हुम्लामा तेस्रोपटक हिमपात
File Photo
नेपालगन्ज २३ माघ : मौसममा आएको बदलीसँगै कर्णालीका उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हुम्लासहित उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात शुरु भएको हो ।
बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।
यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट परेको हिमपातले खुशी भएका छन् । यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।
हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् ।
ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो ।
यसैबीच, मौसममा आएको परिर्वतनले बाँके लगायत आसपासका क्षेत्रमा घाम लागेकोछ । माघको अन्त्यतिर आउँदा मौसममा आएको परिर्वतनले यसक्षेत्रमा ह्वात्तै चिसो बढेको थियो । चिसोबढ्नुका साथै बाक्लो हुस्सु र कुहिरोका कारण बाँकेको नेपालगन्ज लगायतको जनजिवन कष्टकर बनेको थियो ।
चिसो बढिरहेको अवस्थामा बदली भइ मौसम सफा हुदाँ यतिबेला बाँके, बर्दिया लगायतका क्षेत्रमा घाम लागेकोछ । शुक्रबार राती साढे दुई बजेतिर छिटफुट पानी परेर चिसो भएपनि विहानीपखदेखि विस्तारै चिसो घट्दै गएको थियो ।
यतिबेल नेपालगन्ज लगायतका क्षेत्रमा मौसम सफा भएपनि आकाशमा बादल भने यथावत रहेकोछ । घाम लागेर नेपालगन्ज बजार घमाइलो भएकोछ ।