नेपालगन्ज : सीमावर्तीमा खुलेआम रुपमा हुने रासानिक मलको कारोबारमा नेपाली किसान मुख्य ग्राहक हुन् । अधिकांश किसानको घरमा मल त आएको छ । तर, मलसँगै कोरोना भित्रिएको भन्दै समुदाय त्रस्त छ । महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो ।
नेपाली किसान र भारतका सयौं मानिस भिड छिचोलेर रासानिक मल किन्नुपर्ने किसानलाई बाध्यता छ । महंगो र सस्तो कुनै वास्ता नगरी मल किन्नुपर्ने किसानको नियति बनेको छ । महिनौदेखि भइरहेको यस्तो गतिविधि रोक्न प्रशासनले सकिरहेको छैन । अझैं पनि किसानलाई मल अभाव छ । तर, तस्करी गरेर ल्याएको मल किसान चार गुणा महंगोसम्म किन्न बाध्य छन् ।
धानमा भारतीय मल प्रयोग गरिए पनि यतिखेर कोरोना संक्रमण समुदाय फैलिएकामा सर्वसाधरण त्रसित भएको स्थानीय बताउँछन् । ‘भारतीय सीमावर्ती क्षेत्रबाट दिनहुँ सयौं मानिसको भीड हुन्छ,’ स्थानीय महोम्मद अन्सारीले भने, ‘मास्क नलगाएका अधिकांश किसान त्यहाँ देखिन्छन्, त्यस्ताबाट कोरोना संक्रमण समुदायमा फैलिने त्रास बढिरहेको छ ।’ उनका अनुसार मल लिन पुग्ने सर्वसाधरण सुरक्षा मापदण्डबारे समेत अनभिज्ञ छन् ।
एक महिनाअघि छिटफुट रुपमा साल्ट ट्रेडिङ र खाद्य संस्थानले सहकारीमार्फत रासानिक मल (डिएपी र युरिया) वितरण गरेको थियो । संस्थानले वितरण गरेको मल सीमित सहकारीमा आबद्ध किसानले मात्र पाएका थिए । सहकारीमार्फत मल नपाउने किसान ५० प्रतिशत किसान छन् ।
खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत मल आउने सम्भावना न्यून रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । हिनौअघि सुरक्षा मापदण्ड पूरा नगरी मल ल्याएका किसानलाई पहिचान गरेर कोरोना परीक्षण गर्न लागिएको प्रजिअ अधिकारी बताउँछन् । होटल मजदूर, किसान, ट्रेसिङमा परेका मानिस परीक्षण प्राथामिकतामा पर्ने उनले जानकारी दिए ।