दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो


दरबार हाइस्कुलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

काठमाडौं १६ माघः विद्यार्थी भर्ना संख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ ।
नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो ।

पुनर्निर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो । हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ सम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यो विद्यालयको भवन वि.सं. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढंगले पुनर्निर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो ।

अहिले भानु माविको कक्षा–५, ६, ७ र ८ मा विद्यार्थी कोटा संख्या पुगेको छ । कामपा–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । विद्यालयमा अघिल्लो शैक्षिकसत्रमा ८० मात्र विद्यार्थी रहेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिकसत्रसम्ममा सबै कक्षा भरिनेछन्,’ उनले भने । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ । नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चारतले छ । यसमा ६० कक्षाकोठा छन् ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको यस ऐतिहासिक विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको थियोे ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन् । ८५ करोड ५९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ । -रासस