नयाँ वर्षदेखि घट्यो बैंकको ब्याज 


सेतोखरी सेतोखरी   शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्षदेखि घट्यो बैंकको ब्याज 

नेपालगन्ज ३० चैत्र : नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर घटाएका छन् । वैशाख १ गतेदेखि लागु हुने गरि १३ वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् ।

२० वाणिज्य बैंकहरूमध्ये पाँचवटाले चैतकै दरमा निक्षेपमा ब्याज दिने भएका छन् । दुई वाणिज्य बैंकले ब्याजदर बढाए पनि औसतमा भने वाणिज्य बैंकहरूको ब्याजदर वैशाखमा ०.१८३ प्रतिशत विन्दुले घटेको छ । 
बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैत्रको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

चैत्रमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ७.२५४ प्रतिशत रहेकोमा आगामी वैशाखमा औसत ब्याजदर ७.०७१ प्रतिशत हुने भएको छ । चैत्र महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका छन् ।

त्यस्तै एभरेस्ट र एनएमबीले चैतको तुलनामा बैशाखमा बढाएका छन् । बाँकी १३ बैंक नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ, प्राइम कमर्सियल, कुमारी, सानिमा, एसबीआई, सिटिजन्स र एनआईसी एसियाले ब्याजदर घटाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

चैत्र महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसियाले ८.५४ प्रतिशत दिएको थियो भने बैशाख महिनामा सबैभन्दा धेरै एनएमबीले ७.९७ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै ब्याजदर घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.९७ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

त्यसैगरी वाणिज्य बैंकहरूले संस्थागत निक्षेपमा भने साधारण निक्षेपमा दिने ब्याजभन्दा एक प्रतिशत विन्दुभन्दा कम ब्याज दिँदै आएका छन् । त्यस्तै रेमिट्यान्स खातामा भने बैंकहरूले साधारण निक्षेपका एक प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।