बाँकेका सामुदायिक वनमा डढेलो, वन्यजन्तु सङ्कटमा


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १०, २०८१
बाँकेका सामुदायिक वनमा डढेलो, वन्यजन्तु सङ्कटमा

नेपालगन्ज १० वैशाख : लामो समय वर्षा नहुँदा देशका विभिन्न क्षेत्रमा डढेलो लागेको छ । डढेलोबाट सबैभन्दा धेरै पश्चिम तराईका जिल्ला प्रभावित छन् । कम जोखिम मानिएको हिमाली क्षेत्रमा पनि डढेलो लागेको छ ।

डढेलोको ‘पीक सिजन’ वैशाखको दोस्रो सातादेखि शुरू हुन्छ । देशभरी डढेलोको घटना बढिरहँदा बाँके अछुतो हुन सकेन । बाँकेका ६३ वटा सामुदायिक वनमा डढेलो लागेकोछ । डढेलोका कारण ती वनमा ठुलो धनजनको क्षति नभए पनि वन्यजन्तु सङ्कटमा परेकाछन् ।

खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । 

शमशेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीका अनुसार अहिलेसम्म जिल्लाको ६३ वटा सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलो नियन्त्रणमा लिने कार्य भइरहेको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताए । डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठजना परिचालन गरेको बताए । आगलागी नियन्त्रणमा लिन दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको उनको भनाईछ ।

शमशेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी–२ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो । 

‘निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ’, सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका वन्यजन्तु विस्थापित भएका छन् ।

डढेलोका कारण लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ । यस्तै, डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि वन्यजन्तु बस्ती क्षेत्रमा पुग्दा मानव–वन्यजन्तुवीच द्वन्द्व बढ्न थालेको छ । वन्यजन्तु मर्ने तथा मान्छेको पनि ज्यान जाने घटना भइरहेका छन् । 

पछिल्ला वर्षहरूमा सङ्कटापन्न र जोखिम–उन्मुख वनस्पति रहेको हिमाली क्षेत्रमा समेत डढेलोको प्रकोप बढेको छ । डढेलोबाट धूपी, भुइँचिमालो, भोजपत्र, चाँप, यार्सागुम्बा लगायत जडीबुटी जलेको विज्ञ बताउँछन् ।

विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण, १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ । ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन् ।

यस्तै, जलवायुमा आएको परिवर्तनले वर्षाको ढाँचा परिवर्तन भइरहेको छ । खडेरी बढिरहेको छ । जसका कारण पनि डढेलोका घटना बढेका हुन् ।

डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत र प्रदेशका वन मन्त्रालय अन्तर्गतका वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र÷तालिम केन्द्रहरूसँग समन्वय गरेर नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, स्रोतसाधन अभावमा प्रभावकारी हुन सकेको छैन । 

एकातिर आवश्यक सामग्री अभावमा वन हेरालु, सामुदायिक वनका उपभोक्ता र सुरक्षाकर्मीले स्याउलाको भरमा डढेलो नियन्त्रण प्रयास गर्ने गरेका छन्, अर्कातिर सरकारले हेलिकोप्टर प्रयोग गरेर डढेलो नियन्त्रण प्रयास गर्दै आएको छ ।

वनजङ्गलमा डढेलो लगाउनेलाई कारबाही हुने कानूनी व्यवस्था छ । वन ऐन, २०७६ मा राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ । तर, हालसम्म कति कारबाहीमा परे भन्ने सरकारी तथ्यांक नै छैन ।