नेपालगन्ज १८ असोज : बाढी पहिरोको कारण प्रभावकारीरुपमा यातायातका साधन चल्न नसकेपछि यतिबेला हवाई यातायातको टिकट पाउन छोडेकोछ । लगातार तीन दिन परेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण प्रभावकारीरुपमा राजमार्ग सञ्चालन हुन नसक्दा हवाई टिकटको अभाव भएको हो ।
पहिरोको कारण काठमाण्डौं उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि सर्वसाधरणहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकट पाइरहेका छैनन् । जसका कारण काठमाण्डौंबाट नेपालगन्ज आउनेहरु मर्कामा परेकाछन् ।
दशैंको मुखमा हवााई यात्रा गर्न खोज्नेहरुले टिकट नै पाउन छाडेकाछन् । उनीहरुले हप्तौदेखि नेपालगन्जका लागि टिकट काट्न खोज्दा पनि टिकट पाइरहेका छैनन् । जसले गर्दा दशैंमा नेपालगन्ज आएर टिका लगाउन नपाइने हो की भन्ने पीरले पिरोल्न थालेकोछ ।
‘दशैं मनाउन नेपालगन्जको टिकट काट्न खोज्दा पाइन् । एक हप्तादेखि प्रयास गरिरहेकी छु, कुनै पनि एयरलाइन्सको टिकट नै पाइदैन’ काठमाण्डौंदेखि नेपालगन्ज आउने लागेकी समृद्धि भण्डारीले सेतोखरीसँग भनिन् ‘१३ हजार दुई सयमा समेत टिकट काट्न खोजेकी थिएँ पाइन् । दशैं भित्रिसक्यो, नेपालगन्ज आएर दशैंको टिका थाप्न पाउने हो की होइन चिन्ता बढ्न थालेकोछ ।’
अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले भण्डारीलाई निरास बनाएकोछ । नजिकिएको दशैँमा घर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।
यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन सकिरहेका छैनन् । यतिबेला उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य राजमार्गहरूमा अवरोध आउँदा हवाई यात्राको लागि अत्यधिक टिकटको माग छ । तर, टिकट काट्न खोज्दा पाइदैन ।
‘बाढी र पहिरोले राजमार्ग भत्केकोछ । सडक यात्रा जोखिमपूर्ण र सकसपूर्ण हुनेभएपछि हवाई टिकट काट्न खोज्दा पाइएन’ काठमाण्डाँैबाट नेपालगन्ज आउन लागेकी रोश्नी बस्नेतले सोतोखरीलाई भनिन्–‘एक हप्ता भयो टिकट पाएको छैन । अहिले महंगो शुल्क तिरेर टिकट लिन खोज्यो त्यो पनि पाइरहेको छैन ।’
‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दशैँमा कसरी घर पुग्ने हो चिन्तित छु’, उनले भनिन् । यतिखेर दशैँको टिकट जोहोका लागि एयरलाइन्स धाईरहेकी छिन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउण्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको बस्नेतले सेतोखरीलाई सुनाइन् ।
यता राजमार्ग बन्दा हुँदा हवाई टिकटको माग अत्यधिक भएका कारण टिकटको अभाव भएको हवाई कम्पनीहरुको भनाई छ । बाढी–पहिरोले गर्दा गन्तब्यमा पुग्न सबै यात्रुको हवाई यात्रातर्फ आकर्षण भएको कम्पनीको भनाईछ ।
केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय नेपालगन्ज लगायतका सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ ।
यती, श्रीएयर र बुद्धले काठमाण्डौंदेखि नेपालगन्ज दैनिक उडान भर्दै आएकाछन् । यती एयरको तीन, श्रीएयरको पाँच र बुद्ध एयरको छ वटा विमानले काठमाण्डौं देखि नेपालगन्ज दैनिक उडान गर्छन् । तर, अधिकांश हवाई टिकट बुकिङ भइसकेको यी एयरलाइन्सले जनाएका छन् ।
हवाई टिकटको अत्यधिक माग भएको अवस्थामा गाडीको जस्तो जहाजको ‘ट्रिप’ थप्न नसकिने वायुसेवा कम्पनीहरुको भनाईछ । हाल काठमाण्डौंबाट नेपालगन्जको हवाई भाडा ‘नर्मल’ १३ हजार छ । यती एयरलाईन्सले काठमाण्डौंबाट नेपालगन्जको १३ हजार ६० रुपैयाँ लिइरहेकोछ ।
अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको यती एयरलाईन्स नेपालगन्जका म्यानेजर दीलिप कार्कीले सेतोखरीलाई बताए । उनका अनुसार दशैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।
कार्कीका अनुसार यतिबेला काठमाण्डौंबाट नेपालगन्ज आउनेहरुको उच्च चाप छ । तर, नेपालगन्जदेखि काठमाण्डौं जानेहरु मुस्किलले भेटिन्छन् ।
तुलनात्मक रुपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन् । तर, बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला हवाई टिकट पाउन सकस भइरहेकोछ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा