वन्यजन्तुको तीर्खा मेटाउन निकुञ्जमा सोलारसहितको पानी पोखरी


वन्यजन्तुको तीर्खा मेटाउन निकुञ्जमा सोलारसहितको पानी पोखरी

नेपालगन्ज ९ माघः वन्यजन्तुको तीर्खा मेटाउन बाँके राष्ट्रिय निकुञ्जमा सोलारसहितको पानी पोखरी निर्माण गरिएकोछ । पानी अभावमा तिर्खाएका वन्यजन्तु मध्यवर्ती क्षेत्रका वस्तीमा पस्दा मानव र वन्यजन्तुबीच द्वन्द्व समेत बढ्दै गएका बेला निकुञ्जले यस्तो उपाय अपनाएको हो ।

तीर्खा तथा आहालका लागि मानवबस्ती आउने यस्ता वन्जयन्तुलाई लक्षित गर्दै पानीको ब्यवस्थापनका लागि भन्दै बाँके राष्ट्रिय निकुञ्जले तीन ठाउँमा सोलारसहितको पानी पोखरी निर्माण गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहका अनुसार, सोलारबाट मेसिन चार्ज हुने र उक्त मेसिनले त्यहाँ जडान गरिएको भूमिगत जल पाइपबाट दिनभरि नै तानी पोखरी भर्ने व्यवस्था मिलाइएको छ ।

पाइपलाई जमिनमुनि गाडिएको छ । वार्डेन शाहका अनुसार हात्तीले पाइप देख्ने बित्तिकै तोडफोड गरिदिने हुदाँ हात्ती तथा अन्य वन्यजन्तुबाट बचाउनका लागि पाइपलाई जमिनमुनि गाडिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पानीको मुहान तथा स्रोत सुक्दै जाँदा निकुञ्जका वन्यजन्तु प्रभावित बन्न पुगेपछि सरकारले समेत निकुञ्ज तथा आरक्षित क्षेत्रमा यस्ता पानी पोखरी निर्माण गरि ब्यवस्थापन गर्ने योजना अघि सारेको छ । सोलारबाट पानी तान्ने भएपनि हिउँद तथा वर्षायाममा पानीको समस्या नभएपनि सुख्खा तथा गर्मीयामलाई मध्यनजर गर्दै प्रयाप्त पानी ब्यवस्थान हुने गरि कार्य गरिनुपर्ने हुन्छ ।

निकुञ्जमा आकाशे पानी जम्मा गर्नका लागि ४० वटाजति पोखरी खनिएको छ । ती पोखरीमा बर्खामा परेको पानी जम्मा हुन्छन् । आकाशे पानी वर्षभरि रहँदैनन् । वार्डेन शाहले ४० मध्येमा दशवटा जति पोखरीमा पानी जम्मा भइरहने जानकारी दिए ।

वार्डेन शाहले यस्ता पोखरीमा बाह्रैमासे पानीको आवश्यकता पर्ने भएकाले डिप बोरिङसहितका पोखरी बनाउन आवश्यक रहेको बताए । बाँके राष्ट्रिय निकुञ्जमा चुरेको फेदमा पानीको समस्या छैन । राजमार्ग छेउमा पानीको समस्या रहने गरेको छ । वन्यजन्तुलाई पानी र घाँसै मैदानको व्यवस्था गर्न निकुञ्जलाई यतिबेला चटारो छ ।

बाँके राष्ट्रिय निकुुुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् । निकुञ्जमा बाघका लागि चाहिने आहारा प्रजातीका वन्यजन्तु प्रशस्त रहेता पनि बाघ लगायत अन्य वन्यजन्तु पानी तथा आहारा खोज्दै मानवबस्ती पुगी आक्रमण समेत गर्ने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । सडकको दुवैतिर घना जंगल भएकाले कहिलेकाही बाघ सडक तथा मावन बस्ती आसपास देखिने गरेकोछ ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा बाघको आक्रमणमा परि मान्छेको मृत्यु तथा घाईते समेत हुने गरेको अवस्थामा हालसम्म बाँके निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बाघले मान्छेलाई आक्रमण गरेको छैन । यद्यपी पछिल्ला समय सडक आसपासको क्षेत्रमा समेत बाघ देखिन थालेको बताइएकोछ ।

निकुञ्जका अनुसार गतवर्ष बाघको आक्रमणमा परि बाँकेका दुई जनाको मृत्यु भएको थियो । कोहलपुर नगरपालिकाको भरैयामा दाउरा खोज्न गएका र राप्तीसोनारी गाउँपालिकाको बालापुरमा घाँस काट्न गएका महिलालाई बाघले झम्टेर मारेको थियो । यी दुई घटना तीन दिनको फरकमा भएको थियो ।