नेपालगन्ज ३० वैशाख : अव्यवस्थित ठेला व्यवसायलाई व्यवस्थित गर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिकाले भेरी प्राविधिक शिक्षालय जाने सडक छेउ लाखौं खर्चेर ३६ वटा सटर निर्माण गरेकोछ । ठेला व्यवसायलाई व्यवस्थित गर्ने भन्दै निर्माण गरिएका उक्त सटरहरु वर्षदिन पुग्नै लाग्दा अधिकांश खाली छन् । भने, सडकमा ठेला ब्यापार रोकिएको छैन ।
नेपालगन्ज मेडिकल कलेज, वीपी चोकलगायत आसपासका ठेला व्यवसायीलाई सुरक्षित तथा व्यवस्थितरुपमा व्यवस्थापन गर्न भन्दै आर्थिक वर्ष २०७९/८० मा उक्त सटर निर्माण गरिएको हो ।
उपमहानगरपालिकाको उदासिनताका कारण यतिबेला उक्त सटरहरु प्रयोगमा आउन सकेका छैनन् । एकाद ठेला ब्यापारीले सटर लिएपनि अधिकाशं ठेला ब्यापारीहरुले सटर भाडामा लिएर व्यापार गर्नुभन्दा सडक छेउ, पेटी र फुटपाथमा व्यापार गर्दा बढी विक्री हुने भन्दै भाडा नलिएका हुन् ।
सटर भडामा लिँदा भाडाको झन्झट, ब्यापारका दृष्टिले अपाएक स्थानमा सटर भएको र सर्वसाधरण समेत उक्त क्षेत्रमा आउन आनाकानी गर्ने हुँदा भाडामा नलिएको ठेला ब्यापारीको भनाईछ । जसका कारण ठेला व्यवस्थापनमा चुनौती देखिएकोछ ।
आर्थिक वर्ष २०७७/७८ को अन्तिममा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको अनुदानबाट ३६ वटा सटर निर्माण गरिएको हो । राजमार्गकै छेउमा विहान बेलुका लाग्ने भीडले सडक सुरक्षाको जोखिम बढाएको छ नै यसले सहरको सौन्दर्यलाई समेत कुरुप बनाएकोछ ।
अधिकांश ठेला व्यापारीले सटरभन्दा ठेलामा नै राम्रो व्यापार हुने गरेको बताउँछन् । ठेलामा गरिरहेको व्यापार सटरमा राख्दा ग्राहकहरु झुक्किने र किनबेच गर्न समस्या हुने गरेको उनीहरुको तर्क छ ।
ठेलामा हुने व्यापार सटरमा हुँदैन त्यसैमा सटर भाडा तिर्नुपर्ने हुँदा आम्दानी भन्दा घाटा ब्यहोर्नु परेको उनीहरुको भनाईछ ।
सडकमा ठेला लगाउँदा ग्राहकहरु गाडीबाटै सामान किनेर लैजान्छन् । तर, सटरसम्म खोज्दै कोहि आउँदैनन् । त्यसैले ठेलामै ब्यापार गर्छौं ।’ सलमान शेषले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १२ रहेको उक्त सटरहरु प्रयोगमा आउन सकेको छैन । ‘ठेला ब्यापारीले बाटोमा ठेला डुलाएर व्यापार गरिरहेका हुन्छन् । उनीहरु भाडा तिर्न मान्दैनन्, जसकारण पनि ती सटरहरु उपयोगमा आउन नसकेको हो’ वडा अध्यक्ष तरुणकुमार बज्राचार्य बताउँछन् ।
वडाअध्यक्ष बज्रचार्यका अनुसार सटर निर्माण भएदेखि सञ्चालनको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिको हो । वार्षिक ३ लाखका दरले जिम्मा दिएको वडा अध्यक्ष बज्राचार्यले बताए । ठेला ब्यवसायलाई व्यवस्थित गर्न सरकारमात्रैले नसक्ने भन्दै वडाअध्यक्ष बज्रचार्य भन्छन्–‘यसमा नागरिकहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।’