मेहनतले किस्मत बनाएका ‘किस्मत’


मेहनतले किस्मत बनाएका ‘किस्मत’

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति

नेपालगन्ज : नाम जस्तै कर्म धेरैको नमिल्न सक्छ । र, मिलेको पनि पाईदैन । खुशी नाम भएकाहरु दुःखी र दुःखी नाम भएकाहरु खुशी हामीले देख्ने र सुन्ने गरेका पनि छौँ । तर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिको नाम जस्तै कर्म पनि मिलेको छ ।

गुल्मी जिल्ला, मुसिकोट नगरपालिका–३, वामिटक्सारमा बुवा जनकलाल कक्षपति र आमा मानकुमारी कक्षपतिको कोखबाट विक्रम सम्वत् २०१८ सालमा जन्मिएका कक्षपति बाँके जिल्लाको खजुरा गाउँपालिकाका अध्यक्ष हुन् । उनी गाउँपालिकाका अध्यक्ष हुनुमा लामो प्रयास, योगदान, लगनशीलता, इमान्दारिता र धैर्यता जोडिएको छ । खजुरा क्षेत्रमा उनी जनताको मन जितेका व्यक्ति हुन् । त्यसैले त स्थानिय निकायको निर्वाचनमा जनताले अत्यधिक मत हालेर कक्षपतिलाई खजुरा गाउँपालिका प्रमुखमा निर्वाचित गराएका हुन् ।

उनी गाउँपालिकाका अध्यक्ष हुनुभन्दा पहिले प्रखर परोपकार मिसन, खजुरा क्यान्सर अस्पतालरका संस्थापक अध्यक्ष हुन् । खजुरा क्यान्सर अस्पताल स्थापना हुनुमा उनको ठूलो योगदान छ । ब्यापारिक पृष्ठभूमीका कक्षपतिले क्यान्सर अस्पतालको भवन बनाउन ईँट्टा, ढुंगा, गिट्टीे, सिमेन्ट, छड ओसारेर मजदुरको काम पनि गरे । ‘क्यान्सर अस्पतालका लागि मैले नगरेको काम सायदै नहोला,’ उनले विगतलाई सम्झिदै भने, ‘मजदुरलाई बुझाउने पैसा नभएपछि कयौँ पटक लुकेर बसेँ ।’

सानैदेखि सामाजिक कार्यमा सक्रिय

Kids Festival 2022
kanti aarogya hospital
add

सानैदेखि सामाजिक कार्यमा सक्रिय कक्षपतिले १६ बर्षको उमेरमा आफ्नो जन्मथलो मुसिकोटका सर्वसाधारणलाई शुद्ध पिउने पानीका लागि प्रयास गरेका थिए । मुसिकोटको माथि रहेको मुहानबाट पिउने पानी ल्याउने क्रममा पंचायत विरोधी भएको भन्दै तत्कालिन सरकारले उक्त कार्यमा प्रतिवन्ध लगाएको उनले बताए । त्यतिबेला उनी एउटा क्लवको सचिव थिए ।

सानैदेखि सामाजिक सेवा गर्ने सोँच बोकेका उनी २०५३ सालनमा बाँकेको खजुरा आए । खजुरा आउनासाथ सामाजिक कार्यमा सक्रिय भएका कक्षपति छोटो समयमा २०५५ सालमा खजुरा खानेपानी तथा सरसफाई समितिको अध्यक्ष भए । उनले लगातार दुई कार्यकाल उक्त खानेपानीको अध्यक्ष भएर संस्थालाई उचाईमा पुर्याए ।

समाजसेवा गरेर नथाक्ने कक्षपति खजुरास्थित ज्ञानोदय नमुना मावि ब्यवस्थापन समितिमा चार कार्यकाल विताए । ब्यापारसँगै समाजसेवा गर्दै आएका कक्षपतिको नेतृत्वमा २०६२ सालमा खजुरामा प्रखर परोपकार मिसन नेपाल स्थापना भयो । उनी तत्कालिन नेपाल क्यान्सर अस्पताल हालको सुशिल कोइराला मेमोरियल क्ययान्सर अस्पतालको संस्थापक अध्यक्ष भएर अस्पताल स्थापना गरे ।

उनले नै खजुरामा लायन्स क्लव अफ नेपालगन्जको संस्थापक महासचिव, नेपाल घरेलु उद्योग महासंघ, बाँकेको सल्लाहकार भई काम गरिसकेका छन् । उनी सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । विद्यार्थी कालदेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय उनी सोही बेलानै प्रजातन्त्रका लागि आवाज उठाए । उनी तत्कालिन नेकपा एमाले बाँकेको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख र उद्योग विभाग प्रमुखको भूमिका निर्वाह गरिसकेका छन् ।

स्थायी शिक्षक छोडेर ब्यापार

किस्मतकुमार कक्षपतिको नाम बाँकेमा प्रचलित नाम हो । ब्यापार गर्न २०५३ सालमा खजुरा आएका उनले सोही बर्ष खजुरामा कक्षपति राइस एण्ड आयल मिल स्थापना गरे । खजुरा आउनु अघि जर्मनको फ्रयांकफर्टमा ६ बर्ष बिताएका उनी विदेशमा कमाएको रुपैयाँले खजुरामा ५० लाख रुपैयाँमा उद्योग संचालन गरेका थिए ।

कक्षपतिले २०३३ सालदेखि ९ बर्ष महेन्द्र आदर्श मावि मुसिकोट, गुल्मीमा स्थायी शिक्षकको जागिरी खाए । शिक्षक पेशाबाट जिविका चल्न नसक्ने लागेपछि उनी काम गर्न जर्मन गए । जर्मनमा बसेर देशका लागि योगदान दिन नसकिने लागेपछि उनी नेपाल फर्किए र त्यहाँ कमाएको पैसाले उद्योग संचालन गरे । ‘देशका लागि केहि गर्नुपर्छ भनेर म जर्मनमा नबसेर नेपाल फर्किए, विदेशमा कमाएको पैसा उत्पादनमुलक कार्यमा लगाउनु पर्छ भन्ने लागेर म खजुरा आएँ,’ उनले भने ।

सकारात्मक सोँचले मानिसलाई उचाइँमा पुर्याउँछ

कक्षपतिले सुरु सुरुमा धेरै हण्डर खाए, तर हिम्मत हारेनन् । आफ्नो मिसन पूरा गर्न निरन्तर आफ्नो अभियानमा लागिरहे । हिम्मत नहारेका कारण अहिलेको अवस्थामा आएको उनको भोगाई र बुझाई छ । ‘दृढ विश्वास, लगनशीलता र सकारात्मक सोँचले मलाई अगाडी बढ्ने प्रेरणा मिल्यो,’ उनले भने, ‘मिसन बोकेर हिड्ने ब्यक्ति कहिल्यै असफल हुँदैन ।’