‘नेपालगन्ज म्याराथन विजेता ओलम्पिक खेल्न पाउने’


‘नेपालगन्ज म्याराथन विजेता ओलम्पिक खेल्न पाउने’

नेपालगन्जः नेपालगन्ज म्याराथनका विजेताले ओलमिक खेल्न पाउने भएकाछन् । आगामी मंसिर ६ गते नेपालगन्जमा हुने छैठौँ ‘धारा नेपालगन्ज म्याराथन’का विजेताले नेपालको तर्फबाट ओलम्पिक खेल्न पाउने भएका हुन् ।

म्याराथन जित्ने खेलाडी आगामी सन् २०२१ को मे महिनामा जापानमा हुने ओलम्पिक खेलका लागि सहभागी हुन पाउने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए ।

कोरोना भाइरसका कारण आठ महिनादेखि देशभर खेलकुद ठप्प भएको बेलामा क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथनलाई निरन्तरता दिन लागेको हो ।

शाहका अनुसार ‘नेपालगन्ज म्याराथन’लाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनोटको रुपमा लिइएको छ । नेपालगन्ज म्याराथन जित्नेले ओलम्पिकका लागि नेपालमा हुने छनोट प्रतियोगितामा सहभागिता जनाउने र त्यहाँ छनोट भएपछि नेपालको प्रतिनिधित्व गर्दै जापानमा हुने ओलम्पिकमा सहभागिता जनाउने शाहले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले भने–‘ओलम्पिक खेल्नका लागि यो सुनौलो मौका हो । नेपालगन्ज म्याराथनलाई देशभर हुने म्यारथनको ‘ए’ क्याटोगरीमा राखी एथलेटिक्स संघले मूल्यांकन गरिरहेकोछ ।’

आयोजक क्रियटिभ ह्याण्ड्सले आईतबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन सुझाव दिए । उनले आगामी दिनमा नेपालगन्जमा नेपाल–भारतबीचको अन्तरदेशिय म्याराथन प्रतियोगिताको शुरुवात गर्ने रणनीति लिएको भन्दै यसका लागि आवश्यक पहल समेत गर्ने बताए ।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, सहप्रायोजक आशीर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक नेपालगन्ज म्याराथनमा दुई वटा विधा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार ‘फन रन’का रुपमा ‘कर्पोरेट रन’ पनि समावेश गर्ने तयारी रहेको छ ।

उनले कोरोना भाइरस संक्रमणकाबीच नेपालगन्ज म्याराथनलाई जिवन्त राख्न र यसको निरन्तरताका लागि भएपनि यस वर्ष दुई वटा विधामा मात्र म्याराथनको आयोजना गरिदैछ । वातावरण सहज बने यसअघिका विधालाई आगामी वर्षमा समेत सामेल गर्ने ठकुरीको भनाइछ ।

क्रियटिभ ह्याण्डका अध्यक्ष ठकुरीका अनुसार नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउदले उपाधी जितेका थिए ।

यस्तै गरि महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।

गतवर्ष म्याराथन जित्नेले ५० हजार र हाफ म्याराथन जित्नेले २५ हजार नगद पुरस्कार जितेका थिए । भने यसवर्ष कोरोना भाइरस संक्रमणका कारण विजेतालाई प्रदान गरिदै आएको पुरस्कार राशीका बारेमा छिटै निर्णय गरिने अध्यक्ष ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गतवर्ष ५ किलोमिटर महिला तथा पुरुषको विद्यालय स्तरीय तथा खुल्ला दौड, ८ देखि १२ वर्ष उमेर समुहका दौड र शारीरिक रुपमा अशक्तहरुका लागि पनि दौड स्पर्धा गरिएको थियो ।