शुक्रबार, फागुन २१, २०७७   ०६:०६:३२

कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउनेमा अन्यौलता

रेफ्रिजेटरमा राखेर सातै प्रदेशमा पठाइदैँ


सेतोखरी   2077-10-10

नेपालगन्ज १० माघ : कोरोना भाइरस विरुद्धको खोप आजदेखि सातै प्रदेश पठाइदैछ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले शुक्रबार सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण यकिन गरेपछि आवश्यकताका आधारमा खोप सातै प्रदेशमा पठाइन लागेको हो ।

खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर उच्च सुरक्षासहित आजबाट सातै प्रदेशका खोप भण्डारणमा पठाइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । बिहीबार मध्याह्नन १२ बजे एयर इन्डियाको विमानबाट १० लाख खोप नेपाल अवतरण गराइएको खोपलाई हाल टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगेर राखिएको थियो । यसरी पठाउन लागिएको खोप बाँकेको नेपालगन्जमा समेत भण्डारण गरिनेछ ।

सरकारले बाँकेका १८०५६ जनालाई खोप लगाउने तयारी गरेकोछ । यसरी हेर्दा बाँकेका जनताका लागि ४२६१३ डोज खोप छुट्याइएकोछ । एक भाएल खोपबाट १० जनालाई खोप दिनसकिन्छ भने एकपटक भाएल प्रयोग गर्दा बढिमा ६ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने हुन्छ । त्यसपछि उक्त खोप प्रयोग गर्न मिल्दैन ।

तीव्र गतिमा नेपालमा कोरोनाविरुद्धको अक्सफोर्ड यूनिवर्सिटी र जेनर संस्थानले परम्परागत प्रविधि ‘भाइरल वेक्टर’ बाट विकसित गरेको ऐस्ट्रेजेनेका खोप गत बिहीबार नेपाल भित्रिएसंगै कोरोना महामारीले पैदा गरेको उकुसमुकुसबीच यो एउटा अत्यन्तै सकारात्मक खबर हो । तर, यो सँगसँगै देखापरेको मुख्य चुनौती नै खोपप्रति नेपाली जनमानसमा विश्वास कसरी जगाउने भन्ने पनि रहेको छ ।

नेपालमा मात्रै हैन, यतिखेर विश्वभरि नै खोपका बारेमा तमाम शंका–उपशंका–आशंकाहरु व्यापात छन् । यसो हुनुका दुई मुख्य कारणछन् । पहिलो कारण हो : कोरोनाविरुद्धका खोपहरु खोप निर्माणका परम्परागत रुप, शैली र प्रक्रिया भन्दा फरक अत्यन्तै ‘फास्ट ट्रयाक’ मा विकसित गरिएका छन् । सम्भवतः खोपको हालसम्मकै ईतिहासमा यति चाँडो खोप निर्माण गरिएको र त्यसको प्रयोगको आपातकालीन अनुमति पाएको यो नै पहिलो घटना हो ।

दोस्रो कारण होः अहिले प्रयोगको आपातकालीन अनुमति पाएका अधिकांश खोपहरुले तेस्रो चरणसम्मका परीक्षण मात्रै पार गरेका छन् । कुनै पनि नयाँ खोपले विश्व स्वास्थ्य संगठनको प्रोटोकाल अनुसार चौथो चरणको व्यापक परीक्षणको सफलतापछि मात्रै सहज रूपमा प्रयोगको स्वीकृति पाउँछ । अहिलेसम्म बनेका कुनै पनि खोपले चौथो चरणको परीक्षण पार नगरेकाले नै खोप प्रयोगका लागि ‘आपतकालीन अनुमति प्रदान गरेको’ शर्त लगाइएको हो ।

तेस्रो चरण सम्मका परीक्षणमा केही हजार व्यक्तिमा मात्रै खोप परीक्षण भएको छ । तेस्रो चरण सम्मको परीक्षणमा अधिकांश खोप (विश्वभरी आपतकालीन प्रयोगको अनुमति पाएका सबै खोप) को परिणाम सकारात्मक एवं सन्तोषजनक रहेको छ । तर, चौथो चरणको व्यापक परीक्षणको समय नै पुगी नसकेकोले खोपको अन्तिम अग्निपरीक्षा सम्पन्न हुन बाँकी नै छ । यसैले पनि नेपाल भित्रिएको कोरोना विरुद्धको खोप प्रति शंका उपशंका ब्यक्त हुन थालेको हो ।

खोपले विश्वका विभिन्न व्यक्ति, समुदाय, भगौलिक अवस्थामा के कस्तो तात्कालिक असर, दीर्घकालीन असर पार्ने हो अर्थात खोपको विश्व स्तरमा पर्ने सकारात्मक–नकारात्मक प्रभावबारे अहिल्यै नै केही भनिहाल्न सकिने स्थिति छैन । यस्तो स्थितिमा खोपले काम गर्छ कि गर्दैन, खोप लाउँदा यसले दिने ‘साइड इफेक्ट’ लाई लिएर आम मानिसमा व्यापक जिज्ञासाका साथसाथै एक किसिमको अज्ञात भय व्याप्त रहेको अन्यौलजन्य स्थिति पनि छ । विश्वका अन्य देश जस्तै नेपालमा पनि सरकारले प्रारम्भिक चरणमा खोप दिनका लागि लक्षित गरेका वर्गमै पनि अन्यौलको स्थिति छ, खोप लगाउने कि नलगाउने भनेर ?

अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि सरकारले पहिलो चरणमा खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सुरक्षाकर्मीलाई दिने निर्णय गरेको छ । र, यतिखेर सरकारले खोप लगाउनेबारे लक्षित वर्गहरुबाट तथा अस्पतालहरुबाट तथ्यांक संकलन गरिसकेको । सरकारले सम्बन्धित अस्पताल, कार्यालयहरुमा खोप लगाउन चाहने कर्मचारीहरुको सूची मागेर पत्र समेत पठाइसकेको छ । तर, प्राप्त जानकारी अनुसार कतिपय सरकारी अस्पतालमै कार्यरत स्वास्थ्यकर्मीले पनि खोप लगाउन अनिच्छा जाहेर गरेका छन् ।

यहाँनिर मनन गर्ने कुरा के भने यतिखेर भारत सरकारले आफ्नो मुलुकमा दुई थरिको खोपको आपतकालीन प्रयोग गरिरहेको छ । उसले प्रयोग गरिरहेका खोपमध्ये एउटा खोप नेपाललाई १० लाख खुराक (डोज) अनुदान दिएको कोभिशिल्ड हो भने अर्को चाहिँ कोभ्याक्सिन । कोभिशिल्ड खोप विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनीहरुमध्येका एक भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको अक्सफोर्डको एस्ट्राजेनेकाको भारतीय संस्करण–उत्पादन हो भने कोभ्याक्सिन चाहिँ भारतको बायोटेक कम्पनीले उत्पादन गरेको घरेलु खोप हो ।

यी दुई खोपहरुमध्ये पहिलो खोप अर्थात् कोभिशिल्डको १० लाख खुराक नेपाललाई सद्भावको रुपमा अनुदान दिएको हो । भारतले दोस्रो खोप अर्थात् कोभ्याक्सिनका पनि करिब ४५ लाख खुराक पनि आफ्ना छिमेकी मुलुकहरु मरिशस, फिलिपिन्स, म्यान्मार लगायतका देशहरुलाई अनुदान दिने तयारी गरिरहेको छ ।

यहीबीच, ‘फास्ट ट्रर्याक’मा निर्माण भएका तथा चौथो चरणको ‘क्लिनिकल ट्रायल’ सम्पन्न नभएका कारण खोपलाई लिएर विश्वभरी नै विभिन्न शंका आशंकाहरु चलेका हुन् । यसै कारण खोपका सानोभन्दा सानो नकारात्मक असरले पनि यतिखेर मानिसको मनमा गढेर रहेको शंका–आशंकामा घीउ थप्ने काम गरिरहेको छ ।

विशेषतः विश्वमा जुन परिणाममा आम मानिसमा खोप दिइसकिएको छ र दिइने क्रम जारी छ, त्यसको तुलनामा अहिले देखिएका साइडइफेक्ट सामान्य हो, अझ भन्ने हो भने नगण्य नै हो । तर, यो पनि सत्य हो, खोप लगाइसकिएकै व्यक्तिहरुमा पनि त्यसको प्रभावकारिताबारे थाहा पाउन अझै केही समय कुर्नुको विकल्प नरहेको कारणले पनि आम मानिसको मनमा उब्जिएको शंका–आशंका निर्मुल हुन सकिरहेको छैन । अहिले नेपालमा पनि खोपप्रतिको त्यो शंका (आशंका देखापर्नु कुनै अनौठो कुरा चाहिँ होइन ।

नेपालले अनुदान पाएको खोप कोभिशिल्ड हो, कोभ्याक्सिन होइन । भारतमा ती दुवै भ्याक्सिनहरुको आपतकालीन उपयोग भइरहेको छ । भारत सरकारका अनुसार अहिलेसम्म खोप लगाएकाहरुमध्ये ०.१८ प्रतिशतमा मात्रै प्रतिकूल असर देखिएको छ भने ०.००२ प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्नुपरेको छ । यो भनेको अति न्यून संख्या हो, जसले भारतमा चलाइएका दुवै खोपहरु मूलतः हालसम्म सुरक्षित नै रहेको संकेत गर्छ । मेडिकल साइन्सले विकसित गरेको कुनै पनि खोप (औषधि )चिकित्सा पद्धति शत प्रतिशत सुरक्षित हुन सक्दैन भन्ने तथ्य पनि भुल्नु हुँदैन ।

कोभिशिल्ड खोप भारत, बेलायतसँगै धेरैले राष्ट्रहरुले आपतकालीन रुपमा प्रयोग गरिरहेको छन् । कोभिशिल्ड मात्रै किन, हाल विश्वभरि नै आपतकालीन रुपमा प्रयोग भइरहेका अधिकांशतः खोपहरु परीक्षणकै क्रममा रहेको र कुनै पनि खोपले चौथो चरणको ट्रायल पूरा गरेका छैनन् ।

हाल नेपालमा भित्रिएका खोप लगाउने कि नलगाउने भन्नेबारेमा सरकारले लक्षित गरेका वर्गमध्ये स्वयं चिकित्सकहरुमा नै पनि अन्यौल र मतान्तर रहेको बुझिएको छ ।
चौथो चरणको ट्रायलकै क्रममा रहेको कोभिशिल्ड खोपको बारेमा शंका उब्जनु स्वाभाविक हो । तर, अमेरिकाको फाइजर, मोर्डनाको खोपसँगै, चीनको सिनिवाक र सिनोफार्म, रुसको स्पुतनिक भी, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशले निर्माण गरेका अन्य खोपको आपातकालीन प्रयोग भइरहेको अवस्थामा र यी सबै खोप नै चौंथो चरणको ट्रायल सम्पन्न नभएको हुनाले कोभिशिल्ड खोपका बारेमा भ्रम फैलाउन नहुने एकथरी चिकित्सक बताउँछन् ।

कोभिशिल्ड खोपको सुरक्षाका मापदण्डलाई अध्ययन गर्दा हालसम्म प्राप्त तथ्य सकारात्मक पाइएको छ । कोरोनाभाइरसविरुद्ध खोप उत्पादन भएको छोटो समयमै नेपाल जस्तो अल्पविकसित राष्ट्रले खोप पाउनु उपलब्धि भएको कुरा स्वयं कतिपय स्वास्थ्यकर्मीहरुले बताइरहँदा केही स्वास्थ्यकर्मीले खोपको विषयमा शंका व्यक्त समेत गरेका छन् । यसै सन्दर्भमा कोरोनाका उपचार भइरहेका कतिपय अस्पतालका चिकित्सकहरु खोप नलगाउने मनस्थितिमा पुगेको पनि बुझिएको छ । ट्रायलकै क्रममा रहेको कोभिशिल्ड खोपको अनुसन्धानको रिपोर्ट आउन बाँकी भएकाले पूर्ण रुपमा विश्वास पैदा नभएको केही चिकित्सक बताउँछन् ।

औषधिले १०० प्रतिशत काम गर्छ वा प्रभावकारी हुन्छ, त्यसको कुनै पनि नकारात्मक असर हुँदै हुँदैन भनेर मेडिकल साइन्सले ग्यारेन्टी दिन सक्दैन । त्यसैले खोपको व्यवहारिक प्रयोगको बारेमा गहन अध्ययनसहितको रिपोर्ट प्राप्त नभइसकेको अवस्थामा यसको प्रभावकारीताको विषयमा बोल्न नसकिने एकथरि चिकित्सकको भनाईछ ।
ईमानदारीपूर्वक खोपबारे विश्लेषण गर्दा सबै खोपको अवस्था उस्तै उस्तै हो । यो राम्रो त्यो न राम्रो भन्ने समय नै भएको छैन । विश्वभरी भई रहेको आपातकालीन प्रयोग नै खोपको चौथो चरणको परीक्षण हो । अहिलेसम्म विभिन्न खोप संसारका झण्डै ६ करोड़ मानिसमा प्रयोग भई सकेका छन् ।

यस्तोमा कुनै एउटा सानो घटनालाई लिएर त्यस खोपका बारेमा नाना थरीको टिप्पणी हुनु अतिरन्जित ढंगले त्यो प्रचारित र प्रसारित हुनु का पछाडि सम्बन्धित प्रतिस्पर्धी देश र कम्पनीको भूमिका हुने कुरालाई पनि वेवास्ता गर्न मिल्दैन । निश्चित के छ भने आउने २–३ वर्ष खोपकै व्यापार शीर्षमा रहने छ ।

खरबौं खरब डलरको सम्भावित व्यापारबारे प्रतिस्पर्धीका बीच अनेकौं जालझेल र व्यापारिक खेल एवं गणित तथा राजनीतिर कूटनीतिको निर्वाध प्रयोग हुनुलाई पनि अस्वाभाविक भन्न मिल्दैन ।

यसैबीच, भारतको सिरम कम्पनीले उपत्पादन गरेको कोभिसिल्ड एक भाइल खोपबाट १० जनालाई लगाउन सकिनेछ । खोपको भाइल खोलिसकेपछि ६ घन्टाभित्र लगाइसक्नुपर्ने हुन्छ । यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भएकाले प्राविधिक सुरक्षाका लागि नेपालमा सहज रहेको समेत बताइएको छ ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनुपर्ने हुन्छ । साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने समेत बताइएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएका व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ ।

यता कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत–वैशाखसम्म आइपुग्ने बताइएको छ । यसरी हेर्दा ४ हप्ता भित्र खोप लगाएका ब्यक्ति पुनः अर्को डोज लगाउन पाउने छैनन् । अर्थात राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको समय अवधिभित्र अर्को डोज पाउन सकिने छैन । गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको मन्त्रालयले बताएको छ ।

यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ ।