यस्ता छन् भ्याक्सिन लगाएपछि हुनसक्ने समस्या र लक्षण


यस्ता छन् भ्याक्सिन लगाएपछि हुनसक्ने समस्या र लक्षण

नेपालगन्ज १४ माघ: नेपालमा बुधबार (आज)देखि कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप अभियान शुभारम्भ गरे ।

पहिलो चरणमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक तथा सहचालक, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवास्थापनमा खटिने सुरक्षाकर्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई यो खोप दिइएकोछ ।

नेपालमा बुधबारदेखि लगाइएको कोभिसिल्ड नामक खोप भारत सरकारले माघ ९ गते १० लाख डोज अनुदान स्वरुप दिएको खोप हो ।

कोभिसिल्ड भ्याक्सिनक के हो ? यसको प्रयोग, भ्याक्सिन दिनै नहुने अवस्था, खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन् ? लगायतका विषयमा स्वास्थ्य सेवा विभाग खोप महाशाखाले तयार पारेको समाग्री :

Kanti Aarogya Hospital Nepalgunj

के हो कोभिसिल्ड भ्याक्सिन?
कोभिसिल्ड भ्याक्सिन भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको खोप हो । यो खोप भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृत भई खोप लगाउन थालिएको छ ।

नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको हो । यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ । यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ । यो खोप सोलुसन रङविहीन वा थोरै खैरो, हल्का अपारदर्शी र कणमुक्त हुन्छ । यो खोपलाई जम्न दिनु हुँदैन । यदि जमेको छ भने प्रयोग गर्नु हुँदैन । यो खोप फ्रिज भएमा हल्लाएर परीक्षण गर्न मिल्दैन ।

यो खोपलाई २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्छ । यो खोपको भायलमा म्याद गुज्रने अवधि लेखिएको हुन्छ । यो खोप उत्पादन भएको ६ महिनासम्म प्रयोग गर्न उपयोगी हुन्छ । यो भायलमा भिभिएम अर्थात् भ्याक्सिन भायल मोनिटर हुँदैन ।

कोभिसिल्ड भ्याक्सिनको प्रयोग

– यो खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आइएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजरेटरमा २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ ।
– ढुवानी तथा खोप सेसन सञ्चालन गर्दा कन्डिसन गरेको आइस प्याक सहितको कोल्ड बक्स र भ्याक्सिन क्यारियर प्रयोग गर्ने ।
– खोलिसकेको भायल ६ घण्टापछि वा सेसनको अन्त्यपछि प्रयोग गर्नु हुँदैन ।
– भायल खोलेको समय र मिति भायलमा लेख्नुपर्छ ।
– खोलिएको भ्याक्सिन भायल एक सेसनबाट अर्को सेसनमा प्रयोग नगर्ने ।
– यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मासुभित्र दिइन्छ ।
– यो खोप एक पटकमा शून्य दशमलव ५ मिलि दिइन्छ ।
– यो खोप २ पटक ४ हप्ताको फरकमा लगाउनुपर्छ ।
– यो खोप १८ वर्ष उमेर माथिका लागि मात्र स्वीकृत भएको छ ।
– १८ वर्ष मुनिका बालबालिकामा यस भ्याक्सिनको सुरक्षा र प्रभावकारिता स्थापित भएको छैन ।
– कोभिड–१९ भ्याक्सिनसँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिनुपर्छ ।
– पहिलो मात्रा कोभिसिल्ड भ्यासिन लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड भ्याक्सिन नै लगाउनुपर्छ ।

कोभिसिल्ड भ्याक्सिन दिनै नहुने अवस्था

– यस खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा,
– यस खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस) भएमा,
– यसभन्दा अघि अरु कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा ।
– गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाको लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउनु हुँदैन ।
– कोभिड–१९ को सक्रिय संक्रमण भएको ४ देखि ८ हप्तासम्म खोप लगाउनु हुँदैन ।
– प्लाज्मा थेरापी दिइएका कोभिड–१९ का बिरामीले ४ देखि ८ हप्तासम्म यो खोप लगाउनु हुँदैन ।
– कुनै पनि कारणले गम्भीर बिरामी भएमा यो खोप लगाउनु हुँदैन ।

यस्ता व्यक्तिलाई पनि दिन मिल्छ भ्याक्सिन

–पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति,
– दीर्घरोग जस्तैः मुटु, मस्तिस्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्ति,
– रोग प्रतिरक्षाकर्मी वा एचआइभी भएका व्यक्ति, रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीलाई पनि यो खोप दिन मिल्छ ।
– तर, यस्ता बिरामीमा तुलनात्मक रुपमा कम इम्युनिटी अर्थात् प्रतिरक्षा शक्ति प्रदान गर्नसक्छ ।

खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन् ?

– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने,
– थकाइ र आलस्य महसुस हुने,
– ज्वरो आउन सक्ने,
– टाउको दुख्ने, वाकवाकी हुने,
– मांसपेसी वा जोर्नीको दुखाइ हुने,
– बान्ता आउने ,
– फ्लुको जस्तै लक्षण देखिनु जस्तैः ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने आदि लक्षण खोप लगाएपछि देखिन सक्छ । यो समान्य लक्षण हो । यस्ता लक्षण देखिँदा आत्तिनु भने पर्दैन ।