चिसोबाट बच्न आगोको सहारा लिदैं नगरबासी


चिसोबाट बच्न आगोको सहारा लिदैं नगरबासी

नेपालगन्ज १० माघ : बाक्लो हुस्सु र सितलहरका कारण बढेको चिसोले यतिबेला नेपालगन्ज लगायत आसपासको क्षेत्र प्रभावित बनेकोछ । पछिल्लो केहीदिनदेखि बढेको चिसोका कारण नेपालगन्जको जनजिवन अस्तव्यस्त हुनुको साथै जनजिवन कष्टकर बन्दै गएकोहो ।

यस्तो चिसोमा न्यानो हुन यतिबेला नेपालगन्जका चोकचोक, गलिगलिमा स्थानीयले आगो बालि आफूलाई न्यानो बनाइरहेकाछन् । मौसममा आएको परिर्वतनका कारण केहीदिनदेखि नेपालगन्जमा घाम देख्न समेत पाइएको छैन । अन्यदिनभन्दा शनिबार नेपालगन्जको जनजिवन केही सामान्य भएको छ । सामान्य आकाश खुल्ला भएर घाम देखिएपनि न्यानो अनुभूति गर्न पाइएको छैन ।

बाँकेसहित तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ । शनिबार बिहानैबाट लागेको हुस्सुका कारण जनजिवन प्रभावित भएको छ । कुहिरोका कारण सडकनै अँध्यारो देखिएपछि सवारी साधनले दिउँसोको समयमा पनि लाईट बाल्नु परेको छ ।

दिनभरी नै लाग्ने हुस्सु र कुहिरोका कारण घाम नलागेपछि बढेको चिसोले यसक्षेत्रको जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पारेकोछ । चिसोबाट बृद्धबृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने बर्ग बढी प्रभावित भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

दिनभरी नै लाग्ने बाक्लो हुस्सुका कारण घाम नलागेपछि सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेकोछ ।

पहिलेजस्तो चिसोबाट बच्न नगरपालिकाले चोकचोक र टोलटोलमा निःशुल्क दाउरा उपलब्ध गराएपनि यस वर्ष भने गरेको छैन । स्थानीयले निःशुल्क दाउरा उपलब्ध गराईदिन उपमहानगरपालिकासंग आग्रह गरेकाछन् ।

लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।

यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । तर, टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले चिसोबाट खेतीबाली बचाउँन बिषादी पनि छर्किने गरेका छन् ।

पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल परेको छ । तापक्रम छर्दा र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने ढुसी सक्रिय हुने हुँदा किसानले लगाएको तरकारीबालीमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।