ष झगरु थारूले यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि खोलामा पुल बनाउन माग गर्दै आए पनि सुनुवाइ हुन नसकेको बताए ।

उनले पक्की पुल नहुँदा बाँसले बनाएको अस्थायी नाम मात्रको पुलबाट आवागमन गर्नुपर्ने बाध्यता रहेको बताए । खोलामा पुल नबन्दा किसानलाई खोलापारि खेतबारीमा जान आउन, गाईबस्तु चराउन जान आउन समस्या हुने गरेको उहाँले बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खोलामा पुल बनाउनुपर्ने माग स्थानीयले गरेको जनाउँदै आफूले त्यसका लागि प्रदेश सभा सदस्यलाई आग्रह गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके क्षेत्र नम्बर–१ बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सो खोलामा पुल निर्माणका लागि जनताको माग पटक पटक आएकाले आफूले निरन्तर गरेको प्रयासस्वरूप सो पुल निर्माण हुने निश्चित भएको बताईन् ।

उनले लुम्बिनी प्रदेश सरकारले त्यहाँ पुल बनाउने निर्णय गरेर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेकाले केही दिनमै पुल निर्माण सुरु गरिने बताईन् ।

१७ वटा पक्की पुल निर्माण गरिँदै

यसैबीच, लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा १७ वटा पक्की पुल निर्माण भइरहेका छ । बहुवर्षीय आयोजनामध्ये तीनवटा सम्पन्न भएका छन् भने नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जनाएको छ ।

पुल सेक्टरअन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय मिटरभन्दा लामो हुनुपर्ने नियम रहेको पुल सेक्टर नेपालगन्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारी बताउँछन् ।

योजना प्रमुख भण्डारीका अनुसार आगामी आर्थिक वर्षदेखि बजेट कमी हुने भएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुने देखिन्छ । यस खालका पुल निर्माण भएपछि पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुन्छ ।

डिजाइन एण्ड विल्डअन्तर्गत रणनीतिक सडकमा पर्ने पुलको निर्माण पुल सेक्टरले गर्दै आएको छ । जस अनुसार सडक विभागले टेण्डर आह्वान गरेपछि छनोटमा पर्ने निर्माण व्यवसायी आफैँले डिजाइन, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया पूरा गरी सडक विभागबाट नौ महिनाभित्र स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछिको जिम्मेवारी पुल सेक्टरको हुने गरेको छ ।

पुल सेक्टरका अनुसार बाँकेको राप्ती नदीस्थित मच्छेबास–धामपुर, कर्णालीको कुहिने र दाङको राप्ती नदीस्थित बेला–बनघुसरी पुलको निर्माण सम्पन्न भएका छन् । पुल सेक्टरले दिएको जानकारी अनुसार बर्दियाको मानखोला, भादामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, कुसुम्बाघाटमा पनि पुल निर्माण भइरहेको छ । कपिलवस्तुमा २, अर्घाखाँचीमा २, दाङमा ३, सल्यानमा २, रुपन्देहीमा २, पश्चिम नवलपरासीमा २ र सुर्खेतमा एक पुल रहेका छन् । पुल सेक्टर नेपालगञ्जको कार्यक्षेत्र नेपालगन्ज रहेपनि कर्णालीका सुर्खेत र सल्यानमा पुराना आयोजना भएका कारण नेपालगन्ज कार्यालयको कार्यक्षेत्रमा परेका हुन् । पुल सेक्टरले नयाँ पुल निर्माणसहित पुराना पुल मर्मतसम्भार र रङ्गरोगनको काम समेत गर्दै आएको छ ।