विद्यालय छेउमै मसानघाट, त्रसित विद्यार्थी

वडामा जमिन अभाव हुँदा घाट अन्यत्र सार्न सम्भावना छैन: वडाध्यक्ष खाँ


विद्यालय छेउमै मसानघाट, त्रसित विद्यार्थी

पुरैना (बाँके) : वरिपरी खेत । बीचमा सडक । छेउमा सामुदायिक विद्यालय । नजिकै मसानघाट, त्यहीँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगन्ज उपमहनागरपालिका २१ पुरैना गाउँको अवस्था हो यो । मुस्लिम समुदायको संस्कारअनुसार मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि उक्त घाटमा लैजाने गरिएको छ ।

पैदल दूरीको हिसाबले करिब एक मिनेटमा उक्त मसानघाटबाट छेउकै महाराजा माध्यमिक विद्यालयमा पुग्न सकिन्छ । मसानघाट भएरै विद्यालय पुग्नुपर्छ । विद्यालय छेउमै मसानघाट हुँदा विद्यालयले धेरै समस्या भोग्दै आएको छ । विद्यालय २०१० सालमा स्थापना भएको हो । तर, मसानघाट २०७३ सालमा मात्रै ।

विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय घाटहरू मासिँदै जान थालेको छन् । विद्यालय नजिकै मसानघाट हुँदा अध्ययन र अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिक रूपमा असर पर्ने गरेको विद्यालयका प्राचार्य हरिप्रसाद दिक्षित बताउँछन् ।

विद्यालय सञ्चालन भइरहेको बेला मुस्लिम समुदायका मानिसको मृत्युपछि शवलाई मसानघाटनमा ल्याउँदा विद्यार्थीले झ्यालहरू बन्द गर्नुको विकल्प नभएको उनी बताउँछन् । मसानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले नै कक्षा कोठाका झ्याल लगाउने गर्दै आएका छन् ।

उक्त विद्यालयमा स–साना बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरूको बालमनोविज्ञानमा कस्तो असर पर्ला ? एक शिक्षिकाले भनिन् ‘विद्यालय छेउमा यसरी मसानघाट बनाउन नहुने हो । तर, मुस्लिम समुदायका नागरिकले अन्यत्र जमिन नभएको भन्दै यहाँ नै बनाउनु भयो । अहिले विद्यालयलाई समस्या भइरहेको छ ।’

विद्यालयक प्राचार्य दिक्षितले भने ‘लासको मुस्लिम संस्कारअनुसार अन्तिम संस्कार गरिरहेको दृश्य र त्यसबाट आउने दुर्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि अरू समस्या त छँदैछ ।’

२०१० सालमा स्थापना भएको यो विद्यालय उपमहानगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमध्ये पुरानो विद्यालय हो । उक्त मसानघाटमा पुरैना गाँउ, फुल्टेक्रा, नहरपुर्वा गाउँका मुस्लिम समुदायका नागरिकको मृत्युपछि अन्तिम संस्कार गर्ने गरिएको प्रअ दिक्षित बताउँछन् ।

मसानघाटमा जब लास ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्नै नसकिने वातावरण हुन्छ । स्कुल नै सार्नु प¥र्यो भनेर जनप्रतिनिधि आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदन दिएको समेत उनी बताउँछन् । तर, अहिलेसम्म यसको कुनै सुनुवाई हुन सकेको छैन् ।

उनका अनुसार घाटमा लास ल्याएर अन्तिम संस्कारका लागि काम थालेपछि विद्यार्थीको मानसिकता पढाईमा भन्दा बाहिरतिर बढी जाने गरेको छ । शिक्षक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ । उक्त समुदायका मानिसले विगतमा विद्यालयको गेट नजिकै अन्तिम संस्कार गर्ने गरेका थिए । तर, केही वर्ष यता गेट नजिकबाट हटाएर अलि पर विद्यालयको छेउमा मसानघाट नै बनाएर मृत्युपछिको अन्तिम संस्कार गर्ने गरेका छन्, प्रअ दिक्षितले भने ‘विद्यालय क्षेत्रमा यसरी मसानघाट बनाउन नहुने भएपनि यस बिषयमा मुस्लिम समुदाय र शिक्षा कार्यालय समेत उदासिन रहदै आएका छन् ।’

अहिले मसानघाट भएको जमिन पनि हिजो विद्यालयकै हो उनले भने ‘मुस्लिम समुदायले जति भनेपनि नमानेपछि तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुम्मन राँढ र तत्कालिन प्रअ श्यामविहारी गुप्तासँगको आपसी सहमतिमा जमिन सट्टापट्टा गरिएको रहेछ ।’
एक विघा १७ धुर जमिन रहेको उक्त विद्यालयमा जताततै चिहान मात्रै छन्, विद्यालयका शिक्षिका मञ्जु थापाले भनिन् ‘पहिले त विद्यालय भएकै ठाउँमा पनि चिहान थिए । तर, पछिल्लो समय उक्त समुदायले मसानघाटको पर्खाल भित्र मात्रै चिहान बनाउने गरेका छन् ।

उनकाअनुसार विहान होस् वा दिउँसो विद्यार्थी मात्रै नभई ठूलै मान्छे पनि एक्लै मसानघाटको बाटो हिड्न सकस मान्दै आएका छन् ।
विद्यालय छेउमै मसानघाट भएकोले विहान ट्युसन पढन आउँदा एकदमै डर लाग्ने गरेको विद्यार्थी पवित्रा सुनार बताउँछिन् । उनकाअनुसार एक्लै आउँन नसक्ने भएपछि हरेक दिन अभिभावक वा कुनै साथीसँग मात्रै आफू विहानको कक्षा लिन विद्यालय आउने गरेकी छु ।

विद्यालयमा दिउँसो बल खेल्दा समेत कहिलेकाँही बल पर्खालभित्र गएको अवस्थामा लिन जाँदा समेत दिउँसै त्रसाउने गरेको अर्का विद्यार्थी माया चौधरी बताउँछिन् । उनीहरूले उक्त मसानघाट विद्यालय छेउबाट अन्यत्र सारिनुपर्ने माग समेत गरेका छन् ।

विद्यालय र विद्यार्थीको यस्तो माग आएपनि मुस्लिम सुमदयाका अगुवा र वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ तत्कालै उक्त मसानघाट अन्यत्र सार्न नसकिने बताउँछन । वडा क्षेत्रमा सरकारी जमिनको अभावले अहिले मसानघाट अन्यत्र सार्न नसकिने वडाध्यक्ष खाँ बताउँछन् । वडाभित्र पर्याप्त जमिन छैन, त्यसैले अन्य जमिन दिन सकिने अवस्था छैन । उनले भने ‘तर, मसानघाटले विद्यालयमा पर्न गएको असर कम गर्न त्यसमा थप पर्खाल लगाई केही सुधार गर्न सकिएला ।’ 

घाटमा संस्कृति, परम्परा र सभ्यता जोडिएको हुन्छ । विद्यालयमा त्यही संस्कृति र परम्परा जोगाउन देशका धरोहरलाई शिक्षा प्रदान गरिन्छ । त्यसैले दुवैको महत्व निकै छ । एक स्थानीय मुस्लिम समुदायका नागरिकले खेतोखरीसँग भने, ‘घाट हाम्रो सभ्यता हो, यसलाई सार्न सकिँदैन तर विद्यालय त सकिन्छ नि ?’