नेपालगन्ज उपमहानगरपालिकाको आठौं नगरसभा

बालबालिका सम्बन्धि ऐन पारित


बालबालिका सम्बन्धि ऐन पारित

नेपालगन्ज १५ माघ : नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न ऐन पारित गरेकोछ । जिल्ला समन्वय समिति बाँकेको सभाहलमा भएको आठौं नगरसभामा उपमहानगरपालिकाको बृहत्तर हितका लागि विभिन्न ऐन पारित भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाद्वारा सभामा पेश गरिएको ऐन सम्बन्धिको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आठौं सभामा नेपालगन्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ र अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि बनेको ऐन– २०७७ पारित गरेको हो ।

यस्तै नगरसभाले वडागत बजेट रकमान्तरण, नगर भवन पुर्ननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्तावमा बृहत छलफल गर्दै पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख डाक्टर राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ, नगर प्रमुख राणाले भने–‘सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।’

पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उनले क्रिकेट रंगशालाको समेत निर्माण सुरु भएको जानकारी दिए ।

उपप्रमुख उमा थापा मगरले जनताका अपेक्षा पुरा गर्नका लागि आफुहरु लागिपरेको बताउँदै यसबीचमा नगरबासी र कर्मचारीबाट प्रर्याप्त साथ र सहयोग पाएको बताइन् ।

यसैबीच नगरसभाले गतवर्ष नेपालगन्ज नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ ।

कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिएपनि दुर्घटनावश घटना भएको जनाएको छ ।

नगरसभामा इन्टिग्रिटी आईडल–२०२० का विजेता जनस्वास्थ्य निरीक्षक आरती चौधरीलाई समेत सम्मान गरिएको छ । चौधरी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१२ मा कार्यरत रहेकीछिन् ।