भेरी अस्पतालको स्वास्थ्य बीमा सेवामा खोटैखोट, सरोकारवालाले दिए सुधारको आवश्यकतामा जोड


सेतोखरी सेतोखरी   बिहीबार, जेठ १०, २०८१
भेरी अस्पतालको स्वास्थ्य बीमा सेवामा खोटैखोट, सरोकारवालाले दिए सुधारको आवश्यकतामा जोड

नेपालगन्ज १० जेठ : स्वास्थ्य बीमा गराएका बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले बीमा गराएका बिरामीलाई दिने उपचार सेवाबारे अनुगमन गरिएको छ । 

स्वास्थ्य बीमा गराएर सो अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका धेरै बिरामीहरुले अस्पतालको सेवा प्रवाहबारे विभिन्न गुनासा गरेका छन् । अनुगमनको क्रममा भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पतालभित्रै रहेका विभिन्न परीक्षणका लागि बाहिर पठाउने गरिएको, निःशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् । 

स्थानीय तह स्वास्थ्य बीमा संयोजन समितिका प्रतिनिधि, जिल्लास्थित स्वास्थ्य बीमा वोर्डका प्रतिनिधि, बि ग्रुपका अध्यक्ष लगायतका कर्मचारी, उपमहानगर स्वास्थ्य शाखाका प्रतिनिधि, एमडिएम फ्रान्सका प्रतिनिधी र पत्रकारको सहभागितामा सो अनुगमन गरिएको हो । 

पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्ज, खजुरा र डुडुवाका ७२९ सरसफाईकर्मी र ३०२ जना किसान गरेर एक हजार ३१ जनाको स्वास्थ्य बीमा गराइएकोले सेवा प्रवाह बारे अनुगमन गरिएको हो ।

Care City Hospital Npj
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

सोक्रममा लक्षित समुदायमा स्वास्थ्य बीमा सेवाको पहँुच तथा उपयोगिताका सम्बन्धमा जानकारी लिन, भेरी अस्पतालको अनुगमन र समिक्षा गरिएको छ । अनुगमन टोलीले अस्पताल पुगेर बीमा काउण्टर, निःशुल्क औषधी वितरण काउण्टर, एक्सरे गर्ने कोठा, ओपिडी लगायतका सेवाहरुको निरिक्षण गरेर सो बारेमा अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहसँग पनि छलफल गरेको थियो । 

अनुगमनका क्रममा अस्पतालमा पाईएको सेवा सुविधाको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा अधिकांश सहभागिले स्वास्थ्य बीमाको सेवा सुविधामा धेरै सुधारको आवश्यकता रहेको धारणा राखेका थिए । सबै सहभागिले यस्तो अनुगमन पटकपटक गर्नुपर्ने आवश्यकता औंल्याउँदै अनुगमनको निरन्तरता र अनुगमनबाट प्राप्त सुझावलाई लिखित रुपमै भेरी अस्पतालमा पठाउनुपर्ने बताएका थिए ।

राष्ट्रिय बिमा कार्यक्रमप्रति नागरिकको भरोसा र विश्वास बढ्दै गएकाले अस्पतालमा बीमा गराएका बिरामीको अत्यधिक चाप रहेपनि सेवा प्रवाहमा धेरै कमी कमजोरी रहेकोले सुधारको आवश्यकतामा जोड दिइएको छ ।