‘स्थानीय उद्योगलाई चन्दादाताका रुपमा प्रयोग गरियो’

स्थानीय पालिका मौन बस्दा स्थानीय उद्योग प्रर्बद्धन भएन


‘स्थानीय उद्योगलाई चन्दादाताका रुपमा प्रयोग गरियो’

नेपालगन्ज २२ जेठ : बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा विगत २५ वर्षदेखी जयमंगलम सिमेन्ट्स उद्योग प्रालि सञ्चालनमा आइरहेको छ । उक्त उद्योगले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । स्थानीय उद्योगीले नै उक्त उद्योग सञ्चालन गरेका हुन् । गुणस्तरलाई उच्च प्राथमिकता दिएको उद्योगका उत्पादनहरु बाँकेभन्दा बाहिर बढी मात्रामा खपत भइरहेको छ ।

‘नजिकको तिर्थ हेला’ भन्ने नेपाली उखान झै जयमंगलम सिमेन्ट्स उद्योगको उत्पादन बाँके जिल्लाबासीको प्राथमिकतामा पर्न सकेको छैन । स्थानीय सरकारले पनि उद्योगको प्रर्बद्धन सम्बन्धी काम गर्न सकेनन् । यसले गर्दा अहिले उद्योगले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न सकेको छैन ।

प्रस्तुत छ उद्योग सञ्चालनको अवस्था, चुनौती लगायत विविध विषयमा उद्योगका सञ्चालक सञ्जय अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश :–

जयमंगलम सिमेन्ट्स उद्योग प्रालिको अवस्था अहिले कस्तो छ ?

Kids Festival 2022
kanti aarogya hospital
add

–उद्योगको अवस्था राम्रै भनौं । उद्योगपति भएको नाताले आफ्नो उद्योगलाई नराम्रो भन्न मिल्दैन । तर, संघर्षरत छ । अहिले हाल सबै सिमेन्ट उद्योगले संघर्ष गरिरहेका छन् । जयमंगलम सिमेन्ट्स उद्योग पनि संघर्षरत नै छ ।

अहिले कुन–कुन प्रकारको सिमेन्ट उत्पादन भइरहेको छ ?

–नेपाल गुणस्तर अनुसार हामीले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिराखेका छौं । ओपिसीमा हामीले ४३ ग्रेट सिमेन्ट निकालिरहेका छौं । ५३ ग्रेटको पनि हामी चाडै निकाल्न गईराखेका छौं । गुणस्तरमा कुनैपनि समस्या हाम्रो सिमेन्टमा छैन ।

दैनिक कति उत्पादन भइरहेको छ ?

–उद्योगको क्षमता अनुसार धेरै उत्पादन हुनुपर्ने हो, तर हाल हामीले ५० प्रतिशत मात्र उत्पादन गरिरहेका छौं ।

के कारणले यस्तो भयो ?

–अहिले विकास निर्माणको कामका लागि अधिकतम बजेट आइरहेको छ । यत्रो विकास कार्यमा कतै हाम्रो सिमेन्टको उपलब्धता हेर्नुभयो ? समस्या कहाँनिर छ भने जहिलेसम्म हाम्रो स्थानीय जनप्रतिनिधि साथीहरुले स्थानीय उद्योगलाई महत्व दिनु हुदैन त्यतिखेर सम्म हाम्रो उद्योग अगाडी बढ्दैन । उद्योगहरुलाई अगाडी बढाउनको लागि स्थानीय जनप्रतिनिधिको धेरै ठुलो हात हुन्छ । सबभन्दा पहिले त स्थानीय जनप्रतिनिधि सबैले निर्णय गर्नुपर्ने हुन्छ, कि हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिएपछि मात्रै सिमेन्ट उद्योग चल्छ, अरु उद्योग पनि आउँछ । अनि बाँके जिल्ला उद्योगमय भएर जान्छ ।

उत्पादन कहाँ–कहाँ बिक्री भइरहेको छ ?

–मेरो उत्पादन नेपालगन्ज बाहेक सबै ठाउँमा प्रयोग भइरहेको छ । पुलहरुमा मेरो उत्पादन प्रयोग भइरहेको छ । मेरो मुख्य एरिया छ, ५, ६ र ७ नम्बर । ५ नम्बरमा अहिले बर्दियाको बबई सिचाइँ आयोजनाको नहर बनिरहेको छ, त्यसमा मेरो उत्पादन प्रयोग भइरहेको छ । उता बझाङ, बाजुरा, डडेलधुरा, डोटी, कर्णालीको जुम्ला सबै ठाउँमा मेरो सिमेन्ट प्रयोग भइराखेको छ ।

सिमेन्ट उद्योग स्थापना भएको २०/२५ वर्ष भईसक्यो । अहिलेसम्म मेरो सिमेन्टको बारेमा तपाईले कहिल्यै गुनासो सुन्नुभयो ? कुनै गुनासो सुन्नु भएन । किनकी हाम्रो मुख्य प्राथमिकता भनेको नै गुणस्तरलाई ध्यान दिने हो । गुणस्तरलाई ध्यान दिने मेरो दुईवटा कारण छ, एउटा स्थानीय उद्योगपति हुँ, जवाफदेहिता हुन्छ । अलिकति पनि कमी भयो भने मलाई पछि उठ्न गाह्रो हुन्छ ।

अरु सिमेन्ट उद्योगको गुनासो आइरहेको हुन्छ, तरपनि तिनै सिमेन्टको प्रयोग भइरहेको हुन्छ । हाम्रो मुख्य विषय भनेको स्थानीय उद्योगलाई अगाडी बढाउनुपर्ने हुन्छ । त्यो उद्योगलाई बढाउने वित्तिकै भविष्यमा अरु उद्योग पनि आउँछ । उद्योग आउने बित्तिकै रोजगारीको सिर्जना हुन्छ । आज नेपालगन्जको मार्केटको हालत हेर्नुस् त । नेपालगन्जको मार्केट सुक्दै गइराखेको छ ।

स्थानीय उद्योगलाई स्थानीय सरकारले कत्तिको स्थान दिएका छन् ?

–स्थानीय तहका जनप्रतिनिधि साथीहरुले कहिपनि आवाज उठाउनु हुदैन । चुनाव हुने समयमा चन्दा उठाउने समयमा मात्र हामी कहाँ आएर भन्नु हुन्छ कि हामी स्थानीय उत्पादनलाई महत्व दिन्छौं । तर, कुर्सीमा पुगेपछि बिर्सनु हुन्छ । मलाई त के लाग्छ भने मान्छेले चन्दाको लागि मात्रै प्रयोग गरेको रहेछ । त्यस बाहेक कहि पनि प्रयोग भएकै छैन ।

बाँकेको एउटा पुरानो उद्योग हो, जयमंगलम सिमेन्ट्स प्रालि । यि सरकारले के गरिदिए भने उद्योग फस्टाउँछ ?

–सबै स्थानीय तहले सोच्नुपर्ने हुन्छ, स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिनुपर्यो । जुन उत्पादन बाँकेमा छैन, त्यो मात्रै बाहिरबाट ल्याउन पाओस् । चाहे सिमेन्ट होस्, चाहे छड होस् । चाहे प्लाईउड होस् । जुनसुकै पनि प्रयोग हुने सामान छ, स्थानीयलाई प्राथमिकता दिनुपर्छ । यसले गर्दा स्थानीय तहका मान्छेले रोजगारी पाउँछ । स्थानीय तहले स्थानीय उत्पादनलाई महत्व दिने बित्तिकै बाँकेका सबै ब्यवसाय बढेर जान्छ ।