नेपाली युवतीको चीनमा तस्करी


सुवास भट्ट सुवास भट्ट   बुधबार, मंसिर २६, २०८१
नेपाली युवतीको चीनमा तस्करी

सर्लाहीकी स्मृति (३३ वर्षीया) ठमेलको एक होटेलमा काम गर्थिन्। एक दिन उनीसँग भेटिइन् मनमाया घले। निरन्तर गरिबीमा जीवन बिताइरहेकी स्मृतिलाई मनमायाले “चिनियाँ केटासँग बिहे गरेर जाँदा दुःख सबै मेटिने, रानी भएर बस्न पाइने” भन्दै लोभ देखाइन्। जन्मेदेखि विपन्नता मात्रै देखेकी स्मृति पनि राजी भइन्। नेपालमै रहेका चिनियाँ केटाले स्मृतिका परिवारलाई भेटे। झटपट विवाह पनि भयो। तर, स्मृतिलाई न चिनियाँ भाषा बोल्न आउँथ्यो, न त केटालाई नजिकबाट चिनेकी थिइन्।

१० कक्षा पास स्मृतिले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेर स्थानीय तहबाट विवाह दर्ताको प्रमाणपत्र लिइन्। भेटेको तीन सातामै उनीहरू चीन उडे। मनमायाले स्मृतिको परिवारलाई केटाका तर्फबाट ७० हजार रुपैयाँ थमाइन्। चीन गएको केही सातामै स्मृतिको माइती र आफन्तसँग सम्पर्क पातलिँदै गयो। एक वर्षपछि उनले छोरा पाइन्। उनका अनुसार त्यसपछि श्रीमान्ले माइतीसँग कुरा गर्न नदिने, कुट्ने गर्न थाले।

स्मृतिका चिनिया पति र उनीहरुका मध्यस्थकर्ता महिला ।

Kanti Aarogya Hospital Nepalgunj

स्मृतिका छोरा अहिले पाँच वर्ष पुगे। निरन्तरको यातनाबाट गलेकी उनलाई चिनियाँ केटाले बेग्लै ठाउँमा राखेका छन्। “मलाई घरबाट निकालेको छ। श्रीमान् अलग्गै बस्छ, मन लागे आउँछ, नत्र आउँदैन,” छोटो विच्याट कुराकानीमा स्मृतिले भनिन्, “यहाँ आयआर्जनका लागि काम गर्न पाइँदैन। श्रीमान्ले खान दिए पाइन्छ, नभए पाइँदैन। म जसरी नै १५–१६ वर्षअघि आएकाले पनि नागरिकता पाएका छैनन्। उनीहरूलाई बच्चा पाइदिए पुग्ने रहेछ, आमाको वास्तै गर्दैनन्। मेरोजस्तै समस्या भएका हामी १५–२० जना छौँ। जसरी पनि नेपाल फर्किन चाहन्छौँ। हामी फस्यौँ, हामीलाई फर्काउन सरकारले पहल गरोस् !”

स्मृतिको माइती पक्षले मानव बेचबिखन अनुसन्धान ब्युरो, मानव अधिकार आयोग र कन्सुलर विभागमा उजुरी गरेको छ। यो विषय अहिले चीनस्थित नेपाली राजदूतावासमा पनि पुगेको छ। चिनियाँ नागरिकसँगको विवाह सम्बन्धका अतिरिक्त बच्चासमेतको सवाल भएकाले दुवैलाई नेपाल ल्याउनेबारे कानुनी जटिलता छ। स्मृतिलाई चीन पुर्‍याउन बिचौलियाको काम गरेकी मनमाया भने अहिले काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा खेपिरहेकी छिन्। घले आफैँ चिनियाँ नागरिकसँग विवाह गरेकी नेपाली महिला हुन्। उनले चिनियाँ नागरिकसँग अरू नेपाली महिलाको पनि विवाह गराएको प्रमाण भेटिएका छन्।

गुल्मीकी सपना (२३ वर्षीया)लाई मानव तस्कर समूहले यसरी फकाए कि ५७ वर्षीय चिनियाँसँग विवाह गर्न राजी भइन्। अदालतमा बिहेबारी र पासपोर्ट बनाइदिने सबै काम त्यही समूहले ग¥योे। चीनसँग पूरै अपरिचित, पतिसँग दोहोरो संवादका लागि भाषा नजान्ने सपनाले चीन पुगेदेखि नै यातना सहनुपर्‍यो। चिनियाँ पतिको दैनिक कुटपिट र यातनाबाट प्रताडित उनलाई उद्धार गरी नेपाल ल्याइदिन उनको माइतीले कन्सुलर विभागमा उजुरी दिएको छ।

१२ भदाै २०७५ मा मानव वेचविखन ब्यूरोले चीनमा नेपाली महिला तस्करीमा स‌ंलग्न व्यक्तिहरु पक्राउ गरेको थियो  ।

गरिब परिवारका पर्याप्त शिक्षा नपाएका नेपाली युवती खोजेर चीन लैजाने तारतम्य मिलाउने गिरोह नै नेपालमा सक्रिय छन्। नेपालमा चिनियाँलाई “फ्री भिसा”, आवतजावतको सहजता र विवाहका लागि खुकुलो कानुनी प्रावधानको फाइदा उठाएर तस्करहरूले महिला बेचबिखन गरिरहेको देखिन्छ। तर, यसरी विवाह गरेर चीनमा गएका नेपाली महिलाको यकिन तथ्यांक कतै छैन। अध्यागमन अधिकारीहरूका अनुसार विवाह गरेर “भिजिट भिसा”मा चीन जाने भएकाले त्यस्ता महिलाको बेग्लै तथ्यांक राख्ने प्रणाली अध्यागमन विभागसँग छैन।

चीन उड्नै लाग्दा फर्काइए १८४ जना

अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार यसै वर्ष अगस्ट र सेप्टेम्बरमा मात्र विवाह गरेर चीन जान हिँडेका ४१ नेपाली युवतीलाई बेचबिखनको आशंकामा विमानस्थलबाटै फर्काइएको छ। एक वर्षभित्र (०८० असोज २१ देखि ०८१ असोज ९ सम्म) यसरी फर्काइनेको संख्या १८४ छ। “पछिल्ला वर्षहरूमा चिनियाँ केटासँग विवाह गरेर चीन जान चाहने नेपाली युवतीको संख्या बढेको छ,” हालै सञ्चार मन्त्रालयमा सरुवा भएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक कोषहरि निरौलाले भने, “भेट भएको केही दिनमै विवाह गर्ने र त्यसलगत्तै चीन जान खोज्ने प्रवृत्ति बढ्दो छ।”

विवाह व्यक्तिको रोजाइको विषय भएकाले रोक्न गाह्रो हुने उनी बताउँछन्। तर, विवाह गरी चीन जानेहरू हिंसामा परेका कारण अध्यागमन सतर्क हुन थालेको, सोधपुछ गर्दा आशंका लागे रोक्ने गरिएको तथा कम्तीमा चिनियाँ भाषा सिकेर र विवाहका लागि दूतावासबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर आउन भनिएको उनी बताउँछन्।

दूषित नियत राखेर विवाह

पछिल्लो १५ महिनामा मात्र चिनियाँ नागरिकसँग विवाह गर्ने नेपाली महिलाको संख्या १३५ छ। यो ०८० साउनदेखि गत असोजसम्म काठमाडौं जिल्ला अदालतमा मात्र दर्ता भएको विवाहको तथ्यांक हो। काठमाडौंबाहेक अन्य जिल्ला अदालतबाट पनि बिहेबारी हुन सक्ने हुँदा यो संख्या अझै ठुलो रहेको अनुमान गर्न सकिन्छ।

अदालतबाट विवाहको प्रमाणपत्र प्राप्त गरी स्थानीय तहमा दर्ता गराएपछि विवाहको प्रक्रिया पूरा हुन्छ। कानुनसम्मत विवाह गरेर गए पनि अधिकांशको हकमा नियत सफा देखिँदैन। चिनियाँ नागरिकसँग विवाह गरेर चीन जान खोज्ने प्रवृत्तिबारे अनेक कथा अध्यागमनका अधिकारीहरू सुनाउँछन्।

न्युरोडमा पसल गर्ने र नियमितजसो चीन–नेपाल आउजाउ गर्ने एक महिलाले आफ्नै पसलमा काम गर्ने २७ वर्षीया युवतीलाई चिनियाँ केटासँग विवाह गरे जीवन समृद्ध बन्ने लोभ देखाइन्। दुई कक्षा मात्र पढेकी युवतीले सहजै सहमति दिएपछि ती महिलाले चिनियाँ केटासँग भेट गराइन्। उनकै समूहले पासपोर्ट–भिसाका लागि सहयोग गर्‍यो। सबै काम एक सातामै सम्पन्न गरी युवती र चिनियाँ केटाले विवाह गरे। विवाहपछि चिनियाँ केटा आफ्नो देश फर्किए। त्यसको ६ महिनापछि नेपाल आएर उनी पत्नीसँगै चीन जान विमानस्थल पुगे। तर, विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई फर्काइदियो।

एक सातापछि फेरि युवती र चिनियाँ नागरिक विमानस्थल पुगे। यसपटक युवतीले आफ्ना आमाबुबालाई पनि सँगै लगेकी थिइन्। उनीहरूले छोरीलाई ज्वाइँसँगै चीन जान दिन आग्रह गरे। अध्यागमन अधिकारीले युवतीका आमाबुबालाई ज्वाइँको नाम सोधे। युवतीका आमाबुबाले जवाफ दिए, “खै त्यो त थाहा छैन !” अध्यागमनका अधिकारीले दूतावासबाट दिइने “नो अब्जेक्सन लेटर” (एनओसी) देखाउन भने। फेरि जवाफ आयो, “त्यो पनि छैन !” त्यसपछि उनीहरूलाई फेरि फर्काइयो।

अर्को रोचक प्रसंग पनि छ। गत साउन अन्तिमतिर २२ वर्षीया युवती चिनियाँ पतिसहित विमानस्थल आइन्। अध्यागमन अधिकारीले रोकेपछि उनले आफूलाई जान दिनका लागि अनुनय गर्न थालिन्। एक अधिकारीले उनलाई बच्चा भएपछि जान पाइने भनिदिए। ती युवती १५ दिनपछि फेरि पतिसहित विमानस्थल आइन्। यसपटक उनीसँग आफू गर्भवती भएको भन्ने चिकित्सकको रिपोर्ट पनि थियो। अध्यागमन अधिकृतहरू आश्वस्त नभएर उक्त रिपोर्टबारे बुझ्दा थाहा भयो, रिपोर्ट नक्कली नै रहेछ।

अध्यागमनका एक अधिकारीका अनुसार चीन जान नपाएकी एक युवतीले त तीन चिनियाँसँग विवाह गरेको केस भेटिएका छन्। “कागजपत्र छ, नाता प्रमाणित छ, विवाह दर्ता छ, दूतावासको भिसा छ, छोरीलाई ज्वाइँसँग पठाउन आमाबुबा पनि आएका छन्,” अध्यागमन अधिकारीहरू भन्छन्, “तर, नियत गलत छ।”

सोझा र अनपढ युवतीहरूलाई बिचौलियाले यसरी प्रभाव पारेका हुन्छन् कि उनीहरू विलासी र सम्पन्न जीवन बाँच्ने आशामा जसरी पनि चीन जान लालायित भइदिन्छन्। चीनमा नेपाली महिलाको तस्करी बढेसँगै अध्यागमन विभाग र नेपालस्थित चिनियाँ दूतावासबिच विवाह भिसाबारे पटक–पटक औपचारिक/अनौपचारिक छलफल पनि भएको छ। अध्यागमन अधिकारीहरूका अनुसार चिनियाँ दूतावासले अहिलेसम्म नेपालीसँग विवाहका लागि दुई सयको हाराहारीमा चिनियाँलाई एनओसी दिएको छ। तर, कम्तीमा पनि पाँच सयभन्दा बढी नेपाली युवतीको चिनियाँसँग विवाह भएको तथ्यांकले करिब तीन सय एनओसी फर्जी भएको पुष्टि हुन्छ।

आशा देखाएर विवाह, चीन पुर्‍याएपछि यातना र यौनशोषण

चिनियाँ नागरिकसँग विवाह गरेर गएका नेपाली महिलामाथि घरेलु हिंसादेखि यौनशोषण हुने गरेका विवरण सार्वजनिक भएका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले जेठमा दायर गरेको मुद्दाकी पीडित युवतीले दिएको जाहेरीमा चीन पुगेको १०–१२ दिनमै केटाले मोबाइल फोन खोसिदिएको, बाहिर जाँदा थुनेर राख्ने गरेको र उत्तेजना हुने औषधि सेवन गरी लामो समयसम्म कष्टदायी यौनसम्पर्क गर्न बाध्य पारेको खुलाएकी थिइन्।

“केही दिनपछि मलाई घरनजिकैको सानो झुपडीमा अलग्गै राखी बाहिरका पुरुषहरूसँग पैसा लिएर वेश्यावृत्तिको काममा लगाउने क्रममा मैले इन्कार गर्दा, जे भन्छु त्यही गर नत्र यतै मारेर फालिदिन्छु भनी मलाई दिनमा ८–१० केटाहरूसँग जबर्जस्ती सुत्न लगाउने गरेकाले मैले जीवनदेखि हार खाएर आत्महत्या गर्न ब्लेडले बायाँ हात काटेँ, तैपनि काल आएन…” उनले दिएको जाहेरीमा उल्लेख छ।

गत असारमा उद्धार गरेर ल्याइएकी अर्की महिलाले उद्धारका लागि दूतावासलाई पठाएकोे पत्रमा भनेकी थिइन्, “यहाँ ममाथि क्रूर र अमानवीय व्यवहार गर्दै शरीर बन्धक बनाइएको छ। ममाथि चरम मानसिक र यौनशोषण भइरहेको छ। यौनसम्पर्क गर्न नदिँदा कुटपिट गरिरहेको छ।” अर्की महिलाले पनि आफूमाथि चरम शारीरिक र मानसिक यातना भएको, यौनसम्पर्क गर्न नदिँदा सधैँ कुटपिट भएको, नेपाल जान्छु भन्दा ज्यान मार्ने धम्की दिइएको गुनासो गरेकी थिइन्।

गत ३० असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग बालविवाह गराएको आरोपमा अभिभावकसहित आठजनालाई विवाहमण्डपबाटै पक्राउ गरेको थियो। धनकुटाको छथर जोरपाटी गाउँपालिका– २ की १८ वर्षीया किशोरीको विवाह ३३ वर्षीय चिनियाँ ली तेङसँग हुँदै थियो। मुलुकी देवानी संहिता, २०७४ अनुसार महिलाको विवाह गर्ने उमेर २० वर्ष छ। विवाहमा संलग्नलाई पक्राउ गरेर प्रहरीले सुनसरी अदालतमा विवाहसम्बन्धी मुद्दा दर्ता गर्‍यो। पक्राउ परेका नेपाली र दुई चिनियाँ नागरिकको संलग्नता हेर्दा यो मानव तस्करी हुन सक्ने आशंका प्रहरी अधिकारीहरूले गरेका छन्।

काठमाडौं जिल्ला अदालतमा पछिल्लो एक वर्षमा भएका विवाहका विवरण केलाउँदा पनि अनमेल विवाहका प्रशस्तै उदाहरण देखिन्छन्। २३ पुस ०८० मा दर्ता भएको एउटा विवाहमा चिनियाँको उमेर ४८ र नेपाली महिलाको उमेर २१ वर्ष देखिन्छ। गत ६ जेठमा पनि ४१ वर्षीय चिनियाँ र २० वर्षीया नेपाली युवतीबिच विवाह भएको देखिन्छ। त्यस्तै, २६ जेठमा ६७ वर्षीय चिनियाँ र ४९ वर्षीया नेपालीबिच विवाह भएको छ। २६ असारमा पनि ५२ वर्षीय चिनियाँ र २७ वर्षीया नेपाली युवतीको विवाह भएको देखिन्छ।

नेपाली केटीलाई चिनियाँ पुरुषसँग विवाह गराउन तस्करहरूले सुख–सुविधाको लालच त देखाउँछन् नै यसबाहेक रकमको मोलमोलाइ पनि गर्छन्। चीन जाने युवतीलाई विवाह गरेर पठाउँदासम्मको व्यवस्था गरेबापत उनीहरूले चिनियाँ पुरुषसँग ठुलो रकम असुल्ने र त्यसमध्ये केही प्रतिशत युवतीका परिवारलाई समेत दिने गर्छन्।

१२ भदौ ०७६ मा मानव बेचबिखन ब्युरोले चिनियाँ र नेपालीसहित १० जनालाई पक्राउ गरेको थियो। उद्धार गरिएका नेपाली युवतीले आफूहरूलाई बिचौलियाले पैसा दिने बाचा गरेकोे बताएका थिए। प्रहरी बयानका क्रममा एक नेपाली युवतीलाई चीन पुर्‍याउँदासम्मको व्यवस्थापनका लागि बिचौलियाले १० लाख रुपैयाँसम्म लिने गरेको खुलेको थियो।

३० असोज, २०८१ मा जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग बालविवाह गराएको आरोपमा अभिभावकसहित आठजनालाई विवाहमण्डपबाटै पक्राउ गरेको थियो।

गत ११ असारमा बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँसँग विवाह गरेर गएका दुई युवतीलाई उद्धार गरेर नेपाल पठायो। त्यसक्रममा दूतावासले नेपालको कन्सुलर सेवा विभागलाई लेखेको पत्रमा चीनमा बस्ने नेपाली महिलाले नै ती युवतीलाई चीनमा सुखमय जीवन, आर्थिक सुख–सुविधालगायतका विभिन्न प्रलोभन देखाई चिनियाँ नागरिकसँग विवाह गराएको उल्लेख छ। उक्त घटनामा चिनियाँ नागरिकले नेपाली बिचौलिया सुन्दरी राईलाई एक लाख १५ हजार चिनियाँ युआन तिरेको पुष्टि भएको थियो। यसअघि अर्को घटनामा दूतावासले मकवानपुर घर भएकी एक युवतीको उद्धार गरी नेपाल पठाएको थियो। त्यस घटनामा नेपाली युवतीलाई विवाह गर्न चिनियाँ नागरिकले पाँच लाख रुपैयाँ दिएको खुलेको थियो।

गत चैतमा १४० नेपाली महिला हराएको भनेर चिनियाँ दूतावासमा उजुरी परेपछि चीनस्थित नेपाली दूतावासले तीनजनाको उद्धार गरेर नेपाल पठाएको थियो। यसपछि अध्यागमनले विवाह गरेर चीन जाने युवतीले कम्तीमा चिनियाँ भाषा जानेको वा एनओसी लिएको पहिचान भएको अवस्थामा मात्र जान दिन थालेको छ।

एक दशकअघिदेखि प्रवृत्ति निरन्तर

नेपाली महिलाको चीनमा तस्करीको घटना कम्तीमा पनि एक दशकअघिबाटै भइरहेको छ। २२ फागुन ०७१ मा सिआइबीले नेपाली छात्राहरूलाई कोरियन र चिनियाँसँग कागजी (अदालती) विवाह गर्न प्रेरित गरेको आरोपमा काठमाडौंमा सञ्चालित छेरु इन्टरनेसनल प्रालि नामको “म्यारिज ब्युरो”मा छापा हानेको थियो। त्यसवेला दक्षिण कोरिया र चीनमा विवाह गरेर बालिकाहरू तस्करी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ परेको थियो। त्यसवेला विवाहको माध्यमबाट नेपाली महिलालाई कोरिया र चीन तस्करी गर्न नेपालभर कम्तीमा ८३ “म्यारिज ब्युरो” सक्रिय रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

“म्यारिज ब्युरो खोलेर नेपाली युवतीलाई कोरियन र चिनियाँसँग विवाह गराउन समूह नै लागेको देखिन्थ्यो। यसले हाम्रो प्रशासन र संयन्त्रलाई पनि लोभ्याउँछ,” सिआइबीका तत्कालीन निर्देशक पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले भने। विवाहका नाममा कोरिया र चीनमा चेलीबेटी बेचबिखन उच्च दरमा बढेपछि सरकारले ०७३ मै ती देशका नागरिकसँग नेपाली महिलाको विवाहमा प्रतिबन्ध लगाएको थियो।

चीनमा बेचिएकी पीडित महिलाकाे आफन्तले उद्धारका लागि परराष्ट्र मन्त्रालयकाे कन्सुलर सेवा विभागमा दिएकाे उजुरी ।

गोरखापत्रमा २८ कात्तिक ०७३ मा प्रकाशित समाचारअनुसार “सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको” उल्लेख छ। चौथो पेजमा प्रकाशित उक्त समाचारमा श्रीमती बनाउने बहानामा नेपाली चेलीमाथि चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको पनि उल्लेख छ।

त्यसको करिब दुई वर्षपछि नेपालमा विवाहसम्बन्धी कानुनी व्यवस्थामा हेरफेर भयो। १ भदौ ०७५ देखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिताले विवाह दर्ताको अधिकार जिल्ला प्रशासन कार्यालयबाट जिल्ला अदालतमा सार्‍यो। यसपछि पुरानो प्रतिबन्ध फुकुवाजस्तै भयो।

सन् २०१३ मा दि माइग्रेन्ट्स सेन्टर अफ एसियन ह्युमन राइट्स र कल्चरल डेभलपमेन्ट फोरमले कागजी विवाहको अध्ययन गरेका थिए। उक्त अध्ययनले ग्रामीण भेगका सयौँ महिलालाई कोरिया लगिएको देखाएको छ। यसरी कागजी विवाह गर्दा “रिक्रुटमेन्ट एजेन्सी” ले आठदेखि १२ लाख रुपैयाँ पाएको र एजेन्टले पाँच लाख तथा बाँकी रकम विवाह खर्च तथा कागजपत्र मिलाउनमा खर्च हुने गरेको पनि अध्ययनले जनाएको छ।

मानव बेचबिखन ब्युरोका पूर्वप्रमुख एसएसपी जीवनकुमार श्रेष्ठ भन्छन्, “हामीले अनुसन्धान गर्दा नेपाल–चीनबिच व्यापार, व्यवसाय गर्ने र आउजाउ गरिरहने व्यक्ति तथा तिनका सहयोगीमार्फत विवाह गरिएका देखिएका छन्।”

राष्ट्रिय मानव अधिकार आयोगले नोभेम्बर २०११ मा प्रकाशित गरेको महिला र बालबालिकाको तस्करीसम्बन्धी राष्ट्रिय प्रतिवेदन २००९–२०१० ले कम्तीमा एक हजार महिला विवाहको माध्यमबाट दक्षिण कोरिया पुगेको देखाएको थियो। त्यसमध्ये तीन सयजना खुसीसँग र बाँकी दासत्वयुक्त अवस्थामा रहेका प्रतिवेदनले उल्लेख गरेको थियो।

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी बिहेका नाममा चीन गएका नेपाली महिलाको अवस्था विकराल देखिएको बताउँछिन्। “अझ यसको वास्तविकता बाहिर आएकै छैन। त्यहाँ बिहे गरेर गएका महिलालाई चरम यातना दिइएको छ, यौनशोषण गरिएको छ,” उनी भन्छिन्।

बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुरेन्द्रकुमार यादव नेपालबाट विवाह गरेर आएका युवतीका सम्बन्धमा चीनमा समस्या देखिएको बताउँछन्। “विवाह गरेर आएका नेपाली महिलाहरू घरेलु हिंसामा परेको गुनासा आएका छन्,” उनी भन्छन्, “विभिन्न प्रलोभनमा पारेर विवाह गरेर ल्याइन्छन्, यहाँ परिवेश मिल्दैन, शोषणमा पर्छन्। आएको ५–६ महिनामै फर्काइदेऊ भन्नेहरू धेरै छन्।”

किन भइरहेको छ तस्करी ?

मानव अधिकार आयोगले मार्च २०१६ मा प्रकाशित गरेको “ट्राफिकिङ इन पर्सन्स नेसनल रिपोर्ट २०१३–१५” मा विवाहको माध्यमबाट दक्षिण कोरिया र चीनमा महिला र बालिका बेचबिखन बढ्दै गएको उल्लेख गरेको छ। “न्यून प्रजनन (जन्मदर) र पुत्र (छोरा) लाभको प्राथमिकताले दक्षिण कोरिया र चीनमा यस्तो हुन गएको हो,” प्रतिवेदनमा भनिएको छ। त्यतिखेर नेपालबाट कोरियामा बालिकाहरूको तस्करी उत्कर्षमा थियो, जतिखेर कोरिया र चीन संसारमा न्यून सन्तान उत्पादन (प्रजनन) दर भएका देशमध्येमा पर्थे।

पुरुषको तुलनामा महिलाको जन्म कम भएकाले चीन र कोरियामा जनसांख्यिक असन्तुलन छ। यसले गर्दा विवाह गर्न केटाहरूलाई केटी पाउनै हम्मे हुन्छ। “एकातिर चीन र कोरियामा विवाह गर्ने केटीहरूको उच्च माग, अर्कोतर्फ नेपालको गरिबी र बेरोजगारी। यी दुई कुराबाट बिचौलियाले फाइदा उठाएका हुन्।”

मानव बेचबिखन अनुसन्धान ब्यूरोले तयार पारेकाे तस्करीकाे जालो ।

केही वर्षअघिसम्म चीनमा चलेको एक सन्तान नीति र छोरालाई दिइने प्राथमिकताका कारण विवाहका लागि केटी नपाउने समस्या अझै छ। सुरुमा चिनियाँहरूले भियतनामबाट युवती तस्करी गरेका समाचारहरू अझै भेटिन्छन्। त्यसपछि म्यानमार, कम्बोडियालगायतबाट चीनतर्फ महिलाको तस्करी हुन्थ्यो। सन् २०१९ ताका पाकिस्तानबाट महिलाको चीन तस्करी हुने गरेको थियो। पाकिस्तानबाट खासगरी सीमान्तकृत समुदायका कलिला छात्रालाई प्रतिव्यक्ति १२ हजारदेखि २५ हजार डलरसम्म तिरेर गिरोहले चीनतर्फ तस्करी गरेका रिपोर्टहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका थिए।

करिब दुई वर्षको अवधिमा ६ सय गरिब पाकिस्तानी बालिका र युवतीलाई दुलहीका रूपमा चिनियाँलाई बिक्री गरेको सनसनी खोज रिपोर्ट बिबिसीमा प्रकाशित भएको थियो। समाचारमा यसरी विवाह गरेर चीन लगेका कलिला केटीहरूलाई देहव्यापारमा लगाइने गरेको र देहव्यापारका लागि पनि योग्य नठानिएमा मानव अंग निकालेर बिक्री हुने गरेको उक्त समाचारमा उल्लेख छ।

चाइना मिडिया ग्रुप नेपाली सेवामा एक दशकदेखि विदेशी विशेषज्ञका रूपमा कार्यरत पत्रकार चेतनाथ आचार्यका अनुसार चीनमा महिलाको तुलनामा पुरुषको संख्या धेरै छ। त्यसमाथि आधुनिक महिलाहरूमा विवाह नै नगर्ने प्रवृत्ति पनि बढेको छ। त्यसकारण सबै पुरुषले विवाह गर्न युवती पाउँदैनन्। “यसको विकल्पमा पहिले नै विवाह गरेर चीन गएका नेपाली युवती र केही चिनियाँ दलालमार्फत नेपालबाट बेहुलीका रूपमा चीनतर्फ मानव तस्करी हुने गरेको छ,” आचार्य भन्छन्।

उनको विश्लेषणमा चिनियाँ वैवाहिक परम्परा निकै महँगो र भड्किलो पनि छ। विवाह गर्दा केटापक्षले केटी पक्षलाई बकनयाँ घर र गाडी दिनुपर्ने प्रचलन नै विकास भएको उनी बताउँछन्। नेपाली विवाह परम्पराको दाइजो लिनेदिनेको उल्टो परम्परा चीनमा छ। “यसले गर्दा चिनियाँ केटीसँगै विवाह गर्न ठुलो धनराशि केटापक्षलाई चाहिने भयो,” आचार्य भन्छन्, “जसका कारण गरिब चिनियाँ केटाले विवाह गर्न केटी नै पाउँदैनन्। देशमा विवाह गर्ने केटी नपाएपछि उनीहरू बाहिर पुगेका हुन्।”

कमजोर कारबाही

बर्सेनि ठुलो संख्यामा नेपाली महिलाको चिनियाँ नागरिकसँग विवाह हुने गरेको छ। यद्यपि, यसको एकमुस्ट अभिलेख कतै भेटिँदैन। काठमाडौंमै १४ महिनामा १३५ जनाको विवाह हुनुले यो संख्या ठुलो रहेको अनुमान हुन्छ।

प्रहरीको मानव बेचबिखन ब्युरोबाट प्राप्त तथ्यांकअनुसार चीनबाट उद्धार गरिएका महिलाको संख्या पाँच मात्रै छ। हालसम्म चार मुद्दा दर्ता भएको ब्युरोका तत्कालीन प्रवक्ता (हाल जिप्रका चितवन) प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

मानव अधिकार आयोगकी पूर्वसदस्य अन्सारी नेपालमा चीनको समृद्धिबारे व्यापक प्रचारप्रसार भइरहँदा त्यहाँ विवाह गरेर पुगेका नेपाली महिलाको अवस्था भने ओझेलमा परेको बताउँछिन्। चीनस्थित नेपाली राजदूतावास पनि यस सम्बन्धमा उदासीन रहनु दुःखद भएको उनले बताइन्।

बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख यादव भने दूतावासले थाहा पाएसम्म पीडितको उद्धार गरेको दाबी गर्छन्। नेपाल प्रहरीका पूर्वडिआइजी मल्ल अशिक्षा, गरिबी, बेरोजगारीका साथमा नेपालीहरूको सोझोपनको फाइदा चिनियाँले उठाएको हुन सक्ने बताउँछन्। सोझासिधा महिलालाई लोभ्याएर फसाउने यस्तो प्रवृत्तिलाई रोक्न सरकारको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ।


पीडितको बयान– चीनको कुरा सम्झनै मन छैन

म अहिले २१ वर्षकी भएँ। एसएलसी पनि पास गरेकी छैन। परिवारको आर्थिक अवस्था नाजुक छ। बुबाआमाका चार सन्तानमध्ये म जेठी हुँ। म सानैमा विदेश जानुपर्‍यो। त्यतिवेला ओमानबाट भर्खरै फर्किएकी थिएँ। एकजना आफन्तमार्फत सुन्दरी राईसँग चिनजान भयो। राईले आफू २० वर्ष चीन बसेको भनेकी थिइन्। उनले चीनमा राम्रो हुन्छ भनेर धेरै लोभ देखाएपछि म उनको जालमा परेँ। मैले र मेरो परिवार कसैले पनि केटासँग पैसा लिएका छैनौँ, सुन्दरी राईले लिएकी होलिन्। चीन पुगेपछि केटाले मलाई सुरुमा माइतमा कुरा गर्नै दिएन। पछि त जबर्जस्ती र कुटपिट गर्न थाल्यो। परिवारमा कसैले पनि मलाई देखिसहेनन्। ती कुरा अहिले म सम्झन पनि चाहन्नँ (रुँदै)।

चीनमा धेरै दुःख पाएपछि त्यहाँ नेपाली दिदीको सहयोगमा दूतावासमार्फत उद्धार भयो। नेपालमा बा–आमालाई झुक्याएर चीन घुम्न जान्छु भनेर गएकीले घर फर्कन पनि सकिनँ। परिवारमा सबै रिसाएर नआइज भनेका छन्। नेपाल आएपछि पनि घर जान नसक्ने, कतै केही काम पनि नपाउने हुँदा म कुवेत आएँ। यहाँ “हाउसमेड”को काम गर्छु। मलाई चीन गएकोबारे कसैसँग कुरा गर्नै मन लाग्दैन। मलाई लैजाने सुन्दरी राईले धेरै नेपाली महिलाको बिहे गराएर चीन पुर्‍याएकी छिन्।


२२ मंसिर २०८१ काे  नयाँ पत्रिकामा प्रकाशित

-खोज पत्रकारिता केन्द्रबाट