फुल्टेक्रा विद्यालयको ८ कोठे भवनको शिलान्यास


फुल्टेक्रा विद्यालयको ८ कोठे भवनको शिलान्यास

नेपालगन्ज ९ माघ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रामा रहेको फुल्टेक्रा माध्यमिक विद्यालयको ८ कोठे भवनको शिलन्यास गरिएकोछ । फुल्टेक्रा माध्यमिक विद्यालय र जग्गा दाता बाबुराम कुर्मीका छोरा माधवराम बर्माबीच गरिएको सम्झौताले विद्यालयको नयाँ भवन बन्न लागेको हो ।

उक्त विद्यालय भवन निर्माणको लागि नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखामार्फत ७२ लाख रुपैयाँ बजेट उपलब्ध गराईएको छ । जसमा ४–४ गरी ८ कोठा निर्माण गर्ने योजना रहेको छ ।

फुल्टेक्राका समाजसेवी दाता माधवराम बर्माले सहकार्य गरी मन्दिर ट्रष्टको नाममा रहेको १४ कठ्ठा जग्गा विद्यालयलाई भोगाधिकारको लागि दिएका थिए । विद्यालयका लागि प्रदान गरिएको जग्गाको सम्झौता भएपछि स्थानीय सरकारद्वारा स्वीकृत भई भोगाधिकारको लागि प्राप्त १४ कठ्ठा जग्गामा ८ कोठा भवन बनाउन लागिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डाक्टर धवल शम्शेर राणाले दाताद्वारा प्रदान गरिएको उक्त १४ कठ्ठा जग्गामा ८ कोठे विद्यालय भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उपमहानगर प्रमुख डाक्टर राणाले जग्गादाता माधव बर्मा तथा शिक्षा शाखा प्रमुख गोरख थापामार्फत कम समयमा ८ कोठे विद्यालय भवन निर्माण गर्न सहयोग गरेकोमा प्रशंसा गर्दै निर्माण सम्पन्न गराई विद्यार्थी पठनपाठनलाई सहज हुने विश्वास ब्यक्त गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

विद्यालय व्यवस्थापन समिति सदस्य ओमप्रकाश श्रीवास्तवका अनुसार ७ सय विद्यार्थीहरुको लागि ८ कोठे भवन निर्माणको शुभाराम्भ गरी शिक्षा शाखाले सकारात्मक पहल गरेपनि हाललाई सो ८ कोठे भवनबाट मात्र सम्पूर्ण विद्यार्थीहरुलाई समावेश गर्न नसकिने भएको हुँदा थप कक्षा कोठा निर्माणको लागि पहल गर्नुपर्ने बताए ।

वडाअध्यक्ष समिरप्रताप सिंहले यो सकारात्मक पहलमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । उनले भवन निर्माणको कार्य पारदर्शी र गुणस्तरीय रुपमा गर्न विद्यालय भवन निर्माण उपभोक्ता समिति गठन गरी सोमार्फत विद्यालय निर्माण गर्न सुझाव दिएका छन् ।

शिलान्यास कार्यक्रममा वडा सदस्य दीपक श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर बर्मा, फुल्टेक्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक समिम कुरैसी, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष तथा शिक्षक बिरेन्द्र यादव, रामसुमिरन मिश्र, नेपाल शिक्षक महासंघ बाँकेका पवन यादव, मनोज श्रीवास्तव, नेपाल राष्ट्रिय शिक्षक संघ बाँकेका बामदेव सुवेदी, शिक्षाप्रेमी विजय शम्शेर राणालगायतको उपस्थिति रहेको थियो ।