स्थानीय पालिका मौन बस्दा स्थानीय उद्योग प्रर्बद्धन भएन
नेपालगन्ज २२ जेठ : बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा विगत २५ वर्षदेखी जयमंगलम सिमेन्ट्स उद्योग प्रालि सञ्चालनमा आइरहेको छ । उक्त उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । स्थानीय उद्योगीले नै उक्त उद्योग सञ्चालन गरेका हुन् । गुणस्तरलाई उच्च प्राथमिकता दिएको उद्योगका उत्पादनहरु बाँकेभन्दा बाहिर बढी मात्रामा खपत भइरहेको छ ।
‘नजिकको तिर्थ हेला’ भन्ने नेपाली उखान झै जयमंगलम सिमेन्ट्स उद्योगको उत्पादन बाँके जिल्लाबासीको प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय सरकारले पनि उद्योगको प्रर्बद्धन सम्बन्धी काम गर्न सकेनन् । यसले गर्दा अहिले उद्योगले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन ।
प्रस्तुत छ उद्योग सञ्चालनको अवस्था, चुनौती लगायत विविध विषयमा उद्योगका सञ्चालक सञ्जय अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश :–
जयमंगलम सिमेन्ट्स उद्योग प्रालिको अवस्था अहिले कस्तो छ ?
–उद्योगको अवस्था राम्रै भनौं । उद्योगपति भएको नाताले आफ्नो उद्योगलाई नराम्रो भन्न मिल्दैन । तर, संघर्षरत छ । अहिले हाल सबै सिमेन्ट उद्योगले संघर्ष गरिरहेका छन् । जयमंगलम सिमेन्ट्स उद्योग पनि संघर्षरत नै छ ।
अहिले कुन–कुन प्रकारको सिमेन्ट उत्पादन भइरहेको छ ?
–नेपाल गुणस्तर अनुसार हामीले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिराखेका छौं । ओपिसीमा हामीले ४३ ग्रेट सिमेन्ट निकालिरहेका छौं । ५३ ग्रेटको पनि हामी चाडै निकाल्न गईराखेका छौं । गुणस्तरमा कुनैपनि समस्या हाम्रो सिमेन्टमा छैन ।
दैनिक कति उत्पादन भइरहेको छ ?
–उद्योगको क्षमता अनुसार धेरै उत्पादन हुनुपर्ने हो, तर हाल हामीले ५० प्रतिशत मात्र उत्पादन गरिरहेका छौं ।
के कारणले यस्तो भयो ?
–अहिले विकास निर्माणको कामका लागि अधिकतम बजेट आइरहेको छ । यत्रो विकास कार्यमा कतै हाम्रो सिमेन्टको उपलब्धता हेर्नुभयो ? समस्या कहाँनिर छ भने जहिलेसम्म हाम्रो स्थानीय जनप्रतिनिधि साथीहरुले स्थानीय उद्योगलाई महत्व दिनु हुदैन त्यतिखेर सम्म हाम्रो उद्योग अगाडी बढ्दैन । उद्योगहरुलाई अगाडी बढाउनको लागि स्थानीय जनप्रतिनिधिको धेरै ठुलो हात हुन्छ । सबभन्दा पहिले त स्थानीय जनप्रतिनिधि सबैले निर्णय गर्नुपर्ने हुन्छ, कि हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिएपछि मात्रै सिमेन्ट उद्योग चल्छ, अरु उद्योग पनि आउँछ । अनि बाँके जिल्ला उद्योगमय भएर जान्छ ।
उत्पादन कहाँ–कहाँ बिक्री भइरहेको छ ?
–मेरो उत्पादन नेपालगन्ज बाहेक सबै ठाउँमा प्रयोग भइरहेको छ । पुलहरुमा मेरो उत्पादन प्रयोग भइरहेको छ । मेरो मुख्य एरिया छ, ५, ६ र ७ नम्बर । ५ नम्बरमा अहिले बर्दियाको बबई सिचाइँ आयोजनाको नहर बनिरहेको छ, त्यसमा मेरो उत्पादन प्रयोग भइरहेको छ । उता बझाङ, बाजुरा, डडेलधुरा, डोटी, कर्णालीको जुम्ला सबै ठाउँमा मेरो सिमेन्ट प्रयोग भइराखेको छ ।
सिमेन्ट उद्योग स्थापना भएको २०/२५ वर्ष भईसक्यो । अहिलेसम्म मेरो सिमेन्टको बारेमा तपाईले कहिल्यै गुनासो सुन्नुभयो ? कुनै गुनासो सुन्नु भएन । किनकी हाम्रो मुख्य प्राथमिकता भनेको नै गुणस्तरलाई ध्यान दिने हो । गुणस्तरलाई ध्यान दिने मेरो दुईवटा कारण छ, एउटा स्थानीय उद्योगपति हुँ, जवाफदेहिता हुन्छ । अलिकति पनि कमी भयो भने मलाई पछि उठ्न गाह्रो हुन्छ ।
अरु सिमेन्ट उद्योगको गुनासो आइरहेको हुन्छ, तरपनि तिनै सिमेन्टको प्रयोग भइरहेको हुन्छ । हाम्रो मुख्य विषय भनेको स्थानीय उद्योगलाई अगाडी बढाउनुपर्ने हुन्छ । त्यो उद्योगलाई बढाउने वित्तिकै भविष्यमा अरु उद्योग पनि आउँछ । उद्योग आउने बित्तिकै रोजगारीको सिर्जना हुन्छ । आज नेपालगन्जको मार्केटको हालत हेर्नुस् त । नेपालगन्जको मार्केट सुक्दै गइराखेको छ ।
स्थानीय उद्योगलाई स्थानीय सरकारले कत्तिको स्थान दिएका छन् ?
–स्थानीय तहका जनप्रतिनिधि साथीहरुले कहिपनि आवाज उठाउनु हुदैन । चुनाव हुने समयमा चन्दा उठाउने समयमा मात्र हामी कहाँ आएर भन्नु हुन्छ कि हामी स्थानीय उत्पादनलाई महत्व दिन्छौं । तर, कुर्सीमा पुगेपछि बिर्सनु हुन्छ । मलाई त के लाग्छ भने मान्छेले चन्दाको लागि मात्रै प्रयोग गरेको रहेछ । त्यस बाहेक कहि पनि प्रयोग भएकै छैन ।
बाँकेको एउटा पुरानो उद्योग हो, जयमंगलम सिमेन्ट्स प्रालि । यि सरकारले के गरिदिए भने उद्योग फस्टाउँछ ?
–सबै स्थानीय तहले सोच्नुपर्ने हुन्छ, स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिनुपर्यो । जुन उत्पादन बाँकेमा छैन, त्यो मात्रै बाहिरबाट ल्याउन पाओस् । चाहे सिमेन्ट होस्, चाहे छड होस् । चाहे प्लाईउड होस् । जुनसुकै पनि प्रयोग हुने सामान छ, स्थानीयलाई प्राथमिकता दिनुपर्छ । यसले गर्दा स्थानीय तहका मान्छेले रोजगारी पाउँछ । स्थानीय तहले स्थानीय उत्पादनलाई महत्व दिने बित्तिकै बाँकेका सबै ब्यवसाय बढेर जान्छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ