तराईका जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान ठप्प, हुम्लामा ५ महिना आवजाउ बन्द


तराईका जिल्लामा बाक्लो कुहिरो, आन्तरिक उडान ठप्प, हुम्लामा ५ महिना आवजाउ बन्द

File Photo

नेपालगन्ज : नेपालगन्जसहित देशका धेरैजसो भागमा मौसम बदलि हुँदा चिसो बढेकोछ । मौसममा आएको परिर्वतनले यतिबेला नेपालगन्जसहित तराईका अधिकांश जिल्लामा बाक्लो कुहिरो लागेको छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प बन्न पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालगन्ज, धनगढी, भैरहवा, विराटनगर र जनकपुर लगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित बनेकाछन् । मौसमविद्का अनुसार अहिले तराईका विभिन्न भागमाहरुमा बाक्लो कुहिरो लागेको छ । कुहिरोसंगै चिसो समेत बढेकोछ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ ।

त्यसैले प्रदेश नम्बर १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एकको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ ।

साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।

यसैबीच, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ । यी दुवै बाटा अब आगामी जेठ महिनामा मात्रै खुल्ने छन् । पाँच महिनाका लागि बन्द भएपछि लिमी आउने जाने कार्य बन्द भएको छ । दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् ।

नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भएपछि लिमी सञ्चार सम्पर्कविहीन भएको छ । यद्यपि बेलाबेला आउजाउ भइरहने वर्ल्डलिङ्कको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।

सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ ।

गत मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको ७०० क्विन्टल खाद्यान्न लिमी पुगेको थियो । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ ।