रजस्वला बार्दैनन् थारु महिला


रजस्वला बार्दैनन् थारु महिला

File Photo

नेपालगन्ज: थारु समुदायका महिलाले कहिल्यै पनि रजस्वला बार्दैनन् । सुन्दा झट्ट अनौठो लाग्ला तर यो सत्य हो । रजस्वला भएका थारु महिला अन्य दिनको झैँ नियमित काममा जान्छन् । सफासुग्घर भएर भान्साको काम देखि पूजापाठसम्म सक्रिय रहन्छन् । रजस्वला भएका महिला खुलेआम भान्सा कोठामा जाने, आफै खाना बनाउने र आफै पस्केर खुवाउछन र खान्छन् पनि ।

थारु समुदायमा छुवाछुत मान्ने चलन छैन । त्यसैले रजस्वला भएका महिला नुहाई धुवाई, सफासुग्घर भएर कुल देवता भएको कोठा (डिउह्रार) मा पनि जाने गरेको थारु अगुवा बताउँछन् ।

‘को कहिले रजस्वला भयो परिवारका सदस्यलाई थाहा हुँदैन,’ थारु धर्म र साहित्यका जानकार एकराज चौधरीले अगाडी थपे–‘थारु समुदायमा रजस्वला बार्ने सायदै होलान । यद्यपी रजस्वला भएकी महिलाको दिनचर्यामा केही परिर्वतन हुदैन । अर्थात उनीहरुको दैनिकी नियमित झैं नै रहन्छ ।’

महिलाका लागि रजस्वला प्राकृतिक उपहार भएको भन्दै थारु समुदायले यसलाई बरदानको रुपमा लिने गरेको पछ्ला प्रगन्नाका गुर्बाबा लिलामणी चौधरी बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

महिलामा रजस्वला नभए श्रृष्टि रोकिने भएकोले यसलाई पहिलेदेखि नै बरदानको रुपमा अंगिकार गरेको उनले बताए । ‘महिलामा रजस्वला नभए मानिसको उत्पत्ती नै रोकिन्छ, अनि कसरी भयो यो श्राप, मानव सृष्टिकर्ता महिला कसरी हुन सक्छिन् अछुतो ?’ उनले भने ।

रजस्वला भएका महिलाले खाना पकाउने, खुवाउने समेत गर्दै आएको थारु अगुवा तथा पत्रकार विश्वराज पछल्डङ्ग्याले बताए । उनले रजस्वला भएको महिलाले नुहाई धुवाई सफासुग्घर भएर खाना पकाउने र खुवाउने गरेको बताए ।

‘रजस्वला भएको महिलालाई छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाएको, अनिष्ट भएको र कुनै काम बिग्रेको अहिलेसम्म देखेको, सुनेको छैन,’ उनले अगाडी थपे–‘देउताको पूजाका सामग्री बनाउन पनि रजस्वला भएका महिलालाई रोकतोक छैन । रजस्वला भएकाबेला सफासुग्घर बनी धार्मिक कार्य गरिन्छ ।’

थारु समुदायमा महिला महिनावारी भएको श्रीमान, आमा, दिदीवहिनी वा नजिकको सदस्य बाहेक अरुलाई बिरलै थाहा हुने गरेको थारु महिला पत्रकार विमला चौधरी बताउँछिन् । उनले रजस्वला भएका महिलाले थारु समुदायमा कहिल्यै पनि घर बाहिर सुत्न र भान्सा कोठाबाट बन्चित हुन नपरेको बताइन ।

‘रजस्वला भएका महिला आफूखुसी भान्सा र घरका कोठामा जान्छन्, कसैलाई कहिल्यै रोकतोक हुँदैन, रजस्वला भएका महिलालाई छोए वा भान्सा कोठामा गए अनिष्ट हुन्छ भन्ने हाम्रोमा त्यस्तो मान्यता छैन,’ बिमलाले आफ्नो अनुभव सुनाउदै अगाडी थपिन्– ‘म आफैले रजस्वला बारेको छैन । रजस्वला भएको बेला आफू हेपिएको र दुब्र्यवहार भएको अहिलेसम्म महशुस गरेको छैन । बरु यो अवधिमा आफूलाई मन परेको खाना खान रजस्वला भएका महिलालाई प्रेरित पो गरिन्छ ।’

बाँकेकी थारु अगुवा महिला संगीता चौधरीले बताइन् । उनले रजस्वला भएको बेला समेत परिवारका सदस्यले समान ब्यवहार गर्ने भएकोले अन्य दिनको भन्दा कुनै फरक नपाएको बताइन् ।

‘घर बाहिर बस्ने, भान्सामा जान नदिने, छुवाछुत मान्ने गरेको भए पो महिनावारी भएको महशुस हुने थियो,’ उनले भनिन्, ‘त्यो बेला पनि अन्यदिनको भन्दा फरक ब्यवहार नभए अवहेलित भएको महशुस हुने कुरै भएन ।’