...अनि माघी मनाउन गाँउ आएँ


...अनि माघी मनाउन गाँउ आएँ

करुणा शाह

पुस महिनाको अन्तिममा बक्लो हुस्सु, कुहिरो अनि कठाङ्ग्रीने जाडो सगैं माघ महिना को सुरुवात । निकै रमाइलो लाग्छ यो समय । माघे सक्रान्ती हामी सबै नेपालिले विशेष रुपले मनाउछौ । एक या दुई दिन अघि हामी सबैको घरमा सक्रान्तीको लागि चाहिने सम्पूर्ण सामाग्री जोहो गर्ने गर्छौं ।

तरुल, गन्जी, तिलको लड्डु, पाकेको भेलीको बदाम सहितको चाकु, सेलरोटी लगायतका पकावन तयारी गरिन्छ । संक्रान्तीको दिन बिहानै नुहाउने । पूजापाठ गरिसकेपछि मान्यजनबाट टिका लगाई आर्शिबाद लिने गरिन्छ ।

अनि सक्रान्तीको सबै परिकार खाने र साथमा माघे सक्रान्तिमा कालो दालको खिचडी खाने गरिन्छ । समुदयापिच्छे फरक तरिकाले मनाएपनि माघे संक्रान्ति मनाउने गरिन्रछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

माघे संक्राती एबम माघि थारु समुदायको सबैभन्दा ठुलो र महत्वपूर्ण चाड हो । थारु समुदायले यो पर्वलाई नया वर्षको रुपमा मनाउने गर्दछन् । माघीको एक दिन अगाडि बङ्गुर या सुङ्गुर काट्ने गरिन्छ । यस्लाई थारु समुदायमा जिता मार्ने भनिन्छ ।

सबै परिवार, नातागोता एकजुट हुने रमाइलो गरि थारु परिकार खाने र हर्ष, खुशियाली बाँडिन्छ । यस दिन घर परिवारबाट कामकाजले होस् या पढ्न गएका सबै मानिस अनिवार्य घरमा आउने गर्छन् ।

माघिमा थारु समुदायको बिषेस परिकारहरुमा ढिक्री, बरिया, सिध्रा माछा घोंगी, बङ्गुरको मासु, अनादि चामलको भात, छ्बुवा जाँड, जाँडको झोल, बयरको चटनि, नुनखुर्सानीको डोक्नीमा खुनेको चटनी आदि हुन्छन् ।

थारु समुदायको बाहुल्यता भएको ठाँउ बाके, बर्दिया, कैलाकी, कञ्चनपुर, चितवन र दाङ लगायतका जिल्लामा माघी पर्वको बेग्लै रौनक हुन्छ । सबै काम सकेर फुर्सदिला भएका थारु समुदाय यो बेला आफ्नो समुदायका साथिभाइसंग खानपिन घुमफिर र नाचगानमा ब्यस्त हुन्छन् ।

थारु पत्रकार संघ बाँकेका भगतराम थारु यो हाम्रो समुदाय निकै ठुलो पर्व भएको बताँउछन् । उनी भन्छन् माघिको अवसरमा सबैलाई शुभकामना । हरेक वर्ष माघिमा जसरी पनि बर्दिया भुरीगाउँको मिर्चैया जाने गरको सम्झँदै साथीभाइ, आफन्तसंग भेटघाट हुने, रमाइलो गर्ने र थारु समुदायले पारिवारिक महत्वपूर्ण निर्णय पनि गर्ने बताउँछन् ।

माघिमा घर फुट्ने अंश बण्डा गर्ने, परिवारमा नयाँ कार्यको योजना, गत वर्षको समिक्षा, गाउँमा बडघर, चिराकी, गुरुवा लगायतका सबै महत्वपूर्ण कार्य सामुहिक रुपमा चयन गरिने पत्रकार थारु बताउँछन् ।

यस वर्ष कोरोना भाइरसका कारण पहिला भन्दा अलि केही फरक रुपमा माघि मनाउने भएकाले माघिको रौनक नभएको उनी बताँउछन् । पहिला आफ्नो थारुको टिपिकल भेषभुसा, गरगहना लगाएर थारु घरघरमा गई आफै थारु गितमा शखिया नाँच, हुरुदुङ्वा नाच, मघौटा नाच्दा पाएको दक्षिणाले सबैजना पिकनिक गर्ने, रमाइलो गर्ने गरेको उनी सम्झन्छन् ।

तर, अहिले अलि फरक छ । आफ्नो पहिरन भन्दा आधुनिक पहिरन लगाउने थारु भाषाको गित नबुझेको जस्तो गर्ने डिजेमा नाच्ने खालका काम भइरहेकाले थारु संस्कृतिको मौलिकता हराउदै गएकोछ भने युवा पीढिँमा आधुनिकताको लहडले छुँदा आफ्नो समुदायको रितिरिवाज, भेषभुषा, सँस्कृती जोगाउने मुस्किल हुने होकी भन्दै थारु पत्रकार चिन्ता ब्यक्त गर्दछन् ।

आजभोली हरेक ठाउँमा आआफ्नै समुदायको पहिचान सँस्कृती र परिकार सहितको होमस्टे छ्न । बाँकेको गाभरमा थारु होमस्टे छ ।

बाँकेको गाभरमै सुन्दरी थारु मोडेल सुनिता दहितको होम स्टे छ । सुन्दरीको स्वागतसगैं थारु खानेकुराको मिठो परिकारमा खोलिएको गाभर होम स्टेबाट थारु परिकार र संस्कृतिका बारेमा बुझ्न सजिलो भएकोछ ।

थुप्रै थारु गितमा मोडलिङ गरिसकेकी सुनिताले भर्खरै माघिका गुरि गुरि जाँड गित सुटिङ्ग सकाएकी उनी माघीमा निकै खुशी हुने बताउँछिन् । आफ्नो मुख्य पर्वमा अहिलेसम्म पनि आफ्नै पहिरन, गरगहना र आफ्नै गितमा नाच्ने गरेको उनी भन्छिन् ‘सकु जे माघि मनाइ हमारा होमस्टेमा आइहो । जा जा खैना मन लागि हम्रे खवोइबी ना ।’

माघीमा दाङको रिहार, बर्दियाको ठाकुरद्वारा मन्दिर, बाँकेको राप्तीपारी भुवरभवानी मन्दिरमा निकै ठूलो मेला लाग्ने गर्छ । सो अवसरमा नेपालगन्ज आसपा र भारतबाट समेत दर्शनार्थीको ठूलो भिड हुन्छ । कोरोना भाइरसका कारण ती क्षेत्रमा लाग्ने मेला प्रभावित बन्दा थुप्रैलाई अहिले नमाजा लागेकोछ ।

यो पंक्तिकारको बाल्यकाल कैलालीको टिकापुरमा बितेको हो । थारु समुदायको बाक्लो बसोबास भएको मेरो गाँउमा माघिमा खुबै रमाउने गर्दथे । अहिले पनि रमाउने गर्छु । बाल्यकालमा थारु समुदायमा घुलमिल भएको हुनाले म लगाएत मेरो पुरै परिवार जो नेपालगन्ज, दाङ र काठमाडौ राज हुन्छ उहाँहरु सबै थारु भाषा मजाले बोलिबक्सिन्छ ।

हाम्रो परिवारको लागि थारु भाषा, थारु परिकार, थारु रहनसहन निकै प्यारो छ । माघिको बेला गाउँको रौनक अहिले पनि मलाई याद आउँछ । बसाइ नेपालगन्ज भएता पनि हामी प्राय गाउँ मै माघी मनाउन जान्थ्यौ ।

त्यसबेला माघिमा ठाँउ ठाउँमा मेला लाग्थ्यो । हाम्रो त्यहा नजिक वाणीको मेला र जोशिपुर मेला खुबै प्रख्यात छ । तर, अहिले लाग्दैन । एकदिन अगाडि नै गाँउका युवायुवती कुन ठाँउ जाने सल्लाह गर्दथ्यौं । डल्लब या ट्रयाक्टरमा समूह बनाएर राती नै नुहाउन र मेला हेर्न जाने गर्दथ्यौं । ती दिन सम्झिदाँ गाँउको यादले सताउँछ ।

त्यहाँ हाम्रो घरमा ठुलो कुवाँ(ईनार) थियो । केही बिहान सबेरै कुवाँको पानीले नुहाइधुवाइ गरि नाचगान गर्न ब्यस्त भैहाल्थे । आज म नेपालगन्जमै रहेर गाउँको त्यो माघीको सुनौलो यादगार विर्सन सक्दिन । माघी र गाउँघरको मायाले हाम्रा अगुवा, बड्घर, गुरुवा एबम सहकर्मी साथीहरुको बिशेष निम्तामा हाम्रो परिवारले यो वर्षको माघी गाउँमै मनाउन आएका छौं ।

निकै रमाइलो भएकोछ माघीले बालापनको याद ताजा गरेको छ । जाहाँ भए पनि आफू हुर्केको ठाँउ काहा बिर्सिन्छ र । माघीको सबै दादा, भौजी, बन्दादा, बन्दिदी, भाटुलाई शुभकामना ।