‘जात मिल्दैन’ भनेपछि प्रेममा हारेकी सिपाही करिश्मा, प्रहरी अधिकृत बनाउने बुवाको सपनासँगै ढलिन् !


सेतोखरी सेतोखरी   बिहीबार, असार २०, २०८१
‘जात मिल्दैन’ भनेपछि प्रेममा हारेकी सिपाही करिश्मा, प्रहरी अधिकृत बनाउने बुवाको सपनासँगै ढलिन् !

नेपालगन्ज २० असार : ‘आजबाट मैले तिमीलाई कहिल्यै सताउने छैन । सधैँ खुसी हुनु तिमी । प्रेमको युद्धमा तिमीले जित्यौ, मैलेँ हारेँ । गुड बाई,’ करिश्माले पुस्करलाई अन्तिम मेसेज पठाइन् ।

जेठ ३१ को दिउँसो २ बजे । प्रहरी जवान करिश्मा सुनार निलो सर्ट र कालो पाइन्टमा थिइन्, अफिसमै । जिल्ला प्रहरी कार्यालय, सिराहाको महिला सेलमा ड्यूटी थियो ।

आँखाबाट आँसुका धारा बगाउँदै हातको मोबाइल खल्तीमा हालिन् । कार्यकक्षबाट आवासतर्फ लागिन् । एकैछिनमा त्यहाँबाट निस्किइन्, बेचैन ढङ्गका साथ । एक हातमा कपडा जस्तो केही कुरा थियो, जुन गुजुल्टो पारेर मुठ्ठीमा बोकेकी थिइन् । अर्को हातले आँखा मिच्दै थिइन्, सायद लाग्यो होला आँसु अरूले नदेखून् ।
‘के भयो करू ?’
ढोकैमा जम्काभेट भएकी एक जना सहकर्मीले सोधिन् ।
‘अब उसलाई थाहा हुनेछ, म कति धेरै माया गर्थेँ भनेर । पछुताउनेछ, मलाई धोका दिएकोमा,’ करिश्मा फत्फताइन् ।

सायद उनले त्यो जवाफ साथीलाई दिएकी थिइनन्, आफैँसँग एक्लै कुरा गर्दै थिइन् । आफूप्रतिको सहकर्मीको चिन्तालाई अनदेखा गर्दै चुपचाप अघि बढिन् करिश्मा । सायद त्योभन्दा ठूलो तनाव उनलाई आफ्नै मनभित्रको अन्तरद्वन्द्वले दिएको थियो ।
उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा भवनको माथिल्लो तला चढिन् । शौचालयभित्र छिरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

०००

सायद, करिश्माका आँखाबाट आँसुका धारा बग्दै थिए होलान् । मुटु पोलिरहेको थियो होला । हातमा गुजुल्टो पारेर लुकाएर लगेको सल थियो, बुवाले दशैँमा किनिदिएको; बाथरूममा केहीबेर नियहालिरहिन् होली ।
त्यो त्यही सल थियो, जुन बुवाले दशैंमा टीका लगाइदिएर ‘प्रहरी अधिकृत बन्नु’ भन्दै आशीर्वादसँगै दिएका थिए । सायद करिश्माले सललाई ओठमा लगेर चुमिन् होला । बुवाले टीका लगाइदिएको, आशीर्वाद दिएको झल्झली आँखामा नाच्न थाल्यो होला । असह्य भयो, त्यसपछि करिश्मा बुवाले दिएको सल र उनका सपनाहरूसँगै ढलिन् ।

शौचालय छिरेकी धेरै बेरसम्म करिश्मा निस्किएनन् । ढोका खुलेन । निकै बेरसम्म शौचालयको ढोका भित्रबाट बन्द भएपछि एकजना प्रहरीले पछाडि भेन्टिलेटरबाट भित्र चिहाए । धाराको डन्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा करिश्मालाई देखियो । नजिक भएका प्रहरी कर्मचारी भेला भएर हतार–हतार ढोका फुटाए ।

जोडले कस्सिएको सलको पासो काटेर भुँइमा राखियो । तर, सास थिएन । उनको त्यो अकल्पनीय हालत देखेर सहकर्मीका आँखा अगाडि अन्धकार छायो ।
०००

बाँके खजुरा गाउँपालिका ४ की २५ वर्षीया करिश्मा चार वर्षअघि प्रहरी सेवामा भर्ती भएकी थिइन् । उनको दरबन्दी थियो, त्यहीँ घटनास्थल सिरहा प्रहरी कार्यालय । उनका बुवा वेदबहादुर पनि भूतपूर्व प्रहरी हुन् ।

प्रहरी सहायक निरीक्षक (असई) बाट अवकाश पाएका बुवाको चाहना छोरीलाई पनि प्रहरी अधिकृत बनाउने थियो ।

Siraha-____police___-2048x782-1720103139.jpg
जिल्ला प्रहरी कार्यालय सिराहा र मृतक जवान करिश्मा सुनार

छोरीलाई सुरुमा प्रहरी जवानबाट प्रहरी पेशामा प्रवेश गराएका थिए । करिश्माको स्नातक तहको पढाइ पूरा भइसकेको थिएन । केही परीक्षा बाँकी थियो ।
अधिकृत बन्ने सपना पूरा गर्न प्रहरीमा आन्तरिकतर्फबाट असईको परीक्षामा भिड्न तयारी गर्दै थिइन् । जुन उनको बुवाको पहिल्यैदेखिको सपना थियो ।

मध्यवर्गीय परिवारमा जन्मिएकी करिश्मालाई प्रहरी अधिकृत बनाउन बुवाले सानैदेखि हरेक सपना पूरा गर्दै आएका थिए । आमा गृहिणी थिइन् । दाजु र दिदी घरायसी काम गर्थे । भाउजू नर्स थिइन् । भाउजूको दरबन्दी जुम्लामा थियो ।

उनकी भदैनी (दाइकी छोरी) सीताकुमारी विकका अनुसार करिश्मा असईमा लड्ने तयारीमा थिइन् । उनले भनिन्, “उनको बुवाको सपना करिश्मालाई प्रहरीको अधिकृत बनाउने थियो । मध्यमवर्गीय परिवारमा भएर पनि उनको सबै इच्छा पूरा गरिरहेका थिए ।”

करिश्मालाई पनि बुवाको सपना पूरा गर्ने र समाजमा केही गर्ने इच्छा थियो ।

वडाध्यक्ष टेकबहादुर रोक क्षेत्री भन्छन्, “दलित समुदायलाई समाजमा अझै कमजोर सोचिन्छ । त्यो मानसिकता तोड्नको लागि उनी मेहनत गरिरहेकी थिइन् । उदाहरणीय बन्ने लक्ष्य रहेको सुनाउँथिन् । तर, यसरी ज्यान नै फाल्न बाध्य हुन्थिन् भन्ने लागेकै थिएन ।”

भर्ती हुँदा भेट, जात–बहानाले बिछोड !
चार वर्षअघि प्रहरीमा भर्ती हुन जान जाँदा करिश्मासँग भेट भयो, बाँकेकै बैजनाथ गाउँपालिका–२ का पुष्कर थापा मगरसँग । उनी पनि प्रहरी जवानमा भर्ती हुन आएका थिए । दुवै जनाबीच फोन नम्बर र सामाजिक सञ्जालका आइडी साटासाट भए । निरन्तर कुरा हुन थाल्यो । बिस्तारै नजिकिए ।

दुवै जनाको दरबन्दी फरक–फरक ठाउँमा प¥यो । करिश्मा पुगिन्, सिरहा अनि पुष्कर दैलेख । उनीहरूलाई जान्ने÷बुझ्नेहरूका अनुसार दुवैजना भौतिक रूपमा टाढा भए पनि प्रेम भने प्रगाढ बन्दै थियो । पछिल्लो समय पुष्कर करिश्मासँग टाढा हुन खोज्दै थिए ।

उनी थिए मगर, करिश्मा सुनार । समाजमा कतिपयले अझै मानिरहेको जात व्यवस्थालाई देखाउँदै पुष्करले बिहे हुन नसक्ने बहाना बनाइरहेका थिए ।

उनको बहानालाई करिश्माले पत्याएकी थिइन् । मानिरहेकी पनि थिइनन् । त्यही बहानामा उनीहरू दुईबीच मनमुटाव बढ्दै गयो । पछि पुष्करले करिश्मालाई धम्काउन थाले ।

करिश्माकी भदैनी सीताकुमारी भन्छिन्, “केटाले जातको कुरा झिकेर विवाद गरेछन् । ऊ थापामगर थियो, हामी कथित दलित थियौँ । यही विषयबाट दुईबीच झगडा सुरू भएको देखिन्छ ।”

Sirah_police_bigepti-1720103212.jpg
पुष्कर थापामगर पक्राउपछि सिरहा प्रहरीले जारी गरेको वक्तव्य ।

त्यही आवेगमा उनले ज्यान फालिन् । जिल्ला प्रहरी कार्यालय, सिरहाका एक अधिकारीका अनुसार मृतक करिश्माको मोबाइलमा आदानप्रदान भएका मेसेजमा धम्की दिइएको पाइएको छ ।

पुष्करले मानसिक तनाव दिने खालमा मेसेज पठाएको भेटिएको बताइएको छ ।

सोही आधारमा उनी पक्राउ परेका छन् । पुष्करमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रेमीकै लागि हजार सपनाको तिलाञ्जलि
करिश्मा आफू मात्र मरिनन् । उनका हरेक सपना पूरा गर्न आफ्नो हजार सपना तिलाञ्जलि दिने बुवाको सपना पनि मारिन् । प्रेमको युद्धमै हारेकी करिश्माले बुवाको आफूलाई ‘प्रहरी अधिकृत’ बनाउने सपना पूरा गर्न सकिन् । अहिले बुवा वेदबहादुर छोरी करिश्माको काजक्रियामा छन् ।

KArshma-sunar-_____-1720103262.jpg
मृतक जवान करिश्मा सुनार ।

मुर्छित हुँदै वेदबहादुर भन्छन्, ‘छोरी टाढा हुँदा पनि बाटोमा कतै प्रहरी देखेमा छोरीको याद आउँथ्यो । मोबाइलको वाल पेपरमै रहेको छोरीको फोटो हेर्थेँ । अहिले पनि हरेक पल छोरीको सम्झना दिलाउने त्यही तस्वीरले पिरोल्छ ।’

प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । युद्धको मैदानमा खटिने प्रहरी करिश्माले प्रेममा हार मान्दै जीवन समाप्त पारिन् ।

बुवा वेदबहादुर भन्छन्, ‘हामीले जति उसलाई कसैले माया गरेको थिएन । हामीले आफ्ना धेरै इच्छालाई मारेर उनलाई माया गरेका थियौँ । आज हाम्रो मायालाई बिर्सिएर ऊ अरू कसैको प्रेममा आफूलाई मारेर गइ ।’ -नेपालभ्यूजबाट