कोभिडलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना


कोभिडलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडौं : प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।

‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’, उनले भने, ‘यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।’

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ । सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ ।

उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौं उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए । ‘छलफल गरेर एक÷दुई दिनमै योजना लागू गर्ने तयारी छ’, पोखरेलले भने,‘चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ ।’

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए । उनले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ ।

आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने र उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ । आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ । -रासस