ग्यास्ट्रो सर्जन डाक्टर ध्रुब शाहको टिमद्वारा पहिलोपटक ‘ग्याष्टिक क्यान्सर’को सफल शल्यक्रिया

जानौं कसरी हुन्छ ग्याष्टिक क्यान्सर


ग्यास्ट्रो सर्जन डाक्टर ध्रुब शाहको टिमद्वारा पहिलोपटक ‘ग्याष्टिक क्यान्सर’को सफल शल्यक्रिया

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा पहिलोपटक ‘ग्याष्टिक क्यान्सर’ भएका बिरामीको सफल शल्यक्रिया भएकोछ । भेरीगंगा नगरपालिका जाजरकोटका ५८ वर्षिय रुद्रबहदुर पुनको ‘ग्याष्टिक क्यान्सर’को सफल शल्यक्रिया गरिएको हो ।

‘ग्याष्टिक क्यान्सर’ पीडितको सफल शल्यक्रिया भएसगैं यतिबेला शल्यक्रियामा संलग्न चिकित्स टिम उत्साहित बनेकाछन् । भेरी अस्पतालका ग्यास्ट्रो सर्जन डाक्टर ध्रुब शाह नेतृत्वको टीमले भेरी अस्पतालमै पहिलो पटक ‘ग्याष्टिक क्यान्सर’ पत्ता लगाई यसको सफल शल्यक्रिया गरेका हुन् ।

ग्यास्ट्रो सर्जन डाक्टर शाहले भने –‘पुनलाई पाँच महिना अघि नै ‘ग्याष्टिक क्यान्सर’ पुष्टि भएको थियो । इन्डोस्कोपी गर्दा ग्याष्टिक क्यान्सर पुष्टि भएका पुनलाई चितवनस्थित क्यान्सर अस्पतालमा पठाइएको थियो ।’

‘ग्याष्टिक क्यान्सर’ भएका पुनको केस पहिले अरु चिकित्सकहरुले नै हेरेका थिए । पछिल्लो एक महिनायता पेट अधिक दुख्न थालेपछि थप उपचारका लागि पुन भेरीमा आएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

गत मंसिर १३ गते भर्ना भएका पुनको २० गते ग्यास्ट्रो सर्जन डाक्टर शाहको नेतृत्वमा एनेस्थेसियोलोजिष्ट डाक्टर पारश पाण्डे, तारा आचार्यलगायतको मेडिकल टीमले ‘ग्याष्टिक क्यान्सर’को शल्यक्रिया गरेको डाक्टर शाहले जानकारी दिए ।

शल्यक्रियाको ११ दिनपछि पुनलाई डिस्चार्ज गरिएको डाक्टर शाहले जानकारी दिदैं भने–‘पेटमा आउने समस्या मध्ये ‘ग्याष्टिक क्यान्सर’ जटिल समस्या हो । यसको समयमै उपचार गरिएन भने बिरामीको स्वास्थ्य अवस्था जटिल हुन्छ । मृत्यु नै हुनसक्छ ।’

कसरी हुन्छ ‘ग्याष्टिक क्यान्सर’ ?
ग्याष्टिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । खाना पचाउन शरीरभित्र पाचन रसकासाथै हाइड्रोक्लोरिक एसिड नामक कडा प्रकारको अम्ल हुन्छ । पेटभित्र उत्पादन हुने अम्लको काम खाना पचाउने र पेटभित्रका किटाणु मार्ने हो । यो अम्लबाट बचाउन आमाशयको भित्रीबाट म्युकस नामका तरल पदार्थ र बाइकारबोनेट नामक क्षार निस्किरहेको हुन्छ । यो प्रक्रियामा असन्तुलन भए ग्याष्टिक हुन्छ ।

यदि तपाईको पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु (पाद) नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर, मेडिकल भाषामा ग्याष्टिक भनेर ग्यास्ट्राइटिसलाई भनिन्छ ।

पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीड (एच सी एल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।

ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो ।

बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ । यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ ।

‘रगत, दिसा, पिसाब जाँचेर ग्याष्टिक भए नभएको पत्ता लाग्दैन । तर, पेट भित्र ठूलो रोग छ कि भनेर इन्डोस्कोपी भने गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाउ भएको छ या छैन हेर्न सकिन्छ’ डाक्टर शाह बताउँछन् ।

‘यदि अल्सर नै भैसकेको रहेछ भने ट्रिपल थेरापी गर्नुपर्छ । यदि घाउ छ भने औषधिको प्रयोग गर्नुपर्छ । कहिलेकाँही पित्त थैलिमा पत्थरी भयो भने पनि ग्याष्टिक जस्तो समस्या देखा पर्नसक्छ’ डाक्टर शाहले भने–‘यदि यस्तो अवस्था उत्पन्न भयो भने पित्त थैलिको पत्थरीको अप्रेसन नगरी यसको समस्या कम हुदैन । हायटस हर्नियामा आमाशय फर्केर खाने नली माथि सरेर गएको छ भने पनि अप्रेसन नै गर्नु पर्ने हुन्छ ।’

ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर, कहिले कम र कहिले बढेर जाने हुन्छ । ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने डाक्टर शाहको सुझाव छ ।

डाक्टर शाहका अनुसार –‘खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ ।’