विपद् तथा भूकम्पीय पूर्वतयारीका लागि नेपालगन्जका परम्परागत इनार संरक्षण गरिदैँ


सेतोखरी सेतोखरी   मंगलबार, जेठ ८, २०८१
विपद् तथा भूकम्पीय पूर्वतयारीका लागि नेपालगन्जका परम्परागत इनार संरक्षण गरिदैँ

नेपालगन्ज ८ जेठ : नेपालगन्जका परम्परागत कुवा (ईनार) संरक्षण थालिएकोछ । नेपालगन्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत कुवा (इनार) संरक्षण गर्न थालिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ र वडा नम्बर–७ मा चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगलागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि कुवा संरक्षणमा जोड दिइएको हो । यस अभियानमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले प्राविधिक सहयोग गर्दै आएको छ ।

नेपालगन्ज वडा नम्बर–७ मा पुराना कुवा (इनार) लाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

‘वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला पानी प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ’, ज्ञवालीले भने,‘केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि एक सय ८३ स्वयमसेवक परिचालन गरिनुका साथै वडा नम्बर– ३ र ७ मा जनचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको ज्ञवालीले बताए ।

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए । प्राचीनकालदेखि खानेपानीको विकल्प बनेका कुवाको महत्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको श्रेष्ठले जानकारी दिए ।

‘प्रयोगमा आउन छाडेपछि पुरिएका कुवाको पुनःनिर्माण गरेका छौँ, विगतमा पुरिएका दुई कुवालाई सरसफाइ र मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसकेका छौँ’, वडाध्यक्ष श्रेष्ठले भने,‘स्थानीय टोलवासीको सहयोग र समन्वयमा अन्य पाँच कुवाको मर्मतसम्भार गर्ने योजना छ ।’

पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । कुवालाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए ।

वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । स्थानीय चन्द्रकला गुरुङले कुवाको पानी धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले विवाह, व्रतबन्ध, पूजाआजामा प्रयोग गर्दा उत्तम हुने धार्मिक विश्वास रहिआएको बताइन् ।

वडा नम्बर–७ कार्यालयले गगनगञ्ज, शिव मन्दिर र मदन—आश्रितमार्ग टोलमा रहेका पुराना कुवाको संरक्षण गर्न लागेको छ । यो कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि दुई वर्षदेखि सचेतना प्रवद्र्धन गरिरहेको छ ।