कोरोना कहरकाबीच दशैं शुरु, आज घटस्थापना

नवरात्रमै खुलेनन शक्तिपीठ


कोरोना कहरकाबीच दशैं शुरु, आज घटस्थापना

File Photo

नेपालगन्ज : कोरोना कहरकाबीच नेपालीहरुको महान चाड बडादशैँ शनिबार (आज)बाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं शुरु भएको हो ।

दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन आज घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि जानकारी उनले दिए ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौं (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । अरूबेला प्रायः असोज महिनामै सकिने दशैं यस वर्ष कात्तिक १ गते शुरु भएर कात्तिकको मध्यमा सकिन्छ । यस वर्षको घटस्थापना कात्तिक १ गते परेको छ भने फूलपाती कात्तिक ७ गते र विजयादशमी कात्तिक १० गते परेको छ ।

दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ । नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

कोरोनाका कारण यसवर्ष नवरात्रका अवसरमा नेपालगन्जको रामलिला मैदानमा १५३ वर्षदेखि गरिदै आएको रामायण सम्बन्धि नाटक मञ्चन स्थगित गरिएकोछ । यद्यपी प्रतिकात्मकरुपमा विशेष पूजापाठ गरिने भएकोछ ।

नवरात्रमै खुलेनन शक्तिपीठ

कोरोना माहामारीकाबीच आजबाट नरात्र शुरु भएकोछ । दशैंको पहिलो दिन घटस्थापना विविध तवरले घरघरमा घटस्थापना गरिदैं छ । तर, यस वर्षको नवरात्रमा देशभरका कुनैपनि शक्तिपीठ खोल्न नपाइने भएकोछ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।

योसगैं पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिरसहित देशभरका मठमन्दिर एवम शक्तिपीठ बन्द हुने भएकाछन् । त्यसो त कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वर्ष चैत्र ११ गतेदेखि सरकारले लगाएको बन्दाबन्दी र स्वास्थ्य प्रोटोकलका अनुसार देशभरीका मठमन्दिर बन्द भएका छन् । बन्द भएपनि नियमित पूजाअर्चना भने भइरहेकोछ ।

बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । गृहमन्त्रालयले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै
बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको हो ।

गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको छ ।
यसरी चाडबाडकै मुखमा देशभरीका शक्तिपीठ बन्द गरिएपछि वर्षौंदेखि चल्दै आएका धार्मिक परम्परा र पूजापाठमा सरकारले अंकुश लगाएकोछ ।

केही धार्मिक गुरुले स्वास्थ्यको मापदण्ड पूरा गरि मठमन्दिरमा उचित ब्यवस्थापन गर्दै खोल्न पाउनुपर्ने तर्क राख्दै आएकाछन् । विशेष गरि दशैंमा हुने ९ दिनसम्मको पूजापाठ, विशेष पूजा तथा बली प्रथा समेत प्रभावित बन्ने भएकोछ । यसले धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै सरकारले अन्याय गरेको धार्मिक गुरुले बताउँदै आएकाछन् ।

बाँकेमा नवरात्रमा राखिने देविको मूर्ती पहिलेको भन्दा कम राखिने भएको छ । नेपालगन्ज सहित जिल्लाका विभिन्न स्थानमा देविको मूर्ती स्थापना गरि ९ दिनसम्म विशेष पुजापाठ पश्चात नजिकको जलासयमा लगेर देविको मूर्ती विर्सजन गर्ने चलनछ ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित असज परिस्थितीका कारण सबैठाँउ देविको मूर्ती राख्ने अवस्था छैन । यद्यपी मूर्तीको माग भएपनि प्रयाप्त मात्रामा मूर्ती निर्माण नभएकोले सिमित स्थानमा मात्र मूर्ती राखिदैछ ।

नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोक, सदरलाईन, गणेशपुर, फुल्टेक्रा, डिएसपी रोड, वसन्त मल्ल चोक, गगनगञ्ज, धम्बोझि चोक लगायतका स्थानमा मूर्ती राख्नका लागि सबै ब्यवस्थापन गरिएको पाइएकोछ ।