नेपालमा राजतन्त्र नफर्किने, संघीय गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने : केपी ओली


नेपालमा राजतन्त्र नफर्किने, संघीय गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने : केपी ओली

नेपालगन्ज २३ माघ : प्रधानमन्त्री एवम नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।
ओली समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा संविधान विरोधी, संघीयता विरोधी तथा राजावादीहरुलाई निराश बनाउँदै भने,‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ प्रधानमन्त्रीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीको यस्तो भाषण सुनेर संघीयताविरोधी एवं राजावादीहरु निराश बने । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिवद्धता दोहो¥याएपछि राजावादीहरु असन्तुष्ट एवं निराश बनेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन गरिरहेको भन्दै उनले भने ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । कोभिड–१९ मा हाम्रा स्थानीय निकायहरु अत्यन्त प्रभावकारी देखिए ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सबैले कोभिड कालमा राम्रो काम गरेको भन्दै प्रशंसा गर्दै नेपालमा राजतन्त्र नफर्किने, संघीय गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताए । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष रहेका ओलीले नेपालमा लोकतन्त्रलाई कसैले मासेर मास्न नसक्ने बताए । उनले भने, कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो बढ्यो ।’

‘मुल पार्टी यही हो’

सम्बोधनका क्रममा ओली समूहका अध्यक्ष ओलीले आफूहरु नै नेकपाको आधिकारिक भएको दाबी गरे । अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिने बताउँदै उनले भने, ‘यो कम्युनिस्ट पार्टीको मुल पार्टी मात्र होइन, देशकै मुल पार्टी हो । देशकै सबैभन्दा ठूलो पार्टी हो ।’ देश बनाउने संकल्प बोकेको पार्टी आफूहरु भएको भन्दै ओलीले अघि भने, ‘मलाई लाग्छ आजबाट कुन–कुन पार्टी सक्कली, कुन नकल्ली भन्ने फैसला भयो ।’

तीन वर्षमा कामै काम !

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले तीन वर्षमा इतिहासमै नभएका कामहरु गरेको दाबी गरे । तीन वर्षमा लगभग ६ हजार किलोमिटर डबल लेन, फोर लेन र सिक्स लेनका बाटो कालोपत्रे गरेको, ४०० भन्दा बढी सडक पुल र त्यति नै झोलुङ्गे पुल बनाएको बताउँदै उनले भने, विद्युत आयोजनाहरु बनाएका छौं सब स्टेशन, स्ट्रान्समिसन लाइनहरु दिनैपच्छे उद्घाटन गरेर हिँडेका छौं ।’

चीनसँग पारवहन र यातायात सन्धि गर्नुका साथै नाकाहरु खोलेको र भारतसँग बन्दरगाहहरु लिएको उनले बताए । ओलीले अगाडि भने, पञ्चेश्वर अब बन्नेवाला छ, चाँदनी दोधारामा १० क्युसेक पानी ‘६ महिनाभित्र डीपीआर भएर हेडबक्स सुरु हुन्छ र अर्को सालबाट हामी सिचाइँको प्रबन्ध गर्न सक्छौं ।’

भारतसँग कुरा गरेर सिमानामा बनेका बाँधहरु हटाएको र डुवान समस्या समाधान गरेको उनले दाबी गरे । २० औं वर्षदेखि कुरा मात्र हुने गरेको हुलाकी राजमार्ग लगभग पूरा हुने स्थितिमा पुगेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा रेल ल्याएका छौं, केही दिन नियमितरुपमा सञ्चालन गर्दैछौं ।’

पूर्व–पश्चिम रेलमार्ग बनाउन केही ठाउँमा निर्माण सुरु भएको र केही ठाउँमा अब हुने भन्दै उनले काठमाडौं–रक्सौल रेलमार्गका लागि भारतसँग सम्झौता भएर डीपीआर अन्तिम चरणमा पुगेको बताए । चीनतर्फ रेलमार्गका लागि सहमति भएको भन्दै उनले टोखा–छहरे तथा बेत्रावत्री–स्याफ्रुबेंसी सुरुङमार्ग बनेपछि एक घन्टामा केरुङ पुगिने बताए । ‘नेपाललाई हामीले सुरुङमार्गमा प्रवेश गराएका छौं’ उनले भने, ‘थानकोटबाट नौबिसे सुरुङ खन्न सुरु भएको छ ।’

युवाहरु विदेश जानु नपरोस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम, सातै प्रदेशमा लागू भएको ओलीले बताए । त्यस्तै औद्योगिक क्षेत्र र पालिकाहरुमा ग्रामहरु स्थापना गरिरहेको उनले बताए ।

कोभिड–१९ का कारण धेरै प्रतिकुलतामा पु¥याएको भए पनि जनताको जीवन रक्षालाई पहिलो विषय बनाएको उनले बताए । बढ्दै गरेको कोभिडलाई नियन्त्रणमा ल्याएको बताउँदै उनले भने, ‘अब त हामीले खोप पनि ल्याइसक्यौं । फ्रन्टलाइनमा बसेकाहरुलाई प्राथमिकता दिएका छौं । जबसम्म कोभिडलाई भगाउँदैनौं, खोप अभिानलाई जारी राख्छौं ।’

एउटा पनि टेष्ट नहुने अवस्थाबाट ८२ स्थानमा स्वाब टेष्ट गर्ने अवस्था बनेको र एकैदिनमा ३०९ अस्पताल शिलान्यास गरेको प्रधानमन्त्रीले सुनाए । समाज सुधारका क्षेत्रमा पनि उल्लेख काम गरेको बताउँदै उनले भने, ‘हामी सरकारमा आउँदा सडकभरि सडक बालबालिका हुन्थे । आज हामीले सडक बालबालिका रहन दिएका छैनौं । जसको अभिभावक छैन, उनका लागि सरकार छ ।’

यदि कोही बेसहारा छ भने सरकार सहारा बन्ने भन्दै उनले नेपालमा कोही भोकै नपर्ने र भोकले नमर्ने दोहो¥याए । जेष्ठ नागरिकहरुको भत्ता बढाएको र औपचारिक–अनौपचारिक क्षेत्रलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको बताउँदै उनले भने, ‘मैले देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाई छोड्ने अठोट लिएको छु ।’

त्यसलाई असफल पार्ने खेल भइरहेको ओलीले बताए । पहिलो पटक चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाएको र अहिले नयाँ नक्सा छापेर संविधान संशोधन गरेपछि आफूलाई सरकारबाट हटाउन खोजिएको बताउँदै उनले भने, ‘राष्ट्रवादको नारा लगाउने हाउभाउ गर्न थाल्नुभयो ।’

कसैको भ्रममा परेर देशलाई गलत बाटो जान नदिन उनले युवाहरुलाई आग्रह गरे । जेष्ठ नागरिकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अहिलेको सरकारले जसरी इतिहासमा कुनै सरकारले काम गरेको थियो ? यति छिटो विकास कहिल्यै काम गरेको थियो ? अहिलेजस्तो काठमाडौं कहिल्यै थियो ? अहिले जति बाटो कहिल्यै बनेको थियो ?’

‘कामै गर्न दिइएन’

केही अघिसम्म सरकारले इतिहासमै नभएको काम गरेको दाबी गरिरहेका ओली जब पार्टीको आन्तरिक विषयमा आए, आफूलाई काम गर्न नै नदिएको बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्षका लागि बनेको तर केही नेताले व्यक्तिगत स्वार्थका लागि केपी ओली हट्नुपर्छ, देशलाई भड्खालो हाल्नुपर्छ भनेर लागेको उनले आरोप लगाए ।

ओलीले भने, ‘जब उहाँहरुले काम गर्न दिनुभएन, संसदलाई ठीक ढंगले चल्न दिनुभएन । भएको बहुमतको सरकार ढालेर पहिलेकै जस्तो किनबेच र जोडजामको राजनीति गर्न खोज्नुभयो ।’

देश चुनावमा गयो–गयो !

काम गर्नै नपाउने अवस्था भएपछि जनताको बीचमा ताजा जनादेशका लागि जाने निर्णय गरेको ओलीले बताए । जनताको बीचमा जाने कि अस्थिरतातिर जाने भन्ने प्रश्न गर्दै उनले भने, ‘सिंगै काठमाडौंले सुन्ने गरी भनिदिनुस्, अस्थिरता होइन, चुनावतर्फ जाऊँ । अस्थिरता होइन, चुनाव चाहियो ।’

सँगसँगै सहभागीले नारा लगाए । प्रधानमन्त्री ओलीले अघि भने, ‘अब सबैले सुने होला ।’ प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै उनले अदालत र निर्वाचन आयोगलाई धम्की दिइरहेको बताए । ‘हामी कसैलाई धम्की दिँदैनौं, हामी आग्रह, अनुरोध गर्छौं,’ ओलीले भने, ‘हाम्रा देशका निकायहरु स्वतन्त्र छन्, विवेकसम्वत निर्णय गर्नेछन् । म आग्रह गर्न चाहन्छु, देश चुनावतर्फ गयो गयो, अब चुनावले सबै कुराको फैसला गर्छ ।’

‘संविधानमा नलेखिए पनि बेलायतमा संसद विघटन भएको छ’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरे । संसद विघटन संविधानसम्मत छ कि छैन भनेर बलजफ्ती बहस निकालिएको बताउँदै उनले भने, संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ ।’

‘बेलायतमा लिखित संविधान छैन, अथवा प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । हाम्रो बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भने आलोचना गर्ने ? यस्तो प्रवृत्तिको जवाफ ताजा जनादेशबाट खोज्नुपर्छ ।’

नेपाल बन्दको आलोचना

प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड माधव समूहले बिहीबार गरेको आमहड्तालको अलोचना गरे । क्रान्तिका नाममा किसानका तरकारी फ्याँकेको, गरीबको ट्याक्सी जलाएर भन्दै उनले आलोचना गरेका हुन् ।

प्रचण्डले अब शाकाहारी आन्दोलन हुँदैन भनेको भन्दै ओलीले भने, ‘उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहरुलाई भन्न चाहन्छु– नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’

ईतिहासकै ठूलो सभा ?

सम्बोधनको सुरुमा नै प्रधानमन्त्री ओलीले आफूहरुले गरेको सभा काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको दाबी गरे । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको बताउँदै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर, यो भेललाई रोक्न सकेन ।’

तर, आफ्नो समूहको भेलामा जनताको भेल उर्लिएको भन्दै उनले दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको दाबी गरे । उनले भने, सभाका लागि कुनै ठाउँ छान्यो भने अरुलाई ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ ।’

दुई/चार हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नुपरेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउन सक्ने बताए ।

ओलीको फेरिएको बोली

नेकपा विभाजनपछि आफ्नो समूहले गर्ने हरेक कार्यक्रममा अर्का समूहका नेताहरू विरुद्ध आगो ओकल्दै आएका प्रधानमन्त्री केपी ओली शुक्रबार भने तुलनात्मक रुपमा नरम देखिए । करिब ५० मिनेट बोलेका उनले सभामा कुनै उखान टुक्का पनि सुनाएनन् ।

सरकार पक्षबाट सभा आयोजना गरिनुको मूल उद्देश्य अर्का समूहका नेताहरूले दिएको लल्कारको जवाफका लागि भएको ओलीको प्रष्टोक्ति थियो । तर, यसअघिका कार्यक्रममा जस्तो न ओलीमा उत्साह देखियो, न त कुनै नेताविशेष आक्रमण । जब कि, बितेको डेढ महिनामा ओलीले नामै किटेर क्यारिकेचर गर्नेदेखि विभिन्न उखान टुक्कामार्फत् विपक्षीमाथि खनिने गरेका थिए ।

तर, शुक्रबार बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्वोधन गर्ने क्रममा ओलीले त्यस्तो केही पनि गरेनन् । बरू, मूलतः तीनवटा राजनीतिक विषय प्रष्ट्याउने प्रयास गरे– संसद् विघटन गर्नुपर्ने कारण । तीन वर्षमा सरकारले गरेको काम । र, आम नागरिकमा निर्वाचनको अपील ।

प्रचण्ड–माधव समूहले माघ ९ मा काठमाडौंमा गरेको जनप्रदर्शनपछि शुक्रबारको सभाबाट नयाँ सन्देश दिने र एउटा छुट्टै माहौल सिर्जना गर्ने ओली समूहको तयारी थियो । प्रचण्ड–माधव समूहको सभालाई रत्नपार्कतिर दुई÷दुई हजार भेला भएको र वास्तविक सभा कस्तो हुन्छ त्यो २३ गते देखाउने भनेर ओलीले सार्वजनिक उद्घोष गरेका थिए ।

अझ कार्यक्रमको तयारी समितिका संयोजक एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारको कार्यक्रमलाई रहस्यमय बनाउने काम गरेका थिए । कार्यक्रमबारे आयोजना दिन गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले प्रधानमन्त्री नयाँ कुरा भन्ने तयारीमा रहेको मात्रै बताएका थिएनन्, राजावादी अर्थ राख्ने गरी मदन भण्डारीको अडियोसहित सभामा सहभागी हुन अपिल गरेका थिए ।

सभाको तयारीअन्तर्गत बुधबार मोटरसाइकल ¥याली गर्दै तीन लाख मानिस उतार्ने नेता महेश बस्नेतको घोषणाले पनि आजको सभालाई चासोका साथ हेरिएको थियो ।
तर, सभा शुरु हुनुअघिबाटै सो समूहका नेताहरुमा उत्साह देखिएन । ओलीभन्दा अघि सम्बोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल हडबडमा देखिन्थे । मण्डलले केपी ओली गौतम बुद्धको उत्तराधिकारीजस्तै भएको भन्नुबाहेक अरु धेरै नबोलेर संक्षिप्त सम्बोधन सके ।

यसको कारण मौसम प्रतिकुल हुनु पनि थियो । पानी पर्ने संकेत देखिएपछि मञ्चमा रहेका नेताहरू चिन्तित देखिएका थिए । प्रमुख वक्ता ओलीले पनि ५० मिनेटमात्रै सम्बोधन गरेकाले कार्यक्रम साढे तीन नबच्दै सकियो । -अनलाईनखबरबाट